११ बैशाख २०८१, मंगलवार

कस्मिरा खातुनले देखाइन् धार्मीक सद्भावको उदाहरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको नेपालगन्ज मुस्लिम वाहुल्य समाज हो । धार्मीक सद्भावको राम्रो उदाहरण नेपालगन्जमा देख्न सकिन्छ । सबैले एक अर्काको धर्म र संस्कार सम्मान गर्दै दुवै धर्मको धार्मीक संस्कार दुवै धर्म संप्रदायका ब्यक्तिहरुले मिलेर मनाउने प्रचलन छ ।

मुस्लिम धर्मावलम्बीको इदमा हिन्दु धर्मावलम्बीहरुको बाक्लो उपस्थिती हुन्छ । मिलेर इद मनाउने प्रचलन छ भने हिन्दुहरुको धार्मीक संस्कारमा पनि मुस्लिम समुदायको सहभागीता रहन्छ ।

दशैं तिहार होली लगायतका पर्वहरुमा मुस्लिमहरुले पनि उत्तिकै सहभागीता जनाउने प्रचलन छ । तर यस्ता पर्वहरुमा महिलाको सहभागीता भने कम हुने गरेको छ । नेपालगन्जमा एक मुस्लिम महिलाले पहिलो पटक तिहार मनाएकी छन् ।

मुस्लिम समुदायमा महिलाका लागि अलि बढी कठोर नियम छ भन्ने बुझाई अन्य धर्म मान्नेहरुलाई छ । तर नेपालगन्ज २ घरवारी टोलकी कस्मिरा खातुनले त्यो बुझाई गलत सावित गरिदिएकी छन् । नेपाल उद्योग संघको जिल्ला संयोजक कस्मिरा खातुनले पहिलो पटक हिन्दुहरुको महान पर्व तिहारमा भाइटिका लगाइदिएर धार्मीक सद्भावको उदाहरण दिएकी छन् ।

‘महिलाका रुपमा मैले पहिलो पटक यो साहस गरेँ खातुनले भनिन् ‘मलाई निकै रमाइलो लाग्यो ।’ सामाजिक काममा पनि उत्तिकै सकृय खातुनले डोटीका यादव महरालाई तिहारमा भाईटिका लगाइदिएकी हुन् । प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक महरासंग उनको विगत केही वर्ष देखि दिदी भाईको सम्बन्ध थियो ।

महरा तिहारको समयमा आफ्नो घर जान पाएनन् । उनले दिदी बनाएका खातुनसंग भाइटिका लगाउने इच्छा देखाएपछि आफुले टिका लगाइदिएको बताइन् ।

उनको यो निर्णयमा श्रीमान् समुसुद्धिन मियाले पनि पुरा साथ दिए । श्रीमाती खातुनले भाईटिका लगाइदिएको तस्बिर श्रीमान्ले नै खिचिदिएको पनि उनले बताइन् । उनी भन्छिन्, ‘भाइटिका लगाउने मुस्लिम महिला म नै पहिलो हो ।

पुरुषले अन्य धार्मीक संस्कारमा सहभागीता जनाएको भएपनि महिलाले तिहारको टिका लगाएको छैनन् । म सामाजिक अभियानमा पनि सकृय हुने भएकाले सामाजिक सद्भावका लागि उदाहरण पनि हुन्छ भनेर लगाउने निर्णय गरे ।’

उनले टिका लगाउनु अघि आफ्नो आमाबुवा, श्रीमान् र छोराहरुसंग पनि सल्लाह लिएको बताइन् । ‘सबैले मलाई साथ दिनुभयो निकै खुसी लाग्यो’ उनले भनिन्, नेपाल प्रहरी तालिम केन्द्रमा प्रहरीलाई आवश्यक पर्ने पोशाक तयार गर्ने काम गर्दा भाई यादवसंग चिनजान भएको हो । हाम्रो ३ वर्ष देखि कै दिदी भाईको सम्बन्ध थियो ।’

खातुन भन्छिन्, ‘उहाँले टिका लगाउन खोज्नुभयो । सुरुमा त मैले उहाँलाई मात्र लगाइदिने तर मैले नलगाउने सल्लाह भएको थियो । तर परिवारमा सबैले साथ दिएपछि मैले पनि टिका लगाए ।’

उनले त्यसका लागि एक जना छिमेकी दिदीको सहयोग लिएको बताएकी छन् ।’ मलाई सांस्कृतिक कुरा थाहा थिएन । हिन्दु धर्म मान्ने दिदीलाई बोलाएर सबै धार्मीक प्रकृया पुरा गरेर टिका लगाएका हौं’ उनले भनिन् । तर मुस्लिम धर्ममा मनाइने इद र तिहारमा खासै भिन्नता नभएको उनको अनभव छ ।

‘हिन्दु मुस्लिम धर्मका धेरै धार्मीक कृयाकलाप मिल्दाजुल्दा रहेछन्’, उनले भनिन्, ‘इदमा मुस्लिम दाजुभाईले पनि आफ्ना दिदीबहिनीलाई बोलाउने, उपहार र दक्षिणा दिने प्रचलन छ । तर टिका मात्र लगाइदैन । तिहारमा मैले त्यही एउटा भिन्नता पाए ।’ अब उनले प्रत्यक वर्ष तिहारमा भाईटिका लगाउने निर्णय गरेकी छन् ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech