१३ मंसिर २०७९, मंगलवार

तिहार समृद्धि र विकाससँग जोडिएको छ
  • न्युज मानसराेवर

हरेक चाडपर्वको आफ्नै विशिष्ट सांस्कृतिक पक्ष र अर्थ हुन्छ । हामीले गर्ने स–साना कर्म, अनुष्ठानको पनि सांस्कृतिक मर्म हुन्छ । तिहार यस्तै एक विशिष्ट चाड हो, जुन मनाउँदा हामीले थाहै नपाई अनेकौं तवरले संस्कारगत कर्म गरिरहेका हुन्छौं ।

कोरोना भाइरसका कारण यो वर्षका चाडपर्व हामीले घरमै मनाउनुपर्ने भएको छ । घरभित्रै सीमित भए पनि हामी आफ्नै शैलीले पर्वको उत्सव मनाउन सक्छौं । यसका लागि हामीले तिहारमा गरिने सांस्कृतिक कर्मबारे जान्न आवश्यक छ । कुन काम किन गरियो भनेर बुझ्न सकियो भने हामीमा श्रद्धा, आत्मविश्वास र आस्था जागृत हुन्छ ।

१. उज्यालोको उत्सव

मूलतः तिहार ‘उज्यालोको उत्सव’ हो । हरेक घरलाई उज्यालो बनाउने, झिलीमिली पार्ने यही उत्तम समय हो । अहिले बिजुली बत्तीको उज्यालोमा हामी रमाउँछौं तर मेरो समयमा दियो बालेर सारा घरलाई उज्यालो बनाउने चलन थियो । सल्लाको दियाली बालेर टोल–आँगन उज्यालो बनाउँथ्यौं । मैनबत्ती बालेर रमाउने गथ्र्यौं ।

हाम्रो संस्कृतिमा चारवटा रात्रि छन् । शिवरात्रि, मोहरात्रि ९कृष्णजन्माष्टमी०, दशैंको कालरात्रि र तिहारको सुखरात्रि । सुखरात्रि भनेको लक्ष्मीपूजाको रात हो । यसैले यो रातको विशेष महत्त्व छ । अन्य तीनवटा रात्रीमा झैं यो रात्रीमा पनि उज्यालो जगाएर विशेष शक्तिको आराधना गरिन्छ ।

मण्डप बनाउने काम पनि तिहारमै हुन्छ । भाइटीका होस् वा म्हपूजा, मण्डप बनाइएको हुन्छ । अन्नको धूलोले मात्र होइन, तेलले पनि मण्डप घेर्ने चलन छ । तेलले मण्डप घेर्ने भनेको आफ्नो मान्छे दीर्घजीवी होस् भनेर हो । यसरी मखमली, सयपत्री, गोदावरी र कतैकतै दुबोको मालासमेत लगाएर तिहारमा उल्लास मनाइन्छ ।

२. सुर र संगीतको चाड

तिहारमा नाच्ने, गाउने र संगीत बजाउने तीनवटै काम एकसाथ हुन्छ । यसैले यो सुर र संगीतको चाड पनि हो ।

तिहारको भैली लय हालेर सुरैसँग गाउने गरिन्छ । महिलाहरूले ‘हरियो गोबरले लिपेको, हे औंसीको बारो’ भन्दै सरसफाइको कुराबाट भैली गीत सुरू गर्छन् । भैली राति गाइन्छ । पहिलेपहिले महिलालाई निर्धक्क रूपमा नाचगानमा भाग लिन दिइन्थ्यो । तर, तिहारको मौका पारेर उनीहरूलाई एक÷दुई दिन भएपनि नाचगान गर्न छुट हुन्छ ।

भैली गीत दिदीबहिनीले आफ्ना दाजुभाइको भलो होस् भनेर गाइएको भन्नेएकथरी मत छ । गाईको मात्र होइन, गोरुको पूजा गरेपछि देउसी गाउने चलन पनि तिहारमा छ । देउसी रे, देवश्री, देवताको आशिषसँग जोडिएको छ । पुरुष सदस्यले ‘देउसी रे’ भन्दै गीत गाएर देउसी खेल्छन् ।

देउसीसँगै भैली लोग्ने मान्छेले पनि गाउँछन् । तर, पुरुषले गाउने भैली लय हालेर वा लेघ्रो तानेर गाइँदैन । भट्याउँदै गाइन्छ । पुरुष–महिला दुवैले ‘हामी यसै आएनौं, बलि राजाले पठाए, हे औंसी बारो गाई तिहार भैलो‘’ भनेर देउसी–भैलो खेल्छन् ।

१५ औं शताब्दीमा जुम्लामा बलि राजा भन्ने एकजना व्यक्ति थिए भन्ने भनाइ पनि छ । उनले नै देउसी र भैलोको सुरूवात गराएको हो भन्ने जनश्रुति समाजमा पाइन्छ ।

३. मृत्यु–बोध गराउने पर्व

मृत्युको कुनै ठेगान हुँदैन । यो चाडपर्वजस्तो यही मासमा आउँछ भन्ने हुँदैन । अकस्मात् आउने र विनाश गर्ने यसको स्वभाव हुन्छ । मृत्यु हाम्रो धर्ममा कसरी जोडिएर आएको छ, त्यो तिहारमा गरिने कर्मबाट थाहा हुन्छ ।

तिहारसँग यमुना र यमराजको पौराणीक कथा जोडिन्छ । यमुना कहिलेकाहीँ मात्र दाइकहाँ आउने हुनाले दाइ यमराजले मीठो खुवाउने, राम्रो लगाउने गरेर बहिनीलाई प्रसन्न बनाउन खोज्थ्यो । यसो त हामी पनि परिवारमा धेरैपछि आफ्ना मान्छे भेट्दा वादिदीबहिनीलाई घरमा बोलाउँदा मीठोमसिनो खुवाउने गर्छौं ।

यसपछि यमराज खुशी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ ।

यमपञ्चक भन्नेबित्तिकै मृत्युको हरहिसाब राख्ने कुरा जोडिन्छ । मृत्युका विविध रूप छन्, जस्तो असामयिक, सामयिक, दुर्घटना, विपत्ति आदि । तर, यमराजले पनि तिहारको औंसीको दिनमा जसले सफासुग्घर गर्छ र बत्ती बाल्छ ती मान्छेहरूलाई मकहाँ लिएर नआउनू भनेका थिए भन्ने मिथ पनि हाम्रो समाजमा प्रचलित छ । यसरी तिहारमा हामी यमराजका दूतहरूको पनि श्रद्धापूर्वक पूजा गर्छौं । जसले हामीलाई मृत्युबोध गर्न सिकाउँछ ।

४. प्राणीसँगै आफ्नै पूजा गर्ने चाड

तिहारका पाँच दिनलाई ‘यमपञ्चक’ भनिन्छ । यसैले त यमराजका दूतहरूको भव्य पूजा गरिन्छ । पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरुको, त्यही दिन ‘म्हपूजा’ र अन्तिम दिन भाइटीकाको पूजा गरिन्छ ।

कागले अमृत खाएको कथा छ । यसलाई शुभसंकेत ल्याने चराको रुपमा लिइन्छ । काग आउनेबित्तिकै हामी ‘शुभ बोल १’ भन्ने गर्छौं । यमराजको बहान कुकुरलाई पनि सेलरोटी, मासुसहित पूजाआजा गरेर टिका पनि लगाइदिन्छौं । कुकुर पनि सम्मान पाएर यताउता डुलेको हामी देख्दछौं । पाण्डवपुत्र युधिष्ठिरसँगै कुकुर पनि स्वर्ग गएको कथा पनि हामीसँग छ ।

गाई लक्ष्मीको प्रतीक मानिन्छ । सँगै गाईलाई लक्ष्मी, आमा, जननी या जीवनदायी मानेर ढोग्छौं । गोवद्र्धन पर्वतको रुपमा गोरुलाई कृष्णसँग जोडेर पूजा गरिन्छ ।

काठमाडौं र बाहिर रहेका नेवार समुदायले आफ्नो पूजा आफैं गर्ने चलन छ । यो विश्वकै अनुपम संस्कृतिमा पर्छ । आफूलाई निर्मल, शुद्ध र मानवीय भावनाले सम्पन्न तुल्याउन म्हपूजा गरिन्छ । ‘नेपाल संवत्’ यही दिनबाट सुरु हुन्छ । नयाँ वर्षको रमझममा उपत्यका रमाउँछ । आज नेपाल संवतलाई सरकारी तवरबाटै मान्यता छ । नेपाल भन्ने देशकै नामबाट आएको यो संवत् हाम्रो मौलिक संवत् हो ।

५. फरक छ दशैं र तिहार

दशैं र तिहारमा केही भिन्नता छ । दशैंलाई पारिवारिक सम्बन्ध र संस्कारको चाड भन्न सकिन्छ । दशैंमा टिका र जमरा ठूलाले सानालाई आशिक दिने काम हुन्छ । तर, तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् । अनि यो प्रकृतिसँग र दिदी–भाइ, दाजु–बहिनीसँग बढी जोडिएर आउँछ ।

दशैंमा मासुजन्य परिकारको प्रधानता रहन्छ । पूजाआजाको क्रममा नरिवल, घिरौंलाको प्रयोग हुन्छ । दशेंका बेला राज्यस्तरबाट नै बली दिने प्रथा अझै कायमै छ । तर तिहारमा मासुजन्य पदार्थभन्दा फलफूल साथै विविध प्रकारका रोटी, मिठाई, गुलिया परिकार खाने गरिन्छ ।

दशैंमा दुबो शीरमा राख्ने, कानमा लगाउने र माला लगाउने चलन छ । तिहारमा भने मखमली, सयपत्री र गोदावरीको माला लगाइन्छ ।

तिहार पर्व समृद्धि र विकाससँग पनि जोडिएको छ । धन–दौलत, वैभव, सुख–ऐश्वर्यको आराधना गरिने हुँदा यो समृद्धिसँग नजिक रहने गर्छ । तिहार खानपान, रमाइलो, नाचगान र पूजा आराधनामात्र नभएर जीवनको विस्तारसँग पनि सम्बन्धित छ ।

यहीबेला मानिस जुवातास खेल्ने सहज अवसर पाउँछ । हारजित थाहा होस् वा हारलाई पनि स्वीकार गर्न सकियोस् भनेर जुवा, तास, कौडा र पासा खेल्ने हाम्रो पौराणीक संस्कार नै हो । लोकसंस्कृतिविद एवं साहित्यकार तुलसी दिवससँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित) 

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech