८ बैशाख २०८१, शनिबार

१४ वर्षमुनिका बालबालिकामा ‘ट्रायल’ नै गरिएको छैन कोभिड भ्याक्सिन
  • न्युज मानसराेवर

काठमाडौं- विश्वभर यतिबेला कोभिड-१९ भ्याक्सिनको तीव्र प्रतिक्षा भइरहेको छ। भ्याक्सिनहरु आपत्कालीन प्रयोगको अन्तिम चरणमा समेत पुगिसकेका छन्। अमेरिकी कम्पनी फाइजरले बनाएको कोभिड भ्याक्सिन बेलायतले आफ्ना जनतालाई लगाउन अनुमति दिएको समाचारसमेत आइरहेको छ।

तर, कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र दिइनेछ। नेपालमा पनि करिब ७२ प्रतिशत मानिसले मात्र भ्याक्सिन पाउनेछन्। नेपालमा २८ दशमलव ३८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका मानिसको छ। यो कुल जनसंख्याको ८६ लाख २१ हजार २९२ हुन आउँछ।

१४ वर्ष मुनिकालाई किन खोप नलगाइने?

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख एवं कोभिड भ्याक्सिन खोप सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले अहिले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए।

उनले भने, ‘१४ वर्ष मुनिका व्यक्तिमा भ्याक्सिन परीक्षण भएको छैन। यो उमेर समूहमा कोरोना भाइरसको संक्रमण दर, अन्यलाई सार्न सक्ने क्षमता, असर र मृत्युदर कम छ। अर्थात् यो समूह अन्य उमेर समूहभन्दा कम जोखिममा पर्ने भएकाले विश्वमा यो उमेरलाई खोप दिइने छैन।’

कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिणाम, लागतको टुंगो लगाइसकेको छ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिइने योजना छ भने कोभ्याक्स फ्यासिलिटीमार्फत २० र बाँकी सरकारले आफैं खरिद गर्ने गरी ४८ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरेको छ। कोभ्याक्स फ्यासिलिटी खोपका क्षेत्रमा काम गर्ने विश्व स्वास्थ्य संगठन, गाभीलगायत मिलेर कोभिड खोपको लागि बनेको संस्था हो।

सुरुमा २० प्रतिशत भ्याक्सिन नि:शुल्क आउन बताइएको छ। त्यसमा पहिलो पहिलो चरणमा आउने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइने छ।

त्यसपछि आउने १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरेर काम गर्न नसक्ने व्यक्तिहरु, दीर्घरोगी र वैदेशिक श्रममा जाने श्रमिकका लागिका दिइने योजना बनाइएको छ। नेपाल लाइभ

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech