१५ चैत्र २०८०, बिहीबार

ट्रम्पका कुन कुन नीति उल्टाउँदै छन् बाइडन ?
  • न्युज मानसराेवर

काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडनले आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडनको जितलाई चुनौती दिन कानुनी प्रक्रिया सुरु गरिसकेका छन् । तर, अहिलेसम्म ट्रम्पले कानुनी प्रक्रियामा आफूले जित्न सक्ने कुनै आधार वा प्रमाण पेश गर्न सकेका छैनन् । त्यसैले कुनै ढिलाइ नभए बाइडनले जनवरी २० बाट अमेरिकाको राष्ट्रपतिको रुपमा आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

बाइडन अमेरिकाको राष्ट्रपति बन्दा अमेरिकामा के कस्तो परिवर्तन होला भन्ने अहिले धेरैको चासोको विषय बन्न पुगेको छ ।

ट्रम्पले पछिल्लो चार वर्षमा चालेका केही कदमहरु उनले उल्ट्याउन सक्ने सम्भावना छ । उनले आफ्नो कार्यकालमा उल्ट्याउन सक्ने केही महत्वपूर्ण विषयहरु यहाँ उल्लेख गरिएको छ ।

स्वास्थ्य  जो बाइडनले राष्ट्रपति निर्वाचनको प्रचारको क्रममा नै अमेरिकाको स्वास्थ्य स्याहारमा सुधारको एक महत्वपूर्ण एजेन्डा बनाएका थिए । निर्वाचित भएदेखि नै उनले अहिले विश्वभर चलिरहेको कोरोना भाइरस कोभिड–१९ को महामारी नियन्त्रणको लागि कार्ययोजना बनाउन छुट्टै टोली बनाइसकेका छन् । यसअघि ट्रम्पले कोरोना भाइरसलाई कमजोर भाइरस रहेको दाबी गर्दै यसको कारणले अर्थतन्त्रमा असर पार्न नहुने तर्क गर्दै आएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा ओबामाको पालना ल्याइएको ‘हेल्थकेयर’को योजनाको पनि विरुद्धमा देखिएका थिए ।

त्यस्तै कोरोना भाइरस कोभिड–१९ को विषयमा जारी द्वन्द्वको कारण विश्व स्वास्थ्य संगठन  बाट पनि ट्रम्पले बाहिरिने निर्णय गरेका थिए । डब्ल्यूएचओ पक्षपाती हुँदै चीनको पक्ष लिएको भन्दै उनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेका थिए । तर, बाइडनले ट्रम्पको यो कदमको आलोचना गर्दै आफू राष्ट्रपति बने आफूले अमेरिकालाई पुनः डब्ल्यूएचओमा जोड्ने बताएका थिए ।

व्यापार

ट्रम्पले आफ्नो कार्यकालमा अर्थतन्त्र तथा व्यापारलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए । उनले अन्य मुलुकहरुले अमेरिकाबाट खराब सम्झौताको कारण उल्लेख्य लाभ लिइरहेको आरोप लगाउँदै यसअघिका सम्झौता रद्द गर्दै नयाँ सम्झौता गर्ने वा अतिरिक्त भन्सार शुल्क बढाउने नीतिलाई तीव्रता दिएका थिए । जसको सुरुवात उनले ट्रान्स प्यासेफिक पार्टनरसिप ९टीपीपी०बाट बाहिरिने निर्णयबाट गरेका थिए । ओबामाले ट्रान्स प्यासेफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न यो सम्झौतामा सामेल हुने निर्णय गरेका थिए । यस्तोमा ओबामाकै पालामा उपराष्ट्रपति बनेका बाइडन आएपछि अमेरिकाले यो सम्झौताबारे पुनर्विचार गर्न सक्छ ।

त्यस्तै अहिले विभिन्न मुलुकसँग रहेको व्यापारिक तनाव पनि बाइडन आएपछि कम हुँदै जाने विश्लेषकहरुले बताएका छन् । बाइडनले चीनलगायत विभिन्न मुलुकसँग अहिले जारी रहेको अतिरिक्त भन्सार शुल्कको विषयमा सहयोगीहरुसँग छलफल गरेर निर्णय लिने बताइसकेका छन् । त्यस्तै अहिले विश्व व्यापार संगठन ९डब्ल्यूटीओ०को विषयमा पनि अमेरिका र अन्य मुलुकको बीचमा विवाद देखिँदै आएको छ । यो विवादको कारण डब्ल्यूटीओको महत्वपूर्ण पद रिक्त
छन् । बाइडन आएपछि उनले यसमा सहकार्य गर्दै अमेरिका पुनः नेतृत्वकर्ता मुलुकको रुपमा उदाउन सक्ने अपेक्षा गरिएको छ ।

 

जलवायु परिवर्तन

बाइडनको आगमनसँगै परिवर्तन हुने अमेरिकाको नीति जलवायु परिवर्तनसम्बन्धी नीति हो । ट्रम्पले सन् २०१५ मा जलवायु परिवर्तन न्यूनीकरणको लागि भएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । यससँगै गत साता अमेरिका आधिकारिक रुपमा उक्त सम्झौताबाट बाहिरिसकेको छ । बाइडनले यसअघि नै आफू राष्ट्रपतिमा निर्वाचित भए आफ्नो पहिलो निर्णय यो सम्झौतामा सामेल हुनु नै रहने बताएका थिए । त्यसैले बाइडन आएपछि अमेरिकाको जलवायु परिवर्तनको नीति परिवर्तन हुन सक्ने स्पष्ट भइसकेको छ । यससँगै बिस्तारै बाइडनको कार्यकालमा अमेरिकाका धेरै कोइला खानीहरु बन्द हुने र नवीकरणीय ऊर्जाको विस्तारमा सहयोग पुग्ने अनुमान गरिएको छ ।

इरानसँगको विवाद

ट्रम्पको कार्यकालमा अमेरिकाको इरानसँगको सम्बन्ध निकै नै चिसियो । यी दुई मुलुकको बीचमा करिब युद्धको अवस्था सृजना भयो । अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । सो निर्णयबाट यी दुई मुलुकको सम्बन्ध बिग्रिन सुरु भएको थियो । यसैक्रममा ट्रम्पले इरानका शक्तिशाली जनरल कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएका थिए ।

बाइडन आएपछि भने इरानसँगको तनाव पनि कम हुने अपेक्षा गरिएको छ । सन् २०१५ मा ओबामाकै पालामा यो सम्झौता भएकाले बाइडन इरानको मामिलामा लचिलो बन्न सक्ने अनुमान गरिएको छ । साथै यो सम्झौतामा सामेल अन्य मुलुकले पनि अमेरिकालाई यो सम्झौतामा जोडिन दबाब दिइरहेको कारण अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने अपेक्षा छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा 

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech