७ बैशाख २०८१, शुक्रबार

एड्सबाट बाँकेमा १ सय ५४ जनाले ज्यान गुमाए
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  एड्सका कारण बाँकेमा १ सय ५४ जना एचआइभी संक्रमितको ज्यान गएको छ । कुल १ हजार २ सय १७ एचआइभी संक्रमितमध्ये १ सय ५४ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जानकारी दिए ।

भेरी अस्पतालमा एण्टीरेक्ट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) सेवन गर्नेको संख्या ४ सय ८३ जना रहेको एड्स हेल्थ केयर फाउण्डेशन, नेपालगन्जका कोर्डिनेटर संजयकुमार पौडेलले बताए । उनले बाँकेमा २० बालक र ८ बालिका गरि २८ जना एचआइभी संक्रमित बालबालिका रहेको बताए । ति सवै बालबालिकाले पनि भेरी अस्पतालबाट नियमितरुपमा एआरटी सेवन गर्दै आएको उनले बताए ।

एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागु भएपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । बाँकेमा ०७६ साउनदेखि ०७७ असारसम्म १६ जना एचआइभी संक्रमित महिलाले बच्चा जन्माएकोमा एक जना बच्चामा मात्र एचआइभी संक्रमण देखिएको छ ।

गर्भवती महिलाले अन्तिम समयमा मात्र पिएमटिसिटी सेवा लिएका कारण बच्चालाई एचआइभीबाट जोगाउन नसकिएको भेरी अस्पतालका फिजिसियन तथा एचआइभी÷एड्स फोकल पर्सन डा. संकेत रिसालले बताए । गर्भ रहने वित्तिकै अस्पतालको सम्पर्कमा आएका महिलाले स्वस्थ बच्चा जन्माउने गरेको उनको भनाई छ ।

गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको शुरुदेखि अन्तिम चरणसम्म निगरानी गर्दै आएको डा. रिसालले बताए । गर्भवती भएका महिलामा एचआइभी संक्रमण भएको पाएपछि निगरानी शुरु गर्छौं, त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, संक्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् ।  सन्तान नजन्माउँदासम्म निगरानी गरि उपचार गर्छौं ।’

संक्रमित गर्भवती महिलालाई एआरटी औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सर्नबाट बचाउँछ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डिएनए पिसीआर गरिन्छ । संक्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ  ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech