१२ श्रावण २०८१, शनिबार

मुठभेड होइन, संसद् चलाउन संवाद गर
  • न्युज मानसराेवर

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपसी द्वन्द्वका कारण जनताको सार्वभौम थलो संसद् अवरुद्ध छ ।

भदौ २३ गते अधिवेशन शुरू भएकै दिनदेखि अवरोध खुलाउन ठोस प्रयास भएको देखिएको छैन ।

दुई दिनको अवधिमा बसेका प्रतिनिधि सभाका ६ वटा बैठकमा प्रमुख प्रतिपक्षी दलको नाराबाजी चलिरहेको छ ।

माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै आएको छ ।

पार्टीले गरेको १४ सांसद माथिको कारवाहीलाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।

यसअघि जसपाले कारवाही गरेका सरिता गिरी र माओवादीले कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह तथा गौरीशंकर चौधरीको कारवाहीको उदाहरण दिँदै एमालेले माधव नेपाल लगायतको कारवाही सदर हुनुपर्ने जिकिर गरिरहेको छ ।

एकातर्फ संसद् अवरुद्ध रहेको अवस्थामा सरकार र सभामुखले जवरजस्ती संसद्को कारवाही अगाडि बढाउन खोजेका छन् । सभामुखले जवरजस्ती गर्न खोज्दा बुधवार र शुक्रवार संसद्मा तनावपूर्ण अवस्था सिर्जना भयो ।

प्रतिपक्षी दल अनुपस्थित रहेको वा बहिस्कार गरेको अवस्थामा संसद् कार्यसूचीमा प्रवेश गर्न सक्दैन । तर, प्रतिपक्षी दलले वेलमा नाराबाजी गरिरहेको समयमा संसद्को बिजनेस अगाडि बढाइनु दुर्भाग्यपूर्ण हो । परन्तु संसदीय परम्परामा बुलडोजर लगाउने काम अहिले शुरू भएको होइन, केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा सरकारका समयमा नै यो गलत परम्पराको थालनी भएको थियो ।

‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको’ भन्ने मान्यता नेपालको संसदीय प्रणालीमा स्थापित छ । अर्थात्, सदन सञ्चालनमा प्रतिपक्षको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर शुक्रवार सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने बेला कार्यसूची बनाउने क्रममा पनि आफूहरूसँग परामर्श नगरिएको गुनासो प्रतिपक्षी दल एमालेको छ ।

अवरुद्ध संसद् सुचारु गर्न प्रतिपक्षीसँग संवाद गरेर सहमति खोज्नुको साटो सरकार र सभामुखले प्रतिपक्षीलाई दबाएर अगाडि बढ्ने कोशिश गर्नु गम्भीर गल्ती हुनेछ । प्रतिपक्षी सांसदलाई छल्नका लागि मार्सलको सहायता लिएर मन्त्री रोस्ट्रममा पुग्नुपर्ने गरी संसद् कति दिन चल्न सक्छ ? यसर्थ प्रतिपक्षी दलसँग संवाद गरेर मात्र सहमतिमा संसद् सञ्चालन गर्न जरुरी छ ।

सत्ता र प्रतिपक्षको मुठभेडले सार्वभौम संसद्लाई झनै अराजकतामा लैजाने खतरा कायम छ । यही टकराव उत्कर्षमा पुग्दा शुक्रवार एमालेकी एक सांसदले सभामुखको ‘टाउको फोर्न’ भन्दै माइक थुतेको स्वीकार गरेकी छन् । सभामुखलाई लक्षित गरेर माइक प्रहार गर्ने कोशिश गर्नु पनि आपत्तिजनक छ । संसद्लाई थप अराजकतामा जान नदिन पनि यथासक्य संवाद गरेर संसदको मुठभेड रोक्नैपर्छ ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech