१३ बैशाख २०८१, बिहीबार

भरी अस्पतालले विस्तार गर्यो डायलासिस

डायलासिस युनिटमा दुईवटा मेशिन थपिएपछि अहिलेको तुलनामा दोब्बर विरामीले सहज रूपमा उपचार पाउने डाक्टर श्रेष्ठ बताउछन्।

  • न्युज मानसराेवर

भेरी अस्पतालमा मिर्गौला रोगबाट ग्रसित विरामीको उपचारका लागि डायलासिस सेवाको दायरा विस्तार भैरहेको छ । अहिले दुईवटा मेशिनको भरमा चलेको डायलासिस युनिटको क्षमता विस्तार गरिएको छ ।

भेरी अस्पतालमा रहेको उक्त युनिटमा यसअघि चारवटा डायलासिस मेशिन थिए । केही समयको प्रयोगपछि दुईवटा मेशिन बिग्रिएका छन । ती बिग्रिएका मेशिनको अस्पतालले अहिलेपनि मर्मत सम्भार गर्न चासो देखाएको छैन् । त्योहुँदा अहिले उक्त युनिट दुईवटा मेशिनको भरमा चलिरहेको छ । तर, अब सोही युनिटमा नयाँ दुईवटा मेशिन थपिएका छन् । अहिले अस्पतालमा ६ वटा मेशिन सप्रेको र दुईवटा मेशिन बिग्रेको गरी आठ वटा मेशिन छन् ।अस्पतालमा रहेको डायलासिसि युनिट इन्चार्ज डाक्टर पारस श्रेष्ठका अनुसार अब यहाँ चारवटा मेशिन जडान गरिने छन् । जसमा तीनवटा नियमित चल्ने छन । एउटा कोभिडका लागि स्टक राखिने भएको छ । तर, कोभिडका लागि भने अस्पतालमा ल्याइएका करिब ४० लाख मुल्यका दुईवटा मेशिन अहिले पनि प्रयोगविहीन छन् । ती मेशिन जडान गरी प्रयोग गर्नेमा अस्पताल प्रशासन, व्यवस्थापन उदासिनै छ ।

डायलासिस युनिटमा दुईवटा मेशिन थपिएपछि अहिलेको तुलनामा दोब्बर विरामीले सहज रूपमा उपचार पाउने डाक्टर श्रेष्ठ बताउछन् । अहिले सञ्चालनमा रहेका दुईवटा मेशिनबाट हप्तामा १२ जना किड्नीका विरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् ।उनकाअनुसार अब दुईवटा मेशिन थपिएको खण्डमा थप १२ जनाले नभए एउटा मेशिन स्टकमा राखेर तीनवटा मेशिनबाट हप्तामा नियमित १८ जनासम्मलाई सहजैै डायलासिस सेवा प्रदान गर्न सकिन्छ । मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरु भेरी अस्पतालमा पालो नपाएर नीजि अस्पतालमा महँगो रकम तिरेर उपचार र डायलासिस गर्न बाध्य छन् ।

दरबन्दीका डाक्टर अभाव

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको भने उक्त युनिटमा अभाव छ । मेसिन मर्मत गरेर साथै नयाँ थप गरेर अस्पतालमा २४ सै घण्टा डायलिसिस सेवा शुरू गर्नुपर्ने मिर्गौला पीडितहरुको माग छ ।

मेसिनको अभावमा राज्यले निःशुल्क उपलब्ध गराएको डायलिसिस सेवा लिन पालो कुरेका बिरामी थप पीडित बनेका छन् । हेमोडायलिसिस युनिटमा उपचारका लागि डायलिसिस मेसिन, दक्ष जनशक्ति र आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डाक्टर श्रेष्ठले बताए ।डायलासिस युनिटमा दरबन्दीअनुसार डाक्टर र कर्मचारी माग गरिएपनि अस्पतालले अहिलेसम्म यस बारे कुनै प्रक्रिया दिएको छैन् । यस युनिटमा सहित करिब आधा बढी चिकित्सकको दरबन्दी अभाव रहेको छ । अहिले २३ जना विरामी डायलिसिसका लागि पालो कुरेर बसेको श्रेष्ठ बताउँछन् ।

सुधारको प्रयास भैरहेको छ स् मेसु थापा

डायलासिस सेवा विस्तारसँगै अस्पतालको समग्र सधुारका लागि प्रयास भैरहेको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् । उनकाअनुसार पाँचवटा शव अट्ने फ्रिज सञ्चालन, फोहरको सेक्रिकेसन र अटो क्ल्याप गरि अस्पतालको फोहर ब्यबस्थापनलगायतका योजना पनि अघि बढाइएको छ ।

तर, डाक्टर वीरेन्द्रबहादुर चन्द निमित्त अस्पताल प्रमुख हुँदा शुरू भएको डायलासिस सेवाको क्षमता विस्तार अस्पताल व्यवस्थापन र प्रशासनको उदासिनताले अहिलेसम्म पनि हुन सकेको थिएन ।

कर्मचारीको मनोपोली कायमै

भेरी अस्पतालमा दरबन्दी र कर्तव्य अनुसार कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । सबैभन्दा पहिला कर्मचारीको व्यवस्थापन गर्न आबश्यक देखिएको छ । यो क ाम नगरेसम्म यहाँको कुनै पनि काम पारदर्शी, मितव्ययी र योजनाअनुसारको सफलता प्राप्तीको सम्भावना कम देखिएको छ ।

यहाँ कार्यरत कर्मचारीलाई सबैभन्दा पहिला आआफनो दर्जा र तहअनुसार सोही अनुरूपको काममा लगाउँन जरूरी देखिएको भेरीमै कार्यरत कतिपय कर्मचारी बताउँछन् ।

यहाँ कार्यालय सहयोगीले दर्ताचलानी, पुजारीले स्टोर र कम्प्युटर अप्रेटरले प्रशासन तथा स्टोर हाँक्ने सम्मका काम भैरहेको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । ती कर्मचारीले भने ‘अस्पतालको सुधारका लागि बाहिरी रंगरोगन होइन पहिला कार्यालय भित्र कर्मचारीको हालिमुहाली र मनपरी नियन्त्रण गरिनुपर्छ ।’

उदासिन अस्पताल प्रशासन र व्यवस्थापन

अस्पतालमा कर्मचारी व्यव्स्थापनदेखि भएका स्रोत साधनको सहित सदुपयोग नहुँदा समेत यहाँको अस्पताल प्रशासन र व्यवस्थापन उदासिन छ । यसतर्फ अस्पताल व्यवस्थापन समितिको पनि ध्यान जान सकेको छैन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको पदाधिकारीको व्यवस्थापन पनि फितलो रहेको अस्पतालका कर्मचारी नै बताउँछन् ।

अस्पतालको समग्र विकास र सुधारका तथा प्रभावकारी सेवा विस्तारका लागि पहिला कर्मचारी व्यवस्थापन, भएका स्रोत साधनको सहि प्रयोग गर्न सक्नुपर्ने देखिएको छ ।ई सेतोखरी

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech