१४ बैशाख २०८१, शुक्रबार

नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्ने बढ्दै

दस दिनमै प्रवेश शुल्कबाट ४ लाख ३८ हजार रुपैयाँ आम्दानी

  • न्युज मानसराेवर

काठमाडौँ — नौ महिनापछि खुलेको नारायणहिटी दरबार संग्रहालय दस दिनमा २ हजार ६ सय २२ जनाले अवलोकन गरेका छन् । तीमध्ये सार्क मुलुकका दुई र अन्य मुलुकको एक जना मात्र छन् ।

त्यसबापत संग्रहालयले प्रवेश शुल्कबाट ४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

कोभिड–१९ फैलिएयता बन्द रहेको संग्रहालय राजा वीरेन्द्रको निवास श्रीसदनसहित गत साताबाट सार्वजनिक गरिएको हो । अहिले दैनिकजसो २ सय ६२ जनाभन्दा बढीले अवलोकन गर्ने गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर आगन्तुकलाई प्रवेश गराइएको छ ।

प्रवेश शुल्कबापत प्रतिविद्यार्थी ५० रुपैयाँ, सर्वसाधारणलाई जनही दुई सय, सार्क मुलुक तथा चीनका पर्यटकलाई जनही पाँच सय तथा अन्य मुलुककालाई एक हजार रुपैयाँ लिने गरिएको छ । नौ वर्षमुनिका र ज्येष्ठ नागरिकलाई प्रवेश नि:शुल्क रहेको छ ।

दरबार संग्रहालयको ५२ मध्ये ३२ कक्ष खुला गरिएका छन् । बाँकी कक्ष केही महिनाभित्र खुला गर्ने तयारी भइरहेको तर सरकारबाट कुनै बजेट प्राप्त नहुँदा समस्या परेको कार्यकारी निर्देशक दाहालले बताए ।

‘केही महिनापछि स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सैलुन कक्षक, अध्ययन कक्ष र सिनेमा हललगायत सर्वसाधारणका लागि खुला गर्ने तयारीमा छौं,’ धेरै काम बजेटकै कारण रोकिने स्थितिमा रहेको उल्लेख गर्दै दाहालले भने, ‘तर चालु आर्थिक वर्षभित्र नारायणहिटी संग्रहालयको बजेट शून्य छ । सात करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति माग्यौं । अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।’

संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण चरणबद्ध अघि बढाएको उनले जनाए । तर, बजेटकै कारण खुला गरिएका नारायणहिटीको छानो जीर्णोद्धार कार्य अधुरो छ । त्यसैगरी भरखरै सार्वजनिक गरिएको श्रीसदनको समेत छानो कमजोर छ । तीन तलाको भवनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्दथे । लामो कम्पाउन्ड छिचोलेर १२ कोठे यस भवन प्रवेश गर्न सकिन्छ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेको छ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय छन् ।

प्रवेश ढोकाबाट सिधै उत्तरभित्तातर्फ भर्‍याङ रहेको छ । बीच तला उक्लिँदै गर्दा राजा महेन्द्र रानीद्वय रत्न र इन्द्रको फोटो देखिन्छ । यो तला राजा र रानीको कक्ष हो । पूर्वतर्फ रानी ऐश्वर्यको ड्रेसिङ तथा शृंगार कोठा, शृंगार पूजा कक्ष छन् भने पश्चिमतर्फ राजा वीरेन्द्रको पोसाक कक्ष, दम्पतीको खोपी छन् ।

माथिल्लो तेस्रो तला पूर्वतर्फ श्रुतिको सुत्ने, पढ्ने, पेन्टिङ गर्ने र झुलिने खुला ठाउँ छ । पश्चिमतर्फ नीराजनको पढ्ने, सुत्ने र व्यायाम कक्ष छन् । राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसर पुर्‍याइएको छ । ‘यसलाई खुल्ला आकाशमुनि राखिएको मात्र छ,’ दाहालले भने, ‘यसलाई व्यवस्थित गर्न र बगैंचाहरूको सौन्दर्यकरण बाँकी नै छ ।’

काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ । कान्तिपुरमा प्रकाशित समाचार

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech