१४ जेष्ठ २०८१, सोमबार

नाकाका पहरेदार
  • न्युज मानसराेवर

बाँके।नेपालगन्ज उपमहानगरपालिका–१०, आदर्शनगरकी ४६ वर्षीया टीका शर्मा बाँकेको जमुनाह नाकास्थित जयसपुरको बुथमा बस्न थालेको १३ वर्ष भयो । सुर्खेत घर भएकी शर्मा यसअघि बर्दियाको एक निजी स्कुलकी शिक्षक थिइन् ।

सामाजिक क्रियाकलापमा रुचि भएकाले उनी २०६५ देखि साथी संस्थामा आबद्ध भएकी हुन् । १३ वर्षदेखि उनले नाका पार गर्ने महिलालाई सोधपुछ अनि परामर्श दिने काम गर्दै आएकी छन् । कतिको गाली खान्छिन् । दलालको तगारो बन्छिन् । उनको काम जति सरल लाग्छ, उत्ति नै चुनौतीपूर्ण छ । साथै, सुरक्षाका हिसाबले निकै संवेदनशील अनि जोखिमपूर्ण छ ।

मासिक पारिश्रमिक लिने भए पनि आफ्नो कामभन्दा बढी जिम्मेवारी भएको उनले बताइन् । ‘कोरोनाका बेला होस् या रातविरात नाकामा खटिनुपर्छ,’ उनले भनिन्, ‘एउटी युवतीलाई दलालको हातबाट उद्धार गर्न पाउँदा जुन आत्मसन्तुष्टि मिल्छ, त्यो भने भनिसाध्य छैन ।’ उनले दलालको लहलहमै लागेर नाका पार गर्दै गरेको अवस्थामा अहिलेसम्म हजारौं महिलालाई उद्धार गरेको बताइन् । ‘धेरैजसो २० वर्षमुनिका बालिका र किशोरी हुन्छन्,’ उनले भनिन्, ‘घरेलु हिंसामा परेका नै वैदेशिक रोजगारीका लागि दलालको प्राथमिकतामा पर्छन् ।’ जोखिमपूर्ण यात्रामा रहेका किशोरीलाई उद्धार मात्र होइन, उनी परामर्श पनि दिन्छिन् । ती महिलाको अवस्था अनि यात्रा गर्नर् ेकारण पनि खोतल्छिन् ।

केही महिनाअघि एक गर्भवतीलाई नाकाबाट उद्धार गर्दा एक महिनासम्म निद्रै नपरेको उनले सुनाइन् । ‘घरेलु हिंसामा परेकी ती महिला सात महिनाकी गर्भवती थिइन् । साथमा अढाइ वर्षको छोरा थियो तर सन्तानका लागि उनी जोखिम मोलेर विदेश जाँदै थिइन्,’ शर्माले भनिन्, ‘दलालले उनलाई बेच्ने योजनाका साथ लैजाँदै थिए । उनलाई नरोकेको भए उनीसँगै उनको पेटमा हुर्किरहेको बच्चाको अवस्था के हुन्थ्यो त्यो सम्झनाले आज पनि मन झस्किन्छ ।’

नाकामा रोकेका धेरै महिलाका आफ्नै किसिमका कहानी हुने उनले सुनाइन् । ‘कहिलेकाही तिनै कहानीले आफैंलाई डिप्रेसनमा लैजान्छ कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर, हामी आफैं कमजोर बन्न सक्दैनौ । बलियो आत्मबल बनाएर ती महिलालाई सम्झाएर घर फर्काउँछौं ।’ नेपालगन्ज उपमहानगरपालिका–९ स्थित बाँकेगाउँकी ५३ वर्षीया विमला श्रेष्ठको दैनिकी पनि शर्माको भन्दा फरक छैन । श्रेष्ठले नाकामा खटिएर छोरीचेलीलाई बेचिनबाट बचाउन थालेको ११ वर्ष भयो । यस अवधिमा उनले हजारौं छोरीचेलीलाई दलालको हातबाट बेचिनबाट रोक्दै घर फर्काएकी छन् । पञ्चायतकालमा अञ्चलाधीश कार्यालयमा करारमा कार्यरत उनको बहुदलपछि जागिर अवधि सकियो । तर, काम नगरी बस्न मनले दिएन । सामाजिक काममा रुचि भएकाले उनी सामाजिक संस्थामा जोडिइन् । २०५८ सालदेखि बाँकेस्थित साथी संस्थामा परामर्शकताको भूमिकामा रहेकी उनले धेरैका छोरीचेलीको इज्जत मात्र होइन, देशको इज्जत जोगाउन पाएकामा आत्मसन्तुष्टि मिलेको बताइन् ।

उनी शंका लागेकालाई नाका पार गर्न दिन्नन् । प्रहरीको समन्वयमा सोधपुछ गरेर मात्र नाका पार गर्ने अनुमति दिन्छिन् । जमुनाह नाकामा रहेको बुथमा ड्युटीमा खटिने उनी एकछिन पनि आँखा झिमिक्क गर्न पाउँदिनन् । ‘ड्युटी हाम्रा लागि काम मात्र होइन, जिम्मेवारी पनि हो,’ श्रेष्ठले भनिन्, ‘लोभमा अन्यायमा परेर दलालको हातबाट बेचिन् पुग्ने छोरीचेलीको उद्धार गर्न पाउनु कुनै धर्म गरेभन्दा कम छैन ।’ नाकामा २० वर्षमुनिका बालिका र किशोरीलाई देख्नेबित्तिकै उनी सोधपुछका लागि पुग्छिन् । ‘अनेकौं बहाना बनाएर दलालहरू छोरीचेलीलाई नाका पार गराउन खोज्छन्,’ उनले भनिन्, ‘कोही नजानेर कोही बुझेर पनि दलालको पछि लाग्छन् ।’

नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगरकी कमला थापा एक वर्षदेखि शान्ति पुनःस्थापना गृह बाँकेका लागि जानकी गाउँपालिकाको सिमानामा रहेको शिवपुर नाकामा ड्युटीमा खटिएकी छन् । किनमेलका लागि अनि घुम्न जाने बहानामा छोरीचेलीलाई नाका पार गराउने दलालहरू उनको नजरबाट जोगिन पाउँदैनन् । ‘जोखिमपूर्ण यात्रा गरिरहेकालाई नाकामा रोक्ने पैरवी गर्नु सहज छैन,’ उनले भनिन्, ‘तर, खाल्टोमा जान लागेका कसैका छोरी, पत्नीलाइ उद्धार गर्न पाउँदा निकै सन्तुष्टि मिल्छ ।’ ड्युटी समय निश्चित हुँदैन । केस आएपछि रातबिरात पनि प्रहरीको समन्वयमा महिलाको उद्धारका लागि नाकासम्म पुग्नुपर्छ ।

पूर्वशिक्षिका रहेकी थापालाई स्कुले जीवनभन्दा यो कामले समाजसँग नजिक पुर्‍याएको अनुभव छ । ‘आफ्नो पनि निकै क्षमता विकास भएको छ । प्रहरी प्रशासन धाउन र बोल्न सक्ने भएका छौं,’ थापाले भनिन्, ‘यसरी नाकामा बस्दा पक्राउ परेका दलालको डर र धम्की पनि सहनुपर्छ ।’ थापासँगै अर्घाखाँचीकी २२ वर्षीया यमुना खनाल पनि एक वर्षदेखि नाकाकै बुथमा रमाएकी छन् ।

स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले अरु जागिरभन्दा सामाजिक काम गर्नुपर्छ भन्ने मनसायले यो काम रोजेको बताइन् । ‘हामी सीधै दलालको निशानामा पर्ने हुनाले यो काममा चुनौती पनि उत्तिकै छ । सरल काम जसले पनि गर्न सक्छ,’ खनालले भनिन्, ‘चुनौतीपूर्ण काम गर्दा पाउने सन्तुष्टिको मजा नै बेग्लै हुन्छ ।’ शान्ति पुनःस्थापना केन्द्र बाँकेका सुपरभाइजर डोलमाया गुरुङले यसरी बुथमा बस्ने कर्मचारीलाई काम गर्ने क्रममा दुर्घटना वा मृत्यु भएको अवस्थामा संस्थाले बिमामार्फत ५ लाख रुपैयाँ दिने व्यवस्था गरेको बताइन् । ‘नाका र बुथको काम जोखिमपूर्ण छ,’ गुरुङले भनिन्, ‘त्यसैले विशेष व्यवस्था गरेका हौं ।’ इकान्तिपुर बाट साभार

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech