१० मंसिर २०७९, शनिबार

पर्यटक पर्खदैं १४६५ मा निर्मित भुर्तीका देवलहरू

यी देवलहरूलाई महाभारतकालका पाँच पाण्डवहरूले एकै रातमा निर्माण गरेका हुन् भन्ने विश्वास छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ\दैलेखको नारायण नगरपालिका वडा नं। ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन् । यी देवलहरू विक्रमको चौधौँ पन्ध्रौँ शताब्दीतिर कर्णाली प्रदेशको खसमल्ल राज्यकालका समयमा निर्माण भएका हुन । यी देवलहरू पनि अन्य देवलहरू झैं कुँदेका प्रस्तरहरूद्वारा बनाइएका र तलतिरबाट माथितिर चुल्याइँदै लगेर बनाइएका छन् । यी देवलहरू मध्य एक देवलमा अभिलेख रहेको भनिए पनि हालसम्म पुष्टी भएको छैन ।

स्थानीयको भनाईअनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन्। भुर्तीका यी २२ वटा देवललाई सन् २००८ जनवरी ३० मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न गरिएको छ । अधिकांश देवहरूको शिर्षभागमा राखिएका चक्राकार शिलापट्ट र आमलक शिलाहरू हराइ सकेका छन् । देवलमा लगाइएका कलात्मक ढुङ्गाहरू खस्दै गएका छन् ।

देवलहरूको चारै तिर काँडेतारले घरबार गरिएको छ । काँडेतारको बीचमा एक ठाउँमा देवल क्षेत्रमा प्रवेशद्वार बनाइएको छ । प्रवेशद्वारमा ताल्चा लगाइएको छ । त्यहाँ पुरातत्व विभागको सूचना लेखिएको एक बोर्ड लगाइएको छ ।

त्यसका साथै देवलहरूमा सिमाटले टालटुल गरेर जोड्ने काम पनि गरिएको छ। दैलेख सदरमुकाममा रहेको देवकोटा चोकबाट यहाँ सम्म पुग्नको लागि मोटरबाटो निर्माण गरिएको छ ।

अभिलेख अनुसार यी देवलहरू १४६५ को आसपासमा निर्माण गरिएका देखिन्छ । यो समयको आधारमा देवल निर्माण भएको करिब १० वर्ष पछि अर्थात विक्रम सम्वत १४७५ मा श्रीवर्माद्वारा स्थापना गरिएको बिलासपुर राज्य समाप्त भएको देखिन्छ ।

त्यसैले विलासपुर राज्यसँग यी देवलहरूको सम्वन्ध रहेको मान्न सकिएन । उता संसारीवर्माद्वारा स्थापना गरिएको दुल्लु राज्य विक्रम सम्वत १४५३ मा नै समाप्त भै सकेको देखिन्छ ।

तसर्थ खस मल्लाकालिक सिंजा साम्राज्यका अभिलेखहरूमा देखिने “ॐ मणि पद्मे हुँ’ जस्ता शब्दहरू यी देवलमा रहेको अभिलेखमा उत्कृण गरेको नदेखिए पनि देवल निर्माण गर्ने परम्परा पछिल्लो समय कायम रहेको थियो भनी मान्नु पर्ने हुन आउँछ ।

तर खसमल्ल शासनकालको समाप्ति पछि यस क्षेत्रमा देवल निर्माणको सट्टा मन्दिर क्षेत्रमा रहेका देवलहरू भत्काउने प्रयास गरिएको देखिएकाले विद्वान सह प्राध्यापक मोहन प्रसाद खनालले प्राकाशन गरेको अभिलेखको तिथिमिति विचारणीय देखिएको छ ।

भुर्तीका २५ देवलहरू मध्या अहिले २२ वटा देवलमात्र रहेका छन् । भत्किएका देवलका भग्नावशेषहरू यत्रतत्र छरिएर रहेका छन् । स्थानिय वासिन्दाहरू यी देवलहरूलाई महाभारतकालका पाँच पाण्डवहरूले एकै रातमा निर्माण गरेका हुन् भन्ने विश्वास गर्दै आएका छन् । देवलकै नजिकमा एक पिपलको रुख रहेको छ । त्यो पिपललाई सतिले लगाएको पिपल भनिन्छ ।

स्थानिय भनाइअनुसार यस ठाउँमा कुनै भद्र व्याक्तीको मृत्यु संस्कार गरिंदा उनकी पत्नीले त्यहाँ पिपलको रुख रोपेर पतिसँग समाधीस्थ भएको बुझिन्छ । २०३५ सम्म यस ठाउँमा कालिकोटबाट आएर यस ठाउँमा श्राद्ध तर्पण आदी पृती कर्महरू गरिन्थे भन्ने भनाइ रहेको छ ।

ऐतिहासिक नगर नारायण नगरपालिकामा विभिन्न मठ मन्दिर, ऐतिहासिक किल्ला , ऐतिहासिक देवल र भग्नावशेषहरू रहेका छन् । यस नगरमा रहेका , कोतगढी, चौखम्बा, भुर्तिका देवल, वेलासपुर मन्दिर, वटुक भैरव मन्दिर, नारायण मन्दिर, दुइखम्बा, आदी यस नगरका आकर्षणिय स्थलहरू हुन् ।

नगरपालिका भित्र पर्ने केही महत्वपूर्ण स्थानहरू निम्न प्रकार रहेकाका छन् । विभिन्न इतिहासहरूलाई केलाएर हेर्दा प्राचिन कालमा यही नगर क्षेत्रलाई मात्र दैलेख भनिने गरेको इतिहास छ । अहिले पनि आधिकारिक रूपमा नारायण नगरपालिका भए पनि सामान्य बोलचालमा यस नगरलाई दैलेख नै भनिन्छ ।

यसर्थ यसको विकास संरक्षण र प्रबद्धन गर्न सकेको खण्डमा दैलेखको पर्यटकिय विकास र यहाँको समृद्धिका लागि भूर्तिका यी देवल कोशेढुंगा सावित हुनेछन् । यसतर्फ स्थानीय तहका साथै राज्यको गम्भीर ध्यान जान आबश्यक देखिएको छ ।ई(सेतोखरी

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech