७ जेष्ठ २०८२, मंगलवार

जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् । एमालेसँग विचार र भिजनको कमी नभएको उनको भनाइ थियो ।

ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले देश विकासको भिजन दिएकोले जनतामा जानका लागि प्रशस्त आधार रहेको बताएका हुन् ।

‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनावमा जाने भन्दैछन्,’ ओलीले भने, ‘जनताको पक्षमा असाधारण काम भएका छन् । यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ ।’

ओलीले सरकारमा छँदा असाधारण काम गरेको र देश विकासको भिजन दिएको दाबी गरे । ‘हामीसँग भिजन छ, नेपालमा पहिलो पटक विकासको व्यापक चर्चा गर्ने काम हामीले गरेका छौं । राष्ट्रियतासम्बन्धी भिजन छ, लोकतन्त्रको उन्नत भिजन छ । हामीसँग भिजन र दृष्टिकोण छ,’ ओलीले भने ।

ओलीले केन्द्रीय कमिटी महाधिवेशनपछिको सर्वोच्च निकाय भएकोले सदस्यहरूले उठाएका विषयलाई सम्बोधन गर्ने बताए ।

‘तपाईंहरूको धारणाअनुसार नै प्रतिवेदन जान्छ । केही कुरामा वैचारिक विषयमा प्रश्न, पार्टीले लिनुपर्ने वैचारिक प्रश्नबारे प्रशिक्षण कक्षा सञ्चालन गर्नका लागि पार्टी स्कुल छ । अहिले महाधिवेशन बाहेक अरू कुरामा ध्यान दिँदैनौँ,’ ओलीले भने ।

असोज १५ देखि शुरू हुने विधान महाधिवेशनमा लैजाने प्रतिवेदन पारित गरेर केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी छ ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech