८ बैशाख २०८१, शनिबार

भौतिकवादी सिद्धान्त भनेको के हो ?
  • कृष्णदास श्रेष्ठ

संसार परिवर्तनशील छ, प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । अब प्रश्न उठ्छ  संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् र तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ? सांसारिक परिघटनाहरूका जरा कहाँ रहेका हुन्छन् र कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या–विश्लेषण थाल्नुपर्छ ? कुनै विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त सवाल निकै महत्व राख्ने सवाल हो, किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू गलत रहन्छन् ।

संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने दुइटा आधारभूत धारणा (सिद्धान्त) छन् र ती हुन् भौतिकवाद र आदर्शवाद । ती एक–अर्कोको पूरै विपरीत धारणा हुन् र तिनका बीच आधारभूत भिन्नताको सवाल हाम्रो वरिपरिको भौतिक संसार र आत्मा, विचार, मनमा कुन प्राथमिक हो भन्ने सवाल हो । यसमा भौतिकवाद भौतिक संसारलाई प्राथमिक मान्छ भने आदर्शवाद आत्मा, मनलाई प्राथमिक मान्छ । भौतिकवादले सांसारिक परिघटना तथा प्रक्रियाहरूलाई भौतिक कारणसित सम्बन्धित पारेर तिनको व्याख्या गर्ने गर्छ भने आदर्शवादले त्यसलाई कुनै अभौतिक तत्वसित (आत्मा, चेतना, विचार), कुनै आध्यात्मिक कारणसित (परमात्मा) सम्बन्धित पारेर त्यसको व्याख्या गर्न खोज्छ ।

भौतिकवादले प्रकृतिमा भौतिक तत्वलाई आधार, प्रस्थानबिन्दु बनाएर सम्बन्धित प्राकृतिक परिघटनाको व्याख्या गर्छ भने त्यसको ठीक उल्टो, आदर्शवादले कुनै आध्यात्मिक वा पारलौकिक तत्वलाई आधार बनाएर सम्बन्धित परिघटनाको व्याख्या गर्छ । सार रुपमा भन्ने हो भने, भौतिकवादी धारणाअनुसार, संसारका सारा चीज भौतिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् ।

त्यसको उल्टो, आदर्शवादी धारणाअनुसार, सारा चीज आध्यात्मिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् । भौतिकवाद र आदर्शवादका बीच मूल भिन्नता, प्रमुख अन्तर्विरोध उपरोक्त कुरामा रहेको छ । यस अन्तर्विरोध सारा प्राकृतिक तथा सामाजिक परिघटनासम्बन्धी विपरीत धारणाहरूमा अभिव्यक्त भएको हुन्छ ।
उदाहरणका लागि एउटा सवाललाई लिऊँ । हाम्रो यो भौतिक संसार(प्रकृति) कुनै दैवी शक्तिले सिर्जना गरेको हो कि त्यसको अस्तित्व अनन्तकालदेखि रहेर आएको हो ? धार्मिक दृष्टिकोण राख्ने व्यक्तिहरू उक्त प्रश्नको जवाफमा के भन्छन् भने संसारको सृष्टिकर्ता ईश्वर हुन् र त्योभन्दा पहिले त्यसको अस्तित्व थिएन । आदर्शवादीहरूको जवाफ पनि त्यस्तै प्रकारको छ र तिनीहरू के भन्छन् भने प्रकृतिभन्दा माथि कुनै अलौकिक शक्ति, मन, आत्मा वा हेगेलको शब्दमा,“परम विचार” (Absolute Idea) अवस्थित छ र संसारको अस्तित्व त्यसकै कारणबाट भएको हो । उपरोक्त दुइटा धारणामा एउटा साझा कुरा छ र त्यो के भने उनीहरू कुनै असांसारिक शक्तिलाई, कुनै मानसिक तत्वलाई विश्वको सृष्टिकर्ता मान्दछन् ।

तिनीहरूको धारणाअनुसार, संसारमा जे जति घटना घट्छन्, ती सबका आधार र कारक तत्व उपरोक्त शक्ति हुन् । भौतिक तत्व प्राथमिक होइन† मन, चेतना, विचार प्राथमिक हुन् भन्ने आदर्शवादी धारणाको स्थिति उपरोक्त खालको छ ।
भौतिकवादीहरूको धारणा उपरोक्त धारणाको पूरै विपरीत छ । भौतिकवादी धारणाअनुसार, भौतिक संसारको सिर्जना कुनै असांसारिक शक्ति वा कुनै विचारले गरेको होइन, बरु त्यसको अस्तित्व मानिसको अस्तित्व रहनुभन्दा अघिमात्र होइन, कुनै पनि जीव हुनुभन्दा धेरै पहिलेदेखि रहेको थियो र धेरैपछि मात्र पृथ्वीमा जीवनको उत्पत्ति भएको र जीवन विकासको क्रममा मानिसको उत्पत्ति भएको थियो ।

हामी जसलाई मन, संवेदना, चेतना, विचार आदि भन्छौं, ती त खास ढङ्गबाट सङ्गठित भौतिक तत्वको ज्यादै उच्च विकास, मानवीय मस्तिष्कका उपज हुन् । तसर्थ, मानिसको उत्पत्ति हुनुभन्दा धेरै पहिले बिनाजीव तत्वको स्थितिमा रहेको भौतिक संसारलाई मन, चेतना, आदिको उत्पत्ति ठान्नु सरासर गलत र झूट हो र कसैले त्यस्तो सोच्छ भने त्यो रहस्यवादभन्दा केही होइन ।

बरु त्यसको उल्टो तथ्य के हो भने तत्व चेतनाको आधार र स्रोत हो र भौतिक तत्वले चेतनालाई निर्धारित गर्छ । उपरोक्त वास्तविक तथ्यप्रति अर्थात् चेतना मनभन्दा बाहिर र त्यसबाट बिलकुल स्वतन्त्र रुपमा बाह्य संसार तथा प्राकृतिक चीजहरूको अस्तित्व भएका मान्यता नै भौतिकवादको सबभन्दा आधारभूत तत्व हो । यसरी भौतिकवादले भौतिक तत्वको अस्तित्व र त्यसको विकासमा कुनै अलौकिक तत्व वा कुनै विचारको हस्तक्षेपलाई पूरै अस्वीकार गर्दछ । त्यसैले त्यो स्वभावैले अनीश्वरवादी रहेको छ ।
भौतिकवादको उपरोक्त धारणा वास्तविक तथ्यहरूमा आधारित रहेको छ । हामी जसलाई चेतना, विचार भन्छौं, त्यो मानवीय मस्तिष्कको उपज हो र मानवीय मस्तिष्क भौतिक तत्वको सबभन्दा उच्च उपज हो । भौतिकवादअनुसार, चेतना भनेको वस्तुगत यथार्थताको प्रतिबिम्ब हो । माक्र्सको शब्दमा चेतना भनेको “मानवीय मनमा परेको भौतिक तत्वको प्रतिबिम्ब र विचारका रुपमा गरिएको भौतिक संसारको अनुवादबाहेक अर्को केही होइन” ( माक्र्स, “पुँजी,” अ.सः भाग, पृष्ठ १९ ) ।
अब सामाजिक जीवनको सम्बन्धमा भौतिकवादी धारणाबारे चर्चा गरौं ।
हामीलाई थाहा छ, मानव समाज विभिन्न ऐतिहासिक चरणहरूबाट विकसित भएर आएको छ । मानव समाजको पहिलो ऐतिहासिक रुप आदिम साम्यवादी थियो, जुन बेला मानिसको जीवन निर्वाहको साधन कन्दमूल र सिकार थिए । समयको क्रममा, सो व्यवस्थाको ठाउँमा दास व्यवस्था स्थापित भयो, अनि दास व्यवस्थाहरूपछि सामन्ती व्यवस्था, सामन्ती व्यवस्थापछि पुँजीवादी व्यवस्था र अनि त्यसपछि समाजवादी व्यवस्था अस्तित्वमा आए । ती व्यवस्थाहरू अहिलेसम्ममा देखापरेका समाजका ऐतिहासिक रुप हुन् । त्यस ढङ्गबाट समाजको क्रमागत विकास भएको छ ।

मानिसहरूको सामाजिक जीवनका दुइटा महत्वपूर्ण पक्ष छन्– भौतिक पक्ष र मानसिक पक्ष अर्थात् भौतिक जीवन र मानसिक जीवन । मानिसहरू आफ्नो जीवनको निर्वाहका लागि आवश्यक चीजहरू पैदा गर्छन् र सो कार्यमा लाग्दा उनीहरूका बीच निश्चित आर्थिक सम्बन्धहरू स्थापित हुन्छन् । वस्तुहरूका उत्पादन, वितरण तथा विनिमय हुँदा ती सम्बन्धहरू स्थापित हुन्छन् । त्यसका साथै, तिनीहरू जनसङ्ख्याको पुनरुत्पादन गर्ने कार्यमा पनि लाग्दछन् । साधारण भाषामा भन्ने हो भने, समाजमा मानिसहरू काम गर्छन् र जीवन निर्वाह गर्छन्, छोराछोरी जन्माउँछन् र जीवनका आवश्यकताहरूको उत्पादन गर्छन् र उत्पादित वस्तुहरूको विनिमय र वितरण गर्दछन् ।

उपरोक्त कामहरू गर्दा उनीहरूका माझमा निश्चित आर्थिक सामाजिक सम्बन्धहरू बन्छन् । यो नै समाजको भौतिक जीवन हो, जसलाई हामी सामाजिकसत्ता भन्ने गछौँ । समाजको मानसिक पक्षमा सामाजिक विचार, धारणा तथा दृष्टिकोणहरू, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानुनी विचारहरू, दार्शनिक धारणाहरू, कला तथा साहित्यिक कृतिहरू आदि पर्छन् । यो समाजको मानसिक जीवन हो, जसलाई हामी सामाजिक चेतना भन्छौं ।
प्रकृतिमा भौतिक तत्व र मन, सत्ता र चेतनाको सम्बन्धमा सत्ता प्राथमिक र चेतना गौण हुन् र पहिलोले दोस्रोलाई निर्धारित गर्छ भन्ने भौतिकवादको आधारभूत सिद्धान्त हो । सामाजिक जीवनका माथि उल्लेखित पक्षहरूमा कुन प्राथमिक र कुन गौण भन्ने सवालमा भौतिकवादी र आदर्शवादीहरूका जवाफ पूरै फरक र विपरीत छन् । उक्त सवालको जवाफमा आदर्शवादी दार्शनिकहरू के भन्छन् भने सामाजिक चेतना प्राथमिक र सामाजिकसत्ता गौण हुन् र सामाजिक चेतनाले सामाजिकसत्तालाई निर्धारित गर्छ । “विचारले संसारलाई गतिशील बनाउँछ (Ideas move the world)” – यो समाज विकाससम्बन्धी आदर्शवादीहरूको मूल सूत्र हो । त्यसको ठीक विपरीत, भौतिकवादीहरू के ‘भन्छन् भने सामाजिकसत्ता प्राथमिक हो र सामाजिकसत्ताले सामाजिक चेतनालाई निर्धारित गर्छ र चेतना भनेको सामाजिक यथार्थताको वैचारिक प्रतिबिम्ब हो । यो इतिहाससम्बन्धी भौतिकवादी सिद्धान्त अर्थात् ऐतिहासिक भौतिकवादको आधारभूत प्रस्थापना हो । माक्र्सले यसलाई निम्न रुपमा प्रतिपादित गरेका छन् ः
“मानिसहरूको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरूको सामाजिकसत्ताले उनीहरूको चेतनालाई निर्धारित गर्दछ” (माक्र्स, “राजनीतिक अर्थशास्त्रको आलोचनामा देन,” भूमिका) ।

सामाजिक जीवनमा भौतिकवादी धारणालाई प्रयोग गरी प्रतिपादित गरिएको ऐतिहासिक भौतिकवाद जीवनको साधारण तथ्यमाथि आधारित रहेको छ । त्यो तथ्य के भने चिन्तनको काममा लाग्नुअघि अर्थात् विज्ञान, कला, साहित्य, दर्शन, राजनीतिमा लाग्नुअघि मानिसले खानु–पिउनु, लाउनुपर्छ र बस्नका लागि वासस्थान बनाउनुपर्छ । जीवनमा उपरोक्त आवश्यकताहरूको पूर्ति स्वतः आफै हुने होइन, त्यसका लागि मानिसले आफूलाई उत्पादन कार्यमा लगाउनुपर्छ । भनाइको अर्थ के हो भने आफ्नो अस्तित्व कायम र विकास गर्नका लागि, आफ्नो जीवन बाँच्नका लागि उसले भौतिक चीजहरूको उत्पादन गर्नुपर्छ, जीवन निर्वाहका साधनहरू पैदा गर्नुपर्छ ।

यसरी, मानिसहरूको अस्तित्व उसका भौतिक आवश्यकताहरूको पूर्तिमा आधारित रहेको छ । त्यसरी उक्त आवश्यकताको उत्पादन मानवजीवन र मानव समाजको मूल आधार बनेको छ । त्यसबाट स्वाभाविक रुपले निस्कने निष्कर्ष के हो भने मानिसहरूको भौतिक जीवन अर्थात् जीवनका भौतिक साधनहरूको उत्पादनमा लाग्ने उसको जीवन नै त्यस्तो मूल तत्व हो जसले उनीहरूको र समाजको जीवनलाई निर्धारित गर्दछ । त्यसको तात्पर्य हो, सामाजिकसत्ता प्राथमिक र निर्धारकतत्व हो ।
ऐतिहासिक भौतिकवाद भनेको सामाजिक जीवन र त्यसको विकासको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरूको प्रयोग भएकाले तिनका बीच घनिष्ट सम्बन्ध छ । तर, सत्ता र चेतनाबीचको सम्बन्धमा तिनका बीचमा एउटा आधारभूत भिन्नता छ । सो भिन्नता कुन तथ्यमा रहेको छ भने प्रकृतिमा अचेतन, स्वस्फूर्त शक्तिहरू क्रियाशील रहन्छन्, तसर्थ सत्ता र चेतनाबीचको सम्बन्धमा चेतनाको कुनै भूमिका रहँदैन । तर इतिहासमा क्रियाशील हुने तत्वहरू अचेतन होइनन्, बरु चेतनाले सज्जित भएका हुन्छन् ।

इतिहास मानिसहरूको क्रियाकलापमार्फत गतिशील हुन्छ । इतिहासमा पात्रहरू इच्छा, उद्देश्यप्रेरित भएर क्रियाशील हुन्छन् र उनीहरू विचारबाट निर्देशित हुन्छन्, त्यसैले उनीहरूको काम–कारबाहीमा विचारले ठूलो भूमिका खेल्छ । सायद सही तथ्यलाई आधार बनाएर आदर्शवादीहरूले विचारले संसारलाई गतिशील र सञ्चालित गर्छ भन्ने निष्कर्ष निकालेका होलान् । सो निष्कर्षअनुसार, तिनीहरू इतिहासको विकासको मूल कारणलाई मानिसको विचार, चेतना वा इच्छामा खोज्ने गर्छन् ।
इतिहासमा पात्रहरू विचारबाट अभिप्रेरित र निर्देशित हुन्छन् । हामी कुन तथ्यलाई देख्छौं भने मानिसहरू भिन्नाभिन्नै युगहरूमा भिन्नाभिन्नै विचारहरूबाट अभिप्रेरित हुन्छन् । उक्त वैचारिक भिन्नताको स्रोत र कारण के हुन् ? त्यसको मूल स्रोत र कारण तिनीहरूले आफ्ना भौतिक आवश्यकताहरूको पूर्ति गर्ने रुपहरूको भिन्नतामा रहेको छ । एउटा उदाहरणलाई लिऊँ ।

आदिम साम्यवादी व्यवस्थाअन्तर्गत मानिसहरू सामूहिक ढङ्गबाट आफ्ना भौतिक खाँचाहरूको पूर्ति गर्दथे । त्यस जमानामा कुनै वर्गहरू थिएनन्, कुनै व्यक्तिगत सम्पत्ति थिएन । त्यसैले, त्यसबेला त्यहाँ “तेरो” र “मेरो” भन्ने कुनै विचार, कुनै भावना थिएन । पछि, विकासको क्रममा, समाज वर्गहरूमा विभाजित भयो र निजी सम्पत्तिको उत्पत्ति भयो, अनि तेरो र मेरो भन्ने विचार पैदा भयो ।

त्यसरी जीवनका भिन्नाभिन्नै भौतिक अवस्थाहरूको कारणबाट भिन्नाभिन्नै विचारहरू पैदा भए । त्यसको अर्थ के भने विचार भनेको कुनै शुद्ध मनोगतवाद होइन, बरु ती जीवनका भौतिक अवस्थाहरूको उपज हो । समाजको भौतिक जीवनले त्यसको बौद्धिक जीवनलाई निर्धारित गर्छ भन्ने भौतिकवादको प्रस्थापना उपरोक्त तथ्यको अभिव्यक्ति हो । यसलाई माक्र्सले निम्न रुपमा प्रस्तुत गरेका छन् ः
“सम्पत्तिका विभिन्न रुपहरूका आधारमा, जीवनका सामाजिक अवस्थाहरूको आधारमा स्पष्ट तथा अनौठो ढङ्गले निर्मित भावना, चिन्तनका तरिकाहरू र जीवसम्बन्धी दृष्टिकोणहरूको सम्पूर्ण अधिरचना खडा भएको हुन्छ । सम्पूर्ण वर्गले आफ्ना आधारहरूबाट र तदानुसारका सामाजिक सम्बन्धहरूबाट तिनको सिर्जना र निर्माण गर्छ” (माक्र्स, “लुई बोनापार्टको अठारौ ब्रुमेर, ” अध्याय ३) ।

वर्ग विभक्त समाजमा हामी कुन तथ्यलाई देख्छौं भने विभिन्न वर्गहरूका विचार, धारणा र मनोभावनाहरू भिन्नाभिन्नै खालका छन् । दास समाजमा दास–मालिक र दासहरूका, सामन्ती समाजमा सामन्त र किसानहरूका र पुँजीवादमा पुँजीपति र मजदुरहरूका एक–अर्काको पूरै विपरीत धारणा, दृष्टिकोण र भावनाहरू हुन्छन् । उक्त भिन्नताको मूल स्रोत सामाजिक उत्पादन–प्रक्रियामा तिनीहरूको स्थान र भूमिकाको भिन्नतामा रहेको छ । यही भिन्नताका कारणले गर्दा आम्दानीको स्रोत र परिमाण पनि भिन्न हुने गर्छन् ।

उदाहरणका लागि, पुँजीवादी समाजमा उत्पादनका साधनको मालिक रहेका पुँजीपतिहरूको स्रोत मजदुरहरूको शोषण हुन्छ भने उत्पादनका साधनबाट वञ्चित रहेका मजदुरहरू आफ्नो श्रम–शक्ति, बेचेर जीविकोपार्जन गर्छन् । यही भिन्नताले गर्दा, जीवन र समाजलाई हेर्ने दृष्टिकोण, सोच्ने तरिका, क्रान्तिप्रतिका धारणा, भावना र आकाङ्क्षाहरू फरक–फरक भएका हुन् । त्यसका साथै, भिन्नाभिन्नै जीवनका सामाजिक अवस्थाहरूअन्तर्गत रहने हुनाले, सर्वहारा वर्ग, किसान वर्ग आदि वर्गहरूमा चिन्तन र मनोभावमा पनि केही आ–आफ्ना विशेषताहरू रहेका छन् ।

उदाहरणका लागि, सर्वहारा वर्गमा भएका केही विशेषताहरू यस्ता छन् ः पुँजीवादप्रति पूरै क्रान्तिकारी भावना, निजी सम्पत्ति, सनातनता, अन्धविश्वासप्रति नकारात्मक दृष्टिकोण, साङ्गठनिक ढङ्गले काम कुरा गर्ने प्रवृत्ति, त्याग र बलिदानको भावना, साथीहरूप्रति मैत्रीपूर्ण तथा सहयोगात्मक भावना आदि । किसान वर्गमा यस्ता विशेषताहरू देख्नमा आएका छन् ः सामन्ती शोषण र उत्पीडनप्रति सङ्घर्षको भावनाका साथै निजी सम्पत्ति र परम्पराप्रति प्रेम, व्यक्तिवादी प्रवृत्ति, मिलेर काम गर्ने प्रवृत्तिको कमी, गाउँको सानो घेराभन्दा बाहिरको चीजप्रति शङ्का र अविश्वास आदि ।

आवारा (गिmउभल) सर्वहारा वर्गमा त्योभन्दा फरक खालका विशेषताहरू हुन्छन् ः सम्पूर्ण पुरानो कुराप्रति घृणा र विध्वंसात्मक दृष्टिकोण, तर रचनात्मकताको अभाव, निर्माणात्मक कार्य गर्ने असमर्थता, अराजक तथा भावुक पाराको व्यवहार, उट्पट्याङीपन, लहडीपन आदि । तदानुसार, तिनीहरूका सैद्धान्तिक स्थितिहरू फरक–फरक हुन्छन् ः सर्वहारा वर्ग समाजवाद र साम्यवादको सिद्धान्तको पक्षमा, किसान वर्ग निजी सम्पत्ति (पुँजीवाद) विचारधाराको पक्षमा हुन्छ ।
त्यसैले भौतिकवादको एउटा प्रमुख प्रस्थापना के रहेको छ भने सामाजिक विचार, सिद्धान्त तथा मनोभावनाहरूको वास्तविक स्रोत भौतिक जीवन हो र सामाजिक चेतनाको उत्पत्ति तथा विकासको मूल आधार सामाजिकसत्ता हो ।

मानिसहरूका माझ रहेका फरकफरक विचार, धारणा तथा भावनाहरूको स्रोत तथा कारण तिनीहरू रहने गरेका फरकफरक सामाजिक जीवनका अवस्थाहरू हुन् । आदर्शवादीहरू मानिसहरूले भोगिरहेका फरकफरक स्थितिहरूको कारण र व्याख्यालाई दैवी इच्छा वा निरपेक्ष विचारमा वा त्यस्तै भौतिक जीवनभन्दा बाहिरको कुनै कुरामा खोज्छन्, जसले गर्दा आफ्नो जीवनको अवस्थालाई सुधार्नेतर्फ उनीहरूले ध्यान र प्रयत्न नलगाऊन् । त्यसको ठीक उल्टो, भौतिकवादीहरू मानिसहरूको स्थितिको स्रोत र कारणलाई वास्तविक भौतिक अवस्थाहरूमा खोज्छन्, जसले गर्दा मानिसहरूले ती अवस्थालाई बुझेर र फेरेर राम्रो जीवन जिउनसक्छन् ।
यसरी भौतिकवाद र आदर्शवाद संसार र त्यसका परिघटनाहरूलाई व्याख्या गर्ने दुइटा विपरीत दार्शनिक धारणा हुन् । आफ्नो उत्पत्तिदेखि नै यी दुई धारणाबीच निरन्तर रुपले सङ्घर्ष चलिआएको हो । यस सङ्घर्षलाई अमूर्त दार्शनिक सिद्धान्तहरूबीचको सङ्घर्षको रुपमा लिइनुहुन्न । वास्तविक तथ्य वर्ग विभक्त समाजमा वर्गहरूमाझ चलिरहेको द्वन्द्व तथा अन्तर्विरोधहरूको वैचारिक प्रतिबिम्ब हो र यसमा सङ्घर्षमा संलग्न वर्गहरूको स्वार्थ जोडिएको हुन्छ । आदर्शवाद सधैंभरि प्रतिक्रियावादी तथा अनुदारवादीहरूको झण्डा रहेको छ किनभने त्यसले विद्यमान वर्गीय तथा मानवीय सम्बन्धलाई रहस्यमय र धुमिल पार्दछ, सामाजिक यथार्थताको गलत र काल्पनिक व्याख्या गर्दछ र त्यसरी शोषक शासक वर्गहरूको हितको रक्षा गर्न खोज्दछ ।

तसर्थ, स्वाभाविक रुपमा उक्त दर्शन विद्यमान शोषण–व्यवस्थाका लागि कामलाग्दो टेवा बनेको छ ।
अर्कोतिर भौतिकवाद सधैंभरि समाजमा आमूल परिवर्तन चाहनेहरू, क्रान्तिकारी वर्ग तथा तत्वहरू र नौलो समाजको निर्माण गर्न खोज्नेहरूको झण्डा रहेर आएको छ । उदाहरणका लागि, प्राचीनकालमा यो प्राचीन व्यापारिक वर्गको र मध्ययुगीनकालमा उदीयमान सामन्तविरोधी पुँजीपति वर्गको झण्डा रहेको थियो भने वर्तमान युगमा सर्वहारा वर्गको वैचारिक झण्डा रहेको छ ।

त्यसको कारण के भने त्यसले सामाजिक वर्गहरूबीचको सम्बन्ध र मानवीय सम्बन्धहरूको वास्तविक रुप र चरित्रलाई स्पष्ट पार्दछ, वर्गीय समाजमा वर्गसङ्घर्ष सामाजिक विकासको मूल कारकतत्व रहेको तथ्यलाई खुलस्त पार्दछ, शोषण र उत्पीडनबाट मुक्तिको बाटोलाई आलोकित गर्दछ । भौतिकवाद आलोचनात्मक र क्रान्तिकारी छ र साँचो भन्ने हो भने यो क्रान्ति र ऐतिहासिक अग्रगमनको दर्शन हो ।
स्रोतः माक्र्सवादका सैद्धान्तिक स्थिति र धारणा, प्रश्नोत्तर रुपमा

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech