१२ श्रावण २०८१, शनिबार

नगरको सुरक्षाकालागि सिसि क्यामेरा जडान गरिने
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेको कोहलपुर नगरभित्रका महत्वपूर्ण स्थानको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । कोहलपुरमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर नगरभित्रका मुख्य मुख्य क्षेत्रको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गर्ने निर्णय गरिएको हो ।

कोहलपुर नगरपालिका तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मेवारी क्षेत्रभित्र अपराधको रोकथाम, नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गरी सार्वजनिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी एवं मजबुद बनाउनका लागि आयोजित अन्र्तक्रियात्मक भेलाबाट सिसिटिभि जडानकालागि आवश्यक स्थानहरुको पहिचान समिति र सिसिटिभि जडान तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत भएको छ ।

सिसिटिभि जडान तथा व्यवस्थापन समितिको संयोजकमा कोहलपुर उद्योग वाणिज्य संघ, सदस्यहरुमा नेपाल पत्रकार महासंघ बाँके शाखा, कोहलपुर नगरपालिका, सुनचाँदी व्यवसायी संघ कोहलपुर, बैंकर्स क्लब कोहलपुर, यातायात कोहलपुर र ईलाका प्रहरी कार्यालय कोहलपुर रहेका छन् । त्यस्तै कोहलपुर नगरपालिका भित्र सिसिटिभि जडानको स्थान पहिचानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल पत्रकार महासंघ बाँके, उद्योग वाणिज्य संघ कोहलपुर, कोहलपुर नगरपालिका र वडा नं। ११ सहितको नेतृत्वमा समिति गठन भएको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन ।

कोहलपुर नगर भित्र हुने अपराधिक गतिविधिहरु नियन्त्रणका लागि विगतदेखि केहि स्थानहरुमा सिसिटिभि जडान कार्य सुरु गरिएको जानकारी दिँदै मेयर रावतले आवश्यक स्थानको पहिचान गरी नगरका अन्य स्थानहरुमा पनि सिसिटिभि जडान गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले पछिल्लो समय प्रविधिसँग अपराधिक गतिविधिहरु धेरै जोडिएका कारण रहेक ठाउँमा सिसिटिभि जडान अति आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले प्रविधिको प्रयोग गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउँदै कोहलपुरको शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै उनले व्यवसायि सुरक्षा र आम जनताको सुरक्षाका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीहरुलाई आर्थिक, भौतिक र अन्य विभिन्न प्रकारका सहयोग र सहकार्य गर्न संघ तयार रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता भानुभक्त भट्टराईले स्थानिय सरकारले आवश्यक बजेटको व्यवस्थापन गरी सिसिटिभि जडान कार्य तत्काल गर्नुपर्ने भन्दै जनताको सुरक्षामा स्थानिय सरकार जिम्मेवार हुन सुझाव समेत दिएका छन् । साथै उनले लागु पदार्थ नियन्त्रण गर्न स्थानिय सरकारले विशेष नीति लिन आवश्यक रहेको भन्दै कोहलपुर लागु पदार्थको केन्द्रका रुपमा स्थापित हुँदा अवस्था भयावह हुने बताएका छन् । एमाले बाँके अध्यक्ष अशोक कोइरालाले स्थानिय सरकार, प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, संघ सस्थाहरुको सामूहिक प्रयासले अपराध नियन्त्रण गर्न सकिने बताएका छन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले कोहलपुर क्षेत्रको शान्ति र सुरक्षा प्रहरीले आफ्नो नियन्त्रणमा राखिरहेको बताउँदै चोरी लगायत अन्य विभिन्न घटनाहरुको अनुसन्धान तथा नियन्त्रण गर्नका लागि प्रविधिको आवश्कता रहेको बताए । साथै उनले उद्योगि व्यवसायीहरुलाई आफ्नो घरसँगै सडकसम्मको दृश्य देखिने गरी सिसिटिभि जडान गर्न अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगि व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech