१२ श्रावण २०८१, शनिबार

अब बुटवलमा पनि बन्नेछ खुलामञ्च
  • न्युज मानसराेवर

बुटवल। वर्षेनी बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीव्र रुपमा मासिएका छन् । सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ ।

यस्तै अवस्थाको विश्लेषण गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएको छ । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । खुलामञ्चको प्रस्तावित करिब १४ विगाह क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ ।

बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो । जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।

यस्तो बन्ने छ बुटवल खुलामञ्च
करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकैपटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइने छ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ । मैदान प्रवेश र निकासका अलग अलग द्वार र आपत्कालीन द्वार बन्नेछन् ।

एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागामा आठवटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन् ।

खुलामञ्चको दक्षिणमा तिनाउ करिडोर रहने छ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहने छ । खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपूर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताइन् । उनले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र शौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताइन् ।

एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुलाक्षेत्रको चौर रहने छ भने त्यतिको संख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ ।
भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चारपाङ्ग्रे र करिब छ सय जति दुईपाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech