१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा सांसद मुडभरीको ‘मुभ’
  • न्युज मानसराेवर

बुटवल। प्रदेश सभाको पहिलो कार्यकालको उत्तराद्र्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सौभाग्यले निर्मला मुडभरी सांसद बनिन् । जसपा विवादले निर्मलालाई संसद प्रवेश गर्ने ढोका ‘ओपन’ भयो । उनै मुडभरीलाई सांसद बन्छु भन्ने समेत कल्पना थिएन ।

पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वले समानुपातिक सांसद कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त पदमा घरायसी कामकाजमै जीवनको ४८ वर्ष बिताएकी निर्मला ‘मुभ’ भएकी हुन् । रूपन्देहीको सियारी गाउँपालिका–५ छपियाकी मुडभरीलाई समानुपातिकतर्फ खस–आर्य समूहबाट पार्टीले सांसद चयन गरेको छ ।

उनी पार्टीमा सक्रिय राजनीति गरेको व्यक्ति भने होइनन् । भैरहवामा हार्डवेयर व्यवसाय गर्ने मुडभरी र उनका पति महादेव भट्टराईले तत्कालीन समाजवादी फोरम हुँदादेखि नै पार्टीमा योगदान पुर्‍याउँदै आएका थिए ।

समानुपातिकतर्फ मुडभरीको नाम तेस्रो नम्बरमा थियो । पहिलो बिन पन्तलाई पार्टीले सांसद सिफारिस गरे पनि उनी प्रदेशसभा सदस्यको रूपमा आइनन् । लामो समयपछि पार्टीले पन्तको ठाउँमा पाण्डेलाई पठायो । २ वर्षमै पाण्डे पनि पदमुक्त भएपछि पहाडकी चेलीले तराईबाट सांसद बन्ने अवसर पाइन् । यस्तो बेला आफूलाई सांसद पद ऐतिहासिक रूपमा आएको मुडभरीले बुझेकी छन् ।

‘घरमै घरायसी कामकाजमै थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवज्यूले फोन गरेर ल निर्मलाजी सांसद बन्नुभयो बधाई छ भन्नुभयो । म त धन्यवाद हजुर मात्र भने, अरू केही बोल्नै सकिनँ,’ निर्मलाले भनिन् ।

प्रदेश सभाको १ वर्ष बाँकी रहँदा सभा प्रवेश गरेकी निर्मलामा ‘केही गर्छु’ भन्ने उत्साह जागेको छ । ‘जीवन र राजनीति सोचेजस्तो नहुने रहेछ,’ निर्मला भन्छिन्, ‘अन्तिम समयमा मलाई कल्पना बाहिरको अवसर जुर्‍यो । यो अवसरको सही सदुपयोग गर्नेछु । समग्र रूपमा पछाडि परेका महिलाका समस्या सदनमा उठाउँदै समाधानका लागि जोडदार पहल गर्ने मेरो इच्छा/चाहना छ ।’

उनलाई अहिले बधाईको ओइरोसँगै सबै महिलाको मन जितेर सार्वभौम सदनमा आवाज उठाउन सुझाव पनि दिएका छन् ।

राजनीतिमा प्रवेश गरेकी निर्मलाले सांसद बनेसँगै अब सक्रिय राजनीतिमा लाग्ने अठोट समेत गरिसकेकी छन् । ‘म केही गर्न सक्छु भनेरै मलाई यो जिम्मेवारी दिइएको होला । हामी राजनीतिमै नलागे पनि घरमा राजनीति हावापानी चाहिँ थियो,’ संसदको यात्राबारे उनी भन्छिन्, ‘मलाई राजनीतिमा लाग्ने ढोका खुल्यो । गृहस्थीबाट अब सक्रिय राजनीतिमा लाग्छु ।’

राजनीति देशको मूल नीति भएकाले सुधार गर्नुपर्ने उनी बताउँछिन् । उनी पाल्पामा मध्यम परिवारमा जन्मिएकी हुन् । पाल्पाबाट उनको परिवार नवलपरासीको त्रिवेणी बसाइसराइँ गरेको थियो । त्रिवेणीबाट उनको विवाह छपियाका महादेवसँग भएको हो ।

तराईमा महिला र समाज धेरै पछाडि छ । क्षमता भएर पनि समाज र परिवारकै कारण महिलाहरू घरमै रूमल्लिएका छन् । अब कसरी हुन्छ महिलालाई अगाडि ल्याउन चाहन्छिन् मुडभरी ।

‘तराई/मधेश समुदायमा धेरै क्षमतावान् महिलाहरू पनि छन् । तिनीहरूलाई नेतृत्व तहमा ल्याउन आवाजविहीनहरूको आवाज बन्ने कोशिस गर्नेछु । यो मेरो श्रीमान्लाई सुनाएकी पनि छु । उहाँले पनि साथ दिन्छु भन्नुभएको छ,’ मुडभरीले भनिन् ।

राजनीतिमा खुट्टा तान्ने प्रवत्ति रहेको भन्दै त्यसतर्फ आफू चनाखो बन्ने उनी बताउँछिन् । संसदबारे धेरै कुराको ज्ञान नभएको भन्दै उनले काम गर्दै जाँदा सिक्दै पनि जाने बताइन् । देशमा हरेक दशकजसो परिवर्तनको संघर्षमा महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । राज्यका निकायमा महिला सहभागिता सुनिश्चित भएका छन् । यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

अहिले लुम्बिनी प्रदेशसभा मुडभरीसहित ८२ सदस्यीय छ । जसमध्ये ३२ जना महिला सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २, जसपा २ जना कारवाहीमा परेर पदमुक्त भए भने एमालेका २ सांसदले राजीनामा दिए । जसपाका ४ सांसदमध्ये ३ जना प्रदेश सरकारका मन्त्री छन् ।

पछिल्लो ४ महिना लुम्बिनीमा सत्ता परिवर्तन र जोगाउन भएका अनेक खेलहरूलाई उनले बुझ्न पाइनन् । सत्ताकै लागि पार्टीको ह्वीप विपरीत लाग्दा पार्टीका प्रत्यक्ष निर्वाचित रूपन्देहीका सन्तोषकुमार पाण्डेय र बाँकेका विजयबहादुर यादव र समानुपातिक सांसद पाण्डेले पद गुमाए ।

घरायसी कामधन्दादेखि सांसदसम्मको यात्रा तय गर्ने क्रममा उनले धेरै बाधा–अवरोध केही छिचोल्न परेन तर अन्य महिला भएकाले राजनीतिको भर्‍याङ उक्लिन निकै कठिन गरेको उनले सुनाइन् । घरपरिवारको जिम्मेवारीले थिचिँदा महिला राजनीतिमा खुलेर आउन नसक्ने गरेको उनले प्रत्यक्ष आफ्नै आँखाले देखेकी छन् ।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्द सूचीमध्येबाट मुडभरीलाई निर्वाचन आयोगको भदौ १० गतेको बैठकले रिक्त पदमा निर्वाचित गरेको थियो । उनले भदौ २३ गते प्रदेश सभामा शपथ समेत लिइसकेकी छन् ।

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech