८ जेष्ठ २०८१, मंगलवार

‘भाइ कांग्रेस’ वा ‘भाइ एमाले’ नबन्दा कहाँ छ माधव नेपालको राजनीतिक स्पेस ?

टिप्पणी

  • सुशील पन्त

प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन गरेर ‘ड्यास माओवादी’ (नेकपा– माओवादी) घोषणा गर्न २०६९ साल असारमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महासचिव रामबहादुर थापाले भनेका थिए– ‘आजको रात देशीविदेशी प्रतिक्रियावादीले माओवादी फुटेको खुशियालीमा ह्विस्की फोर्नेछन्, तर खुशी नमनाए हुन्छ, जनयुद्धका उपलब्धि गुम्न दिइने छैन ।’

प्रचण्ड अवसरवाद र दक्षिणपन्थी भासमा फसेको भन्दै मोहन वैद्यको नेतृत्वमा बादल र विप्लवहरूले माओवादी विभाजन गरेका थिए ।

त्यो दिन कतिले ह्विस्की फोरे/फोरेनन् लेखाजोखा भएन । स्वयं रामबहादुर थापा त्यो दलमा धेरै समय टिकेनन् । प्रचण्डको नेतृत्वको माओवादीमा फर्केर केही वर्ष सत्ताको स्वाद चाखेपछि अहिले एमालेमा पाहुना लागेका छन् । बादलले ह्विस्कीको उदाहरण दिएको एक दशपछि गाउँदेखि शहरसम्मका भट्टीमा फेरि त्यस्तै राजनीतिक गफ शुरू भएका छन् ।

‘पावर ब्रोकर’देखि गाउँका गफाडी र बेरोजगारले स्तर अनुसारको ह्विस्की/रक्सी फोरेर गफ लडाइरहेका छन्– एमाले विभाजनलाई लिएर । चुनावमा कसको शक्ति कति हुन्छ थाहा छैन, तत्कालका लागि संसद्को सबैभन्दा ठूलो दल एमाले विभाजनको असर केन्द्रदेखि तलसम्म परेको छ ।

पटक–पटक सरकारको नेतृत्व गरेको र भविष्यमा फेरि सरकार सञ्चालन गर्ने सम्भावना बोकेको संसद्को सबैभन्दा ठूलो दल एमालेको विभाजनमा अन्य दलका नेताहरूले आफ्नो भविष्यको लेखाजोखा गरिरहेका छन् । चुनाव आउन डेढ वर्ष बाँकी नै छ, एमालेको विभाजनलाई आधार मानेर आगामी चुनावमा कसले कहाँ जित्छ र हार्छ भन्ने कोठे विश्लेषण शुरू भएका छन् । गफाडीहरूका लागि ह्विस्कीको सितन बनेको छ, दल विभाजन ।

भाइ कांग्रेस र भाइ एमाले !

नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छें माधव नेपालले नेतृत्व गरेको समयमा एमालेलाई भाइ कांग्रेस भनेर टिप्पणी गर्दथे । अर्का वामपन्थी नेता मोहनविक्रम सिंह पनि एमालेको चरित्र ‘कम्युनिस्ट’ भन्न नसुहाउने टिप्पणी गरिरहन्छन् । हुन त आफूलाई सच्चा कम्युनिस्ट भन्ने नेमकिपा र मसाल राष्ट्रिय राजनीतिमा कहीँ कतै छैनन् ।

लोकतान्त्रिक मूल्य मान्यताको कसीमा नेपाली कांग्रेस र नेकपा एमालेमा तात्विक भिन्नता छैन । विगतमा एकपटक एमालेको नाम फेर्ने बहस पनि भएको हो । अमेरिकी राजदूत पार्टी कार्यालयमा पुग्ने बेलामा मार्क्स र लेनिनका तस्वीर हटाइएका पनि हुन् । तर एमालेले अहिले पनि आफ्ना कार्यक्रममा ‘अब मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाइरहेको हुन्छ ।

सर्वहारा वर्गको उत्थानको एजेण्डा बोकेर कम्युनिस्ट पुच्छर जोडे पनि नेपालका कम्युनिस्ट पार्टीले आफ्नै वर्गउत्थान गरे, जनताको उत्थान भएन । कम्युनिस्ट पार्टीमा ‘कमरेड’ भन्न छाडेको, बरू ‘आई लभ यू’ भन्ने प्रचलन शुरु भएको भन्दै राम कार्कीले हालसालै संसद्मा व्यंग्य गरेका थिए ।

शहरका महंगा भिल्ला कब्जा गरेर, महंगा गाडीमा सवार भएर, विशाली जीवनशैली, शाही ठाँटबाँटका कारण कम्युनिस्ट नेताहरू अब  कम्युनिस्ट रहेनन् । श्रम गर्दैनन्, दलाली गर्छन् । तारे होटलमा केक काटेर जन्मदिन मनाउँछन् । तेस्रो पुस्ताले पनि यही नक्कल गरिरहेको छ । राजनीतिमा लाग्ने जो कोहीको उद्देश्य ‘तर मार्नु’ नै देखिएको छ । तर पनि सर्वहाराको मुक्तिको सपना बाँडेर उनीहरू कम्युनिस्ट नेता कहलिएका छन् ।

कहाँ छ माधव नेपालको राजनीतिक स्पेस ? 

उमेरले ७० औं वसन्त शुरु गर्ने बेलामा माधव नेपालले नयाँ दल खोलेका छन् । उनले अबको चुनावपछिको पाँच वर्ष सक्रिय राजनीति गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा बिहीवार गरेका छन् । विभाजन भएर बनेको दलले केही गर्न नसक्ने आरोपलाई चुनौती दिँदै नेपालले भनेका छन्– विगतमा गणतन्त्र स्थापना हुन असम्भव भन्नेले नै त्यस्तो आरोप लगाइरहेका हुन् ।

२०४६ सालको जनआन्दोलनमा सहभागी र २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कारण माधव नेपालले वामपन्थी लोकतान्त्रिक नेताको छवि बनाएका छन् । सामान्य जीवनशैली र सरल व्यवहारका कारण उनलाई आदर्श कम्युनिस्ट नेता मान्नेहरू पनि छन् । सामान्यतया आफ्नो साथ छाड्नेहरूप्रति नेपालका नेता अत्यन्तै अनुदार देखिन्छन् । आफ्नो साथ छाडेका नेताहरूप्रति नेता नेपाल बिहीवार अत्यन्त नरम रूपमा प्रस्तुत भए, कसैलाई गाली गरेनन् ।

नेकपा एमालेका कार्यकर्ताबाहेक अन्य दलका कार्यकर्ता र स्वतन्त्र व्यक्तिले पनि माधव नेपालको नयाँ राजनीतिक यात्राप्रति सहानुभूति दर्शाएको देखिन्छ, सामाजिक सञ्जालहरूमा । दुवैपटक भएका प्रतिनिधि सभा विघटनको सशक्त विरोध गरेर संसद् र संविधान जोगाउन नेतृत्वदायी भूमिका खेलेको भनेर उनको प्रशंसा भइरहेको छ ।

असाधारण नेतृत्व क्षमता भएका मदन भण्डारीको निधनपछि नेतृत्व लिएर एमालेलाई अहिलेको अवस्थामा पुर्‍याउन मुख्य भूमिका खेले पनि आजको दिनमा माधव नेपालसँग त्यो एजेण्डा र ऊर्जा छैन, नयाँ पार्टीलाई स्थापित गर्नका लागि ।

राजनीतिक एजेण्डाको हिसाबले माधव नेपालसँग आजको दिनमा रवीन्द्र मिश्रसँग जति पनि नहोला । बरु संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको माग अहिलेको बिकाउ राजनीतिक एजेण्डा हो, भलै यो माग स्थापित हुने सम्भावना अहिलेको शक्ति सन्तुलनमा सम्भव छैन । अहिलेको परिवर्तन र संविधानको एक जना हिस्सेदारका हैसियतले माधव नेपालले रवीन्द्र मिश्रका जस्ता बिकाउ एजेण्डा बोक्न सक्दैनन् ।

राजतन्त्रको पतन र गणतन्त्रको स्थापनासँगै नेपालमा बहुदलीय व्यवस्थाको स्थापनाका लागि संघर्ष गरेर स्थापित भएका राजनीतिक दलको उपादेयता सकिएको हो । स्थापित संगठनका कारण नेपाली कांग्रेस र एमालेले जेनतेन आफ्नो अस्तित्व बचाइरहेका छन् । बलियो र भरपर्दो संगठन नभएका कारण माओवादीले चुनाव जित्न कहिले कसको र कहिले कसको सहारा लिइरहेको छ ।

पूर्वपञ्चहरूको पार्टी राप्रपादेखि नेत्रविक्रम चन्द विप्लवको पार्टीले जनता आकर्षित गर्न र्‍याडिकल एजेण्डा बोकेका छन् । राजनीतिक एजेण्डाको हिसाबले माधव नेपालको पार्टी निकै कमजोर छ ।

लोकतन्त्र, विधिको शासन, मानव अधिकार र सामाजिक न्याय अहिले भएका दलले बोकेका पुराना एजेण्डा हुन् । त्यही एजेण्डा बोकेको पार्टी बन्ने भनेकै– भाइ कांग्रेस वा भाइ एमाले हो । आजको दिनमा देशमा भाइ कांग्रेस वा भाइ एमाले देशका लागि आवश्यक छैन । कांग्रेस र एमाले नै काफी छन् ।

देशमा धेरै कम्युनिस्ट पार्टी आवश्यक नहुने भन्दै तीन वर्ष अगाडि एमाले र माओवादी मिलेर नेकपा गठन भएको थियो । एमाले र माओवादीको तालमेललाई जनताले अनुमोदन गरिदिए । जनताले भारी बहुमत दिएपनि उनीहरू मिल्न सकेनन्, तीन वर्षमा नेकपा तीन टुक्रा बन्यो ।

माधव नेपालले पार्टीको नाममा यसपटक समाजवादी विशेषण जोडेका छन्, तर उनले कम्युनिस्ट सिद्धान्त छाड्न नसकिने बताएका छन् । नेकपा एमाले दक्षिणपन्थी भासमा फस्दै गएकाले क्रान्तिकारी धार बनाउनको लागि पार्टी पुनर्गठन गरेको नेपालले दाबी गरेका छन् । जतिसुकै आदर्शको कुरा गरेपनि अहिलेको महंगो र भड्काउ चुनाव जित्नु चानेचुने कुरा होइन ।

पटक–पटक चुनाव जितेका माधव नेपाल स्वयंले महसुश गरेको हुनुपर्छ, आदर्श र सिद्धान्तले चुनाव जित्ने जमाना गए ।

भविष्यमा प्रचण्ड र उपेन्द्र यादव सहितको समाजवादी पार्टी बनाउने रोडम्यापमा माधव नेपालले एमालेसँगको सम्बन्धविच्छेद गरेको पनि विश्लेषण भइरहेका छन् । र अर्काथरीको विश्लेषण चुनावअघि नै एमालेसँग पार्टी एकता हुन्छ भन्ने पनि छ ।

बिहीवारको पत्रकार सम्मेलनमा नेपालले मुखै फोरेर भने– एमालेमा केपी ओलीको थिचोमिचो र अन्यायमा परेका कार्यकर्ताहरू एक ठाउँमा जम्मा भएका हुन् । अर्थात ठूलो सैद्धान्तिक विवादले एमाले विभाजन भएको होइन । प्रचण्ड र उपेन्द्रसँग चुनावी तालमेल सजिलो होला तर एउटै पार्टी बनाउने कुरा त्यति सजिलो छैन ।

नारा र आश्वासनको हिसाबले पनि नेपालले पानीजहाज कार्यालय आवश्यक नरहेको तथा पूर्व–पश्चिम रेल बनाउन सम्भव नभएको आशयको अभिव्यक्ति दिए, बिहीवारको पत्रकार सम्मेलनमा । यहाँनेर नेता नेपाल चुकेका छन् ।

पूर्वपश्चिम रेलमार्ग बनाउने काम शुरू भइसकेको छ । नेपालमा नहुने र असम्भव नारा बेचेर चुनाव जित्ने प्रचलन स्थापित भइसकेको छ । तर, शुरू भइसकेको पूर्वपश्चिम रेलमार्ग आवश्यक छैन भन्ने कुरा विकासविरोधी जस्तो सुनिन्छ ।

रेल र पानी जहाजजस्ता जनतालाई आकर्षित गर्ने कुरा पनि नगर्ने र अर्को आकर्षक राजनीतिक नारा पनि नभएको अवस्थामा यसै वर्षको अन्तिममा हुने स्थानीय तहको चुनावमा माधव नेपालले के नारा लिएर भोट माग्न जालान्, कौतुहलताको विषय बनेको छ ।

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । यो लेख लोकान्तर बाट साभार गरिएको हो ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech