१६ चैत्र २०८०, शुक्रबार

ट्युबबाट नदी तर्न १ हजार

१० वर्षमा पनि बनेन वाग्मतीमा पुल

  • न्युज मानसराेवर

मकवानपुर — मकवानपुरगढी गाउँपालिका घर भएकी सजना तामाङ वाग्मतीपारि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको एक पोलिक्लिनिकमा काम गर्छिन् । दसैंमा घर फिर्न उनी नदी किनारसम्म गाडीमै आइन् ।

पारि तर्न भने एक हजार रुपैयाँ तिरेर ट्युबको सहारा लिनु पर्‍यो । तामाङमात्रै होइन वाग्मती नदी वारिपारि गर्न वर्षौंदेखि यो क्षेत्रका बासिन्दा ट्युबकै सहारा लिन बाध्य छन् । नदीमाथि निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ ।

ठेकेदारले बेलैमा काम गरेको भए तामाङ जस्ता वारिपारि गर्नेले गाडीमै नदी तर्न सक्थे । ‘मैले काम गर्न थालेको पाँच वर्ष भयो । सधैं ट्युबकै सहाराबाट नदी तरिरहेकी छु,’ तामाङले भनिन् । मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेका रोशन थापाले ट्युबबाटै मोटरसाइकलसँगै आफू नदी तर्न एक हजार पाँच सय रुपैयाँ तिरे । ‘वाग्मती नदीमा हिउँदमा सवारीसाधन जसोतसो वारपार गर्न सकिन्छ तर वर्षामा सक्ने अवस्था हुँदैन,’ उनले भने ।

स्थानीय जगतबहादुर माझी ३५ वर्षका भए । ट्युबको सहयोगमा मोटरसाइकलसँगै मानिसलाई वाग्मती नदी वारपार गराउनु उनको दैनिकी हो । उनले त्यस क्षेत्रका मानिसलाई नदीे तार्ने ठेक्का नै लिएका छन् । अलपत्र पुलको समेत रेखदेख गरिरहेका छन् ।

‘१० वर्ष भयो पुल अलपत्र भएको । पुल बनेको भए हामीलाई पनि सजिलो हुन्थ्यो,’ उनले भने, ‘पाँच वर्षदेखि ट्युबमा मान्छेलाई नदी तारिरहेको छु । हामी पाँच जना मिलेर यो काम गरिरहेका छौं ।’वाग्मती नदी सरकारको राष्ट्रिय गौरवको आयोजना धरान–चतरा ९मदन भण्डारी० लोकमार्गमा पर्छ । सिन्धुलीको हरिहरपुरगढी–४ र मकवानपुरको वाग्मती–४ जोड्ने पुल निर्माण हुँदाहुँदै छाडिएपछि अलपत्र भएको हो । पुल निर्माणस्थल हेटौंडा बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्छ ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार उक्त पुल ०६८ असार २९ मा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उक्त अवधिमा निर्माण नसकिएपछि ठेक्का सम्झौताअनुसार ०७५ असोजसम्म म्याद थप गरिएको थियो ।

‘निर्माण कम्पनीले तेस्रोपटक म्याद थप गर्दा ०७७ जेठसम्ममा सक्छौं भनेर प्रतिबद्धता जनाएको भए पनि कोरोनाका कारण त्यो सम्भव भएन,’ आयोजना प्रमुख अर्जुन अर्यालले भने । उनका अनुसार चालु आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार पक्षले गरेको छ । निर्माण कम्पनीले क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएका कारण समयमै पुल नसकिएको हो ।

‘पेटी ठेक्काबाट काम नभएपछि कम्पनी आफैंले निर्माण सुरु गरेको छ । पुलका ११ वटा स्पानमध्ये पाँचवटाको काम भइसकेको छ । कोरोना भाइरस र अहिले वाग्मती नदीको बहाव तीव्र भएका कारण काम हुन सकेको छैन,’ अर्यालले भने ।

पुलको लम्बाइ चार सय तीन मिटर छ । ठेकेदार पक्षले समयमा काम सम्पन्न नगरेपछि दुई करोड रुपैयाँ जरिवाना भराएर समय थप गरिएको आयोजनाले जनाएको छ । कान्तिपुर

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech