१४ जेष्ठ २०८१, सोमबार

अटो पेन्टर दम्पती
  • न्युज मानसराेवर

बाँके। ‘म्याडम १ ल अब गन चलाउनूस् ।’ श्रीमान्ले ‘म्याडम’ भनी सम्बोधन गर्दा उषातानी सुवेदी खिस्स हाँस्छिन् । अनि एक किलो रंग भरिएको मेसिन गन चलाउन थाल्छिन् । उनको मिहिनेत देखेर श्रीमान् विक्रम शिशिर दंग पर्छन् ।

कोहलपुर नगरपालिका–१२ की उषा र विक्रमको अटो पेन्टर्स जोडीले यसरी नै हाँसखेल गर्दै ग्यारेज चलाएको छ । ग्यारेजमा श्रीमान् र श्रीमतीको सहकार्य देखेर छिमेकीले उनीहरूलाई अटो पेन्टर पार्टनर उपमा दिन थालेका छन् । विदेशमा १३ वर्षसम्म ड्राइभिङ पेसा गरेर स्वदेश फर्किएका विक्रमलाई अटो पेन्टिङ ९गाडीमा रंग लगाउने० काम गाह्रो छैन । तर, घरमा बालबच्चा हुर्काउँदै भान्सा सम्हालेकी उषालाई ग्यारेजमा खटिनु नौलो हो ।

उषा नयाँ सिकाइप्रति उत्साहित छन् । एक वर्ष पहिलेको कोरोना कहरमा उनले घरमै बसेर श्रीमान्सँगै चित्र कोर्न सिकिन् । क्यानभासमा भावना कोर्दाकोर्दै उनी चित्रकारको विद्यार्थी भएर चिनिन थालिन् । ‘चित्रले सोख पूरा गर्‍यो तर पेट पाल्न त व्यवसाय नै गर्नु पर्ने रहेछ,’ उषाले भनिन् ।

मेसिनरी काम गर्न पक्कै पनि सजिलो छैन । त्यसमाथि अटो पेन्ट ग्यारेजमा काम गर्नर् महिलाका लागि झनै मुस्किल छ । नयाँ, ठोकिएका, पल्टिएका, पुराना भएका गाडीको डेन्टिङ पेन्टिङ गर्न अहिले उषा र विक्रम दुवै खप्पिस भइसकेका छन् । पेसाले ड्राइभिङ सिकेका विक्रमले अटोपेन्ट काममा राम्रो सम्भावना देखे ।

त्यसैले पछिल्लो समय चित्रकलासँगै ग्यारेज सम्हाल्दै आएका छन् । ‘चित्रले नाम दियो, ग्यारेजले माम दिंदैछ,’ विक्रमले भने । १० वर्षदेखि अटो पेन्ट व्यवसायमा सक्रिय विक्रम अहिलेसम्म एक्लै थिए । ग्यारेजमा काम गर्ने जनशक्तिको सधैं अभाव हुन्थ्यो । भारतीय कामदार राख्नु पर्ने बाध्यता थियो । लकडाउनपछि तिनै कामदार पनि तलब दिन नसकेर फिर्ता भए ।

एक–दुई वटा गाडी पेन्टिङको जिम्मा आफैंले लिएर लकडाउनमा बाँचेका थिए । त्यतिबेला उषाले श्रीमान्लाई काममा सघाउनुपर्ने महसुस गरिन् । लकडाउनको सदुपयोग गर्दै ग्यारेजमा आएका थोत्रा गाडीमा रंग भर्ने काम सिक्न थालिन् । श्रीमान्कै अघिपछि गरेर गनमेसिन, ग्रेन्डर, पुटिन कटरजस्ता गाडी मर्मत गर्ने मेसिनरी सामान चलाउन सिकिन् । ग्रेन्डर चलाउँदा थोरै तलमाथि भयो भने हात काटिन्छ ।

मेसिनको भाइब्रेसनले हात झमझमाउँछ । उषाका कोमल औंला अब मेसिनसँग घुलमिल भइसकेका छन् । उनी विश्वस्त भएर गाडीको सजावट गर्न सिपालु छन् । तर, ग्राहकले भनेजस्तो गाडीको डिजाइन जस्ताको तस्तै उतार्न नसक्दा उनलाई खल्लो लाग्छ । अब उनी विक्रमबाट डिजाइन भर्ने कला पनि सिक्दै छन् ।

‘उहाँले डिजाइन गरिरहेको हेरिरहन्छु,’ उषाले भनिन्, ‘यति सिक्न पाए लगभग रंग भर्ने सबै काम जानिसक्छु ।’ उषाले ग्यारेज चलाउन थालेपछि विक्रमले धेरै मजदुर राख्नु परेको छैन । लगभग गाडीको ४० प्रतिशत मिहिनेत उषाले नै गर्छिन् । रंग बनाउने र अटो रंग हाल्ने जिम्मा उषाकै हुन्छ । ‘उनी ग्यारेजमा सँगै हुँदा समय कटेको पनि थाहै पाउँदिनँ, यति रमाइलो गरी बित्छ दिन,’ विक्रमले भने ।

अटोरंगका केही चुनौती पनि छन् । जसको तीतो भोगाइ विक्रमसँग छ । बाँकेमा अटोपार्टका सामान बेच्ने डिलर छैनन् । भारतबाट ल्याउँदा महंगो पर्छ र झन्झटिलो पनि उत्तिकै । काठमाडौंबाट सामान मगाउँदा झनै महंगो पर्छ । विक्रमका अनुसार श्रीमान्रश्रीमतीले दिनरात मिहिनेत गर्ने हो भने एउटै गाडीबाट डेढ लाख रुपैयाँसम्म कमाइ गर्न सकिन्छ । इकान्तिपुर

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech