२९ बैशाख २०८२, सोमबार

जब्दीघाट पुल पुनर्निर्माणमा ढिलाइ
  • न्युज मानसराेवर

बर्दिया — बर्दियाको बबई नदीस्थित जब्दीघाटमा निर्मित पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका स्थानीयले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ । पुल भासिएको चार वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको हो । पप्पु कन्स्ट्रक्सनले आठ वर्षअघि १६ करोड ६८ लाख रुपैयाँ सम्झौतामा पुल निर्माण सुरु गरेको थियो ।

पुल हस्तान्तरण नहुँदै २०७४ साउन २८ गते भासिएको हो । निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरेको पनि चार वर्ष पुग्न थाल्यो । सडक विभागका प्रवक्ता शिव नेपालले अदालतबाट सुनुवाइ नभएसम्म पुल पुनर्निर्माणमा केही गर्न नसक्ने बताए । विशेष अदालतले गत वर्ष पेसीमा चढाए पनि मुद्दाको सुनुवाइ हुन सकेन ।

अख्तियारले तत्कालीन डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुखसहित एक दर्जन बढी कर्मचारी, कन्सलटेन्ट, निर्माण व्यवसायीविरुद्ध मुद्दा दायर गरेको थियो । प्रवक्ता नेपालले जब्दीघाटको पुलमा डिजाइनका कारण क्षति नभएको बताए । ‘मुलुकका अन्य निर्माणाधीन पुल पनि भासिएका छन् । जब्दीघाटको पुल भासिनुमा डिजाइनको गल्ती छैन,’ उनले भने ।

पप्पु कन्स्ट्रक्सनले चैत मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । ४ सय ३५ मिटर लामो उक्त पुलमा १७ वटा स्परमध्ये पूर्वतिरका ६ वटा पिलरबाट बबईको पानी बगेको छ । ‘निर्माणका क्रममा एउटा पिलर ढल्केको र ‘पायल पञ्च’ भएको पाइएको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले पुल भासिएपछि विकास निर्माणदेखि सदरमुकाम आउजाउमा समस्या भएको बताए । सदरमुकाम पुग्न पूर्व–पश्चिम राजमार्गको वैदी हुँदै जानु पर्दा खर्च र समय बढी लाग्ने गरेको उनले जनाए ।

पुल निर्माण भए सदरमुकामको दूरी १२ किलोमिटर पर्छ । बारबर्दियाको मगरागाडी हुँदै घुमाउरो बाटोबाट गुलरिया पुग्न करिब ४० किमि लाग्छ । गुलरियाका प्रमुख मुक्तिनाथ यादवले सरकारको उदासीनताले पुल पुनर्निर्माणमा ढिलासुस्ती भएको बताए । निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेलले जब्दीघाटमा पुल निर्माण नहुँदा विकासमा असर पर्नुका साथै यातायात सम्पर्क विच्छेद भएको बताए । डिभिजन सडक कार्यालयका प्रमुख होमबहादुर केसीले निर्माण कम्पनीले कहिलेकाहीं प्राविधिक पठाउने गरे पनि निर्माण नथालेको बताए ।इकान्तिपुर

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech