७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्ने डाक्टर राजभण्डारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका  छन् ।

खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी गराएका छन ।

अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । तर नेपालमा यसको प्रभाव र खोप ल्याउने प्रक्रिया कस्तो हुन्छ भन्नेमा भर पर्ने डाक्टर राजभण्डारीले बताएका छन् । विभिन्न अध्ययनअनुसार ‘सार्स कोभ९२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ ।

अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ । भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ ।

त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड९१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको भनिएको छ ।

त्यसकारण खोप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिने अवस्था भने नभएको डाक्टर राजभण्डारीले बताए ।  अमेरिकालगायत देशमा कोरोना भाइरस सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको छ । जाडो मौसममा कोराना सङ्क्रमण अझ बढ्न सक्ने विज्ञले बताउँदै आएका छन् । अहिले अमेरिकालगायतका देशमा प्रभावकारी देखिएको खोप नेपालमा जनवरी वा फेब्रअरीसम्म आइपुगे पनि महामारी नियन्त्रणमा प्रभावकारी हुने देखिन्छ ।

तर १,२ महिनामै खोप आउने सम्भावना नै नभएको डाक्टर भण्डारी बताउनुहुन्छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन र रुसमा बनिरहेका खोपलाई नेपालमा परीक्षणका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । विभिन्न देशका धेरै कम्पनीले खोप निर्माण ९० प्रतिशत सफल भएको दाबी गरेकाले नेपालमा पनि यसले आशा भने जगाएको छ ।

अमेरिकी औषधि निर्माण कम्पनी फाइजर र जर्मन साझेदार कम्पनी बायोएन टेकले कोरोनाविरुद्ध निर्माणाधीन खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको छ । ग्यामालिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ खोप पनि ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरिएको छ ।

दुवै कम्पनीले ९ नोभेम्बरमा सार्वजनिक गरेको जानकारीअनुसार ६ देशका ४३ हजार पाँच सय जनामा यो खोप परीक्षण गरिएको थियो । सन् २०२० भित्रै ५० लाख डोज खोप उत्पादन गरिसक्ने तयारीमा रहेको दुवै कम्पनीको दाबी छ । र सन् २०२१ अन्तिमसम्म एक करोड ३० लाख सङ्क्रमितलाई खोप उपलब्ध गराउने लक्ष्य दुवै कम्पनीको देखिन्छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech