७ बैशाख २०८१, शुक्रबार

अलपत्र दुई अर्बको ‘खजुरा ग्रीन सिटी’

खजुरा समृद्धिका अवधारणा कागतमै सिमित, अधिकाशं योजना अधुरा

  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  खुबै चर्चामा आएको बाँकेको खजुरा गाउँपालिकाको ‘खजुरा ग्रीन सिटी’ खजुरा हरित शहर गुरुयोजना अलपत्र परेको छ । कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभावको निहुँमा गाउँपालिकाको उदासिनतासँगै उक्त बृहत महत्वकाक्षी योजना अलपत्र परेको हो ।

सन् २०२० देखि सो हरित खजुरा गुरुयोजना सञ्चालनका लागि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनबीच एक वर्षअघि सम्झौता भएको भन्दै गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले यसअघि पत्रकारलाई साक्षी राखेर योजना सार्वजनिक गरेका थिए ।

सम्झौताअघि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनका उच्चस्तरीय प्रतिनिधिले गरेको स्थलगत सर्वे, समुदायसँगको छलफलपछि नेपालको एकमात्र नगरोन्मुख सो गाउँपालिकालाई कार्यक्रमभित्र समेटिएको उनले बताएका थिए ।एक वर्षअघि उज्वेकस्तानमा भएको ग्रीन एकोनोमी कार्यक्रममा खजुरामा ‘हरित कृषि र हरित शहरीकरण’ का लागि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशन र गाउँपालिकाबीच सम्झौता भएको अध्यक्ष कक्षपतिले बताएका थिए ।

उक्त गुरुयोजना सञ्चालनका लागि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनले विकासमा चीनको युसी शहरले अपनाएको मोडल तय गरेको छ । सोही मोडललाई अन्तिम रुप दिन गत मार्च महिनामा चीनको बेइजिङमा तय गरिएको कार्यशाला कोभिड–१९ को विश्वव्यापी महामारीका कारण स्थगित भएपछि गुरुयोजनाको कार्यक्रम अघि बढन सकेको छैन ।

झण्डै दुई अर्बको उक्त गुरुयोजनाले मुख्यतयाः खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् । त्यससँगै वृक्षरोपण, कृषिको बजारीकरण, उन्नत् जातको बीउबीजनको उपलब्यता, विद्युतीकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योगलगायतका विषय पनि प्राथमिकतामा परेका छन् ।खजुरालाई १५ वर्षभित्र नमूना गाउँपालिकाका लागि सबै सूची मापन गर्न सकिने भन्दै त्यसका केही आधार रहेको र पाँच वर्षमा सबै आधार तय हुने अध्यक्ष कक्षपतिले खजुराबासीलाई आश्वासन दिदैं आएका छन् । तर, उनले गाउँपालिकाको नेतृत्व गर्ने अब करिब दुई बर्ष मात्रै बाँकी रहेको छ ।

खजुरा समृद्धिका लागि कृषि, ग्रामीण विकासका लागि महिला सशक्तीकरण, समाजिक समावेशीकरण र खजुरा, स्वस्थ नागरिक र खजुरा, खेलकूद र सृजनशीलता, विकासमा नागरिक सहभागिता, गुणस्तरीय तथा प्राविधिक शिक्षाका आधारहरु, आर्थिक विकासमा खजुरा, पूर्वाधार विकासमा खजुरा, ग्रीन सिटीको अवधारणा अघि सारिएपनि कतिपय योजना अहिले कागतमै सिमित देखिएका छन् । कतिपय अधुरा छन् । स्थानीयका अनुसार कतिपय बनेका योजना पनि गुणस्तरहीन देखिएका छन् । ई सेतोखरी

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech