१२ श्रावण २०८१, शनिबार

बाघको आक्रमणपछि सुरक्षा
  • न्युज मानसराेवर

बाँके — राप्तीसोनारी–१ स्थित गाभरका बासिन्दा बाघसँग लुकामारी खेल्न बाध्य छन् । उनीहरूका गोठमा आएर बाघले बाख्रा, गाई, भैंसीलाई झम्टिरहन्छ । गएको आइतबार दिउँसो जंगलनजिकै पर्ने विद्यालयको प्रांगणमा चरिरहेका गाईलाई बाघले झम्टियो । स्थानीयले बाघसँग लडेर गाई जोगाए । त्यसै दिन बेलुका बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गयो । त्यसपछि बस्तीमा त्रास फैलिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया कुसुम सडक खण्डमा आइतबार ४५ वर्षीय स्थानीयको बाघको आक्रमणबाट मृत्यु भएको हो । हरेक दिन तर्साउँदै आएको बाघको नियन्त्रण बेलैमा हुन नसक्दा अकालमै मान्छेले ज्यान गुमाउनु परिरहेको स्थानीयले बताए । राप्तीसोनारी–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीका अनुसार वन्यजन्तु नजिकै बस्ने बस्तीमा सुरक्षाको व्यवस्था फितलो छ । एक सातादेखि बाघले बस्तीमै पसेर आक्रमण गरिरहेको कुरालाई सामान्य ढंगले लिइँदा मान्छेकै ज्यान गएको उनले सुनाए । ‘दुईवटा बाघले राजमार्गभन्दा सय मिटरभित्र गाभर बस्तीमा आएर मान्छेमाथि आक्रमण गर्‍यो,’ उनले भने, ‘ती व्यक्ति शौचालय गर्न खोला किनारमा पुगेका थिए ।’

अहिले बाँके राष्ट्रिय निकुञ्ज छेउछाउ पर्ने गाभर, कुसुम, सौरी गाउँका बासिन्दा बाघ आएर झम्टिने हो कि भन्ने डरले त्रसित छन् । मान्छे खाने बाघ मंगलबार पनि सडकमा देखिएको स्थानीयले बताए । बाघ दिनहुँजसो बस्तीमा देखिने हुँदा यहाँका स्थानीयलाई खुलेर दैनिकी चलाउन पनि मुस्किल छ । एक साताअघि गाभरकी ३७ वर्षीया कैशिला खत्री बाख्रा चराउन जंगल गएका बेला बाघले आक्रमण गर्‍यो । उनी जसोतसो ज्यान जोगाएर भागिन् । छिमेकमा बालबालिका छन् । उनीहरूलाई घर बाहिर निस्कन समेत गाह्रो भएको उनले सुनाइन् । ‘पटक–पटक बाघ बस्तीमा पसेर दुःख दिइरहेको कुरा निकुञ्जलाई जति नै सुनाए पनि सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘बाघले दुःख दिइरहेको छ भन्दा वास्ता गर्दैन, मान्छेको ज्यान गएपछि मात्रै सुरक्षाकर्मी ग्वारग्वार्ती आउँछन् ।’

निकुञ्जले बाघ नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ । बुधबार गाभर गाउँको छेउछाउ दुई हात्ती परिचालन गरिएको छ भने बस्तीको सुरक्षाका लागि सेना खटाइएको निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । हात्तीको सहयोगमा बाघ नियन्त्रण गर्ने जालो समेत तयार पारेको उनले सुनाए । ‘हात्तीको प्रयोगले बाघलाई गाउँतिर जान नदिने कोसिस भइरहेको छ,’ उनले भने, ‘मान्छे आएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ ।’ इकान्तिपुर

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech