काठमाडौं । बागबजारमा व्यवसाय गर्दै आएकी रामकुमारी श्रेष्ठले डेढ वर्ष पहिले आफ्नो अंशमा परेको जग्गा बिक्री गरिन् । जग्गा बिक्रीबाट १० लाख रुपैयाँ हात परेपछि उनले ऋण थपेर कतै घडेरी किन्ने योजना बनाइन् । १० लाख रुपैयाँले काठमाडौं उपत्यकामा राम्रो ठाउँमा जग्गा पाउन मुश्किल थियो ।
उनले तत्कालै जग्गा किन्न सकिनन् । अंश बेचेर आएको १० लाख रुपैयाँ उनीसँग छ भन्ने छिमेकी पसलेलाई पनि जानकारी थियो । २०७६ साल फागुनमा मोरङ उर्लाबारी–७ का अर्जुन खनालले पनि यो कुरा थाहा पाए । खनाल बागबजारमै रहेको मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाको सचिव थिए । उनकी श्रीमती चाहिं बागबजारमा व्यापार गर्थिन् ।
रामकुमारीका अनुसार, खनालले आफ्नो सहकारीबाट जग्गा किन्न जति पनि ऋण दिन सक्ने आश्वासन दिए । जग्गा बैना गर्दै गरौंला भन्दै उनले त्यो १० लाख रुपैयाँ सहकारीमा राख्न आग्रह गरे । सहकारीले तत्काल १३ प्रतिशत ब्याज दिने, ६ महीनापछि जग्गा किन्न सस्तो ब्याजदरमा ऋण पनि दिनसक्ने भनेपछि लोभिएर रामकुमारीले आफ्नो पैसा त्यो सहकारीमा राखिन् ।
तर, ६ महीनाका लागि भनेर पैसा राखेको डेढ वर्ष नाघिसक्यो । अहिलेसम्म उनले आफ्नो पैसा निकाल्न सकेकी छैनन् । जग्गा किन्ने योजना बनाएकी रामकुमारी अहिले सहकारी विभाग र प्रहरी कार्यालय धाउँदै हैरान छिन् ।
अहिले मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था पुरानो ठाउँबाट सरेको छ । घरबेटीको भाडा समेत तिर्न नसकेर भागेको सो सहकारीले अहिले डिल्लीबजारको एउटा घरमा साइनबोर्ड राखेको भेटियो ।
तर त्यहाँ संस्थाका कोही पदाधिकारी भेटिएनन् । खनालसँग पटक–पटक सम्पर्क गर्ने हाम्रो प्रयास पनि सफल भएन ।
रामकुमारीले काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी गरेकी छन् । विभागकी उपनिर्देशक विमला कोइरालाका अनुसार, मानापाथी विरुद्ध उनी जस्ता धेरैको उजुरी छ यहाँ ।
विभागले पटक–पटक सहकारीलाई सम्पर्क गर्ने प्रयास गरेको छ । ‘सहजै सम्पर्क हुन गाह्रो भयो, सम्पर्क पछि पनि समाधान गर्नेतर्फ संस्थाले सक्रियता देखाएको छैन’, उपनिर्देशक कोइराला भन्छिन् ।
पटक–पटक सम्पर्क प्रयास गर्दा पनि पैसा फिर्ता गराउन नसकेपछि विभागले पक्राउ गरी कारबाही गर्न महानगरीय प्रहरी परिसर, टेकूलाई २२ साउन २०७८ मा पत्राचार गरेको छ ।
आफैं पत्र बोकेर रामकुमारी प्रहरी कार्यालय टेकू पुगिन् । प्रहरीले नजिकको प्रहरी कार्यालयमा उजुरी दिंदा कारबाही प्रक्रिया सहज हुन्छ भनेर अनामनगरमा रहेको महानगरीय प्रहरी वृत्त, सिंहदरबार पठाएको छ ।
‘म त्यहाँ पुगेपछि पो छक्क परें, मभन्दा अघि नै मानापाथी सहकारीबाट ठगिएकाहरूको त ठूलो फाइल नै बनिसकेको रहेछ’, रामकुमारी भन्छिन् ।
यो प्रक्रिया चल्दै गर्दा पनि उनले पटक–पटक संस्थाका सचिव खनाललाई टेलिफोन सम्पर्क गरेकी थिइन् । रामकुमारीका भनाइमा, खनाल हत्तपत्त फोन उठाउँदैनन् । उठाइहाले भने ‘हामी मिलाउँदैछौं, तपाईंहरूको पैसा आउँछ’ मात्रै भन्छन् । तर कहिले आउने हो पत्तो छैन । अब एक महीना पर्खने र त्यतिबेलासम्म भएन भने मुद्दामा जाने तयारीमा छिन् रामकुमारी ।
महानगरपालिकाको सहकारी विभागमा मात्रै मानापाथी सहकारी विरुद्ध २० जनाले उजुरी गरेका छन् । गएको आर्थिक वर्ष मात्रै यो सहकारीले ९१ लाख २४ हजार १२२ रुपैयाँ सर्वसाधारणको बचत उठाएर बिल्लीबाठ पारेको उजुरी विवरणबाट देखिन्छ । ब्याजसमेत जोड्दा यो रकम झण्डै डेढ करोड रुपैयाँ हुन आउँछ ।
रामकुमारी श्रेष्ठको यो दृष्टान्तले भन्छ– सहकारीमा सदस्यहरूको बचत माथि हदैसम्मको ठगी छ ।
आफ्नो बचत झिक्न नपाएर डिल्लीबजारमा व्यवसाय गरिरहेकी सरस्वती कटुवाल दुई वर्षदेखि तनावमा छिन् । डिल्लीबजारमै रहेको अक्समोसिस बचत तथा ऋण सहकारी संस्थामा उनले दैनिक रूपमा रकम जम्मा गर्ने गरेकी थिइन् ।
सहकारीकी प्रतिनिधि हरेक दिन उनको पसलमा पुग्थिन् । दैनिक एक सय/दुई सय गर्दै उनले रकम जम्मा गर्दै गइन् । लगातार दुई वर्ष संस्थामा बचत गरिन् । गत वर्ष कोरोना संक्रमणको त्रास सँगै देशमा लकडाउन भयो ।
आम्दानीको स्रोत गुमेपछि पारिवारिक खर्च जुटाउन उनले आफूले राखेको रकम निकाल्न सहकारीमा सम्पर्क गरिन् । दुई वर्षसम्म जम्मा गरेको रकम एक लाख रुपैयाँ नाघिसकेको थियो ।
सहकारीले एकै पटक रकम नलान सुझाव दियो । थोर बहुत भए पनि लिन आउँछु भनेर उनले त्यहाँको कर्मचारीलाई टेलिफोन गरिन् । पहिले पहिले सहकारीका कर्मचारीले केही दिनपछि रकम दिने भने । तर समय वित्दै जाँदा थाहा भयो, सहकारीको कार्यालय नै सरिसकेछ ।
पछि उनले संस्थाको नयाँ कार्यालय पत्ता लगाइन् । तर सहकारीले पैसा दिएन । संस्थाका म्यानेजर मोबाइल अफ गरेर बसे । कोरोना महामारीको झमेला दुःख गरेर झेलिन्, छोरीको विवाह दुःख गरेर गरिन् तर अहिलेसम्म पनि उनले त्यो पैसा पाएकी छैनन् ।
काठमाडौंमा सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएकी एक महिलाले वर्षौंदेखि नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा आफनो कमाइ जम्मा गर्दै आएकी थिइन् । श्रीमान्ले छाडेपछि एक छोरीलाई हुर्काउँदै मकै पोलेर जीवन निर्वाह गर्दै आएकी उनी दैनिक थोरै–थोरै रकम जम्मा गर्थिन् । वर्षौंको उनको यो संघर्षले राम्रै पैसा जम्मा भयो, छोरी पनि हुर्किइन् ।
छोरी कलेज पढ्ने भएपछि उनलाई पैसा चाहियो । वर्षौं लगाएर जम्मा गरेको पैसा सावाँ–ब्याज गरेर ८ लाख रुपैयाँ नाघिसकेको थियो । त्यही पैसाले छोरी पनि पढाउने र जीविका पनि धान्ने सोचेर पैसा निकाल्न उनी एक दिन सहकारी संस्थामा पुगिन् ।
त्यहाँ पुग्दा थाहा भयो सहकारी त बन्द भइसकेछ । २४ करोड रुपैयाँ सर्वसाधारणको लिएर सहकारीका सञ्चालक नै फरार भएछन् । सहकारी विभाग बानेश्वरमा न्याय माग्न पटक–पटक धाए पनि उनले अहिलेसम्म पैसा फिर्ता पाउन सकेकी छैनन् ।
काठमाडौं, काँडाघारीमा रहेको जाल्पाश्वरी बचत तथा ऋण सहकारी संस्था घाटामा गयो । कतिले निक्षेप फिर्ता पाए, कतिले चाँडै फिर्ता पाउने म्याद मात्रै पाए । कारण थियो– संस्थाले जग्गा किन्यो र संस्थाका सञ्चालक समितिका सचिवका नाममा पास गर्यो ।
सहकारीको पैसाले किनेको जग्गा व्यक्तिका नाममा राख्नुको कारण थियो– नाफा कमाएर बेच्ने । संस्थाको नाममा राखे बिक्री गर्न समस्या हुने भन्दै सचिवका नाममा लालपुर्जा बनाइएको थियो । तर, सचिव बिरामी भए र थलिए । न जग्गा बिक्री भयो, न उनले जग्गा पास गरिदिए । संस्थाको पूँजी जग्गामा परेपछि संस्था पनि थलियो । निक्षेप राख्ने सर्वसाधारण समस्यामा परे ।
यो संस्थाको तत्कालीन कार्यसमिति विघटन भएर अहिले नयाँ कार्यसमिति बनेको छ । तर नियामक निकाय कागेश्वरी मनोहरा नगरपालिकाको सहकारी शाखामा पछिल्लो अवस्थाबारे अपडेट छैन । शाखाका प्रमुख मकरध्वज केसी समयमै अपडेट गराउन टेलिफोनबाट जानकारी गराएको बताउँछन् ।
एकै नगरमा ४४ करोड ठगीका उजुरी
काठमाडौं महानगरपालिकामा मात्रै गत आर्थिक वर्षमा सहकारी संस्थाबाट १४०० भन्दा धेरै पीडित बनेका छन् । उनीहरूले महानगरको सहकारी विभागमा उजुरी गरेका छन् । उनीहरूले ठगी भयो भनेको रकम सावाँ–ब्याज मात्रै ४४ करोड रुपैयाँ हाराहारी छ ।
यसमध्ये पनि शाखाको अग्रसरतामा केहीले न्याय पाएका छन् । तर धेरैले आफ्नो रकम अझै पाउन सकेका छैनन् । यसरी आफू ठगिएको भनेर २७ सहकारीका नाममा एक हजार ६१ जनाले उजुरी गरेका थिए ।
सहकारीले रकम नतिरेपछि ठगी मुद्दामा कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ । ठगी गर्नेको शीर्ष स्थानमा आनन्दनगर बचत तथा ऋण सहकारी संस्था छ । यो संस्थाले एक हजार ५४ जनाको १४ करोड ६० लाख ८६ हजार ९८७ रुपैयाँ ठगी गरेको देखिन्छ ।
न्यूरोडको ओम बटु बचत तथा ऋण सहकारी संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ सर्वसाधारणको रकम लिएर बेपत्ता भएको महानगरको अभिलेखमा देखिन्छ । न्यूरोडकै बिजनेश बचत तथा ऋण सहकारी संस्थाले २ करोड ५८ लाख ८० हजार रुपैयाँ लिएर बेपत्ता भएको छ ।
महानगरको सहकारी विभागकी उपनिर्देशक कोइराला कार्यालयमा उजुरीका चाङ नै रहेको बताउँछिन् । सहकारीका सञ्चालकहरू सामान्यतया तीन किसिमका हुने उनको अनुभव छ । कोही संस्थामा उजुरी परेपछि सम्पर्कमा आउँछन् । आफूहरूले पैसा तिर्न नसक्नुको कारण स्पष्ट बताउँछन् ।
केही चाहिं समय माग्छन्, त्यो समयमा नसके पुनः समय थप माग्छन् । यसरी समय माग्नेमा कोही साँच्चिकै इमानदार पनि हुन्छन् । तर कोही भने पैसा तिर्नका लागि केही समय माग्ने र त्यो समय पूरा भएपछि मोबाइल ‘स्विच अफ’ गर्ने खालका पनि हुन्छन् । तेस्रो प्रकारका सञ्चालकहरू निक्षेप संकलन गर्दादेखि नै गलत मनसायका हुने कोइराला बताउँछिन् ।
कोइरालाका अनुसार, उजुरी परिसकेपछि महानगरको विभागमा बोलाएर छलफल गर्ने र रकम फिर्ता दिन निर्देशन दिने गरिएको छ । तर कोही सम्पर्कमै नआउने र सम्पर्कमा आएकाहरूले पनि रकम फिर्ता गर्न नमाने आवश्यक कारबाहीका लागि महानगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा लेखी पठाउने गरेको छ ।