१२ श्रावण २०८१, शनिबार

चढाउन थालियो बागेश्वरी मन्दिरमा ‘बलि’
  • न्युज मानसराेवर

बाँके। हिन्दुहरुको महानपर्व बडादसैँ भित्रिएसँगै पश्चिम नेपालका प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन सुरु गरिएको छ । मन्दिरका कार्यालय प्रमुख राजु केसीका अनुसार आज(बिहीबार) बिहान नवदुर्गा पुजाको सुरुवात पश्चात मन्दिरका तर्फबाट बोकाको एउटा बलि चढाइएको थियो । देवी देवतालाई पशुपंक्षीको भोग दिइनुलाई बलि भन्ने प्रचलन छ ।

‘बडादसैँको पहिलो दिन आज बिहान मन्दिरमा पुजा गरियो, पुजाको सुरुवात भइसकेपछि मन्दिरको तर्फबाट एउटा बलि पनि चढाइयो, त्यसपछि सर्बसाधारणले पनि बलि चढाउन सुरु गर्नु भयो,’ प्रमुख केसीले दूरसञ्चार डटकमसँग भने ‘यो हाम्रो परम्परादेखी चल्दै आएको कुरा हो ।’ पहिलो दिन भएकाले छिटपुट रुपमा सर्बसाधारणहरु बोका लिएर बलि चढाउन आएका छन् ।

उनले भने, ‘आज पहिलो दिन भएर पनि होला मान्छेहरु छिटपुट रुपमा आएर बलि चढाएका छन्, खासमा बढी भिडभाड त पञ्चमी/षष्टीबाट हुन्छ ।’ बलि दिने कार्य एकादशी र औसीको दिन बाहेक अन्य समयमा चलिरहने केसीले बताए । बलि चढाउनका लागि बाँके लगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट ठुलो संख्यामा सर्बसाधारण आउँछन् । बलि चढाएर उनीहरु भाकल पनि गरेर फर्किन्छन् ।

अहिले पनि कोरोना महामारी पूर्ण रुपले नियन्त्रणमा आएको छैन । यसले गर्दा यसपटक पनि अपेक्षा गरेको भन्दा कम मात्रामा बलि चढ्न सक्ने मन्दिर ब्यवस्थापन पक्षको अनुमान छ ।

गतवर्ष पनि कोरोना महामारीका कारण कम मात्रा बलि चढाइएको थियो । यसवर्ष पुजापाठ गर्नका लागि विगत तीन दिनदेखी मात्र मन्दिर पूर्ण रुपले खुला गरिएको छ । यसअघि सर्बसाधारणहरु बाहिरैबाट मन्दिर दर्शन गरेर फर्किने गरेका थिए ।

दसैँ अवधिभर मन्दिर परिसरमा रहेको यज्ञशाालामा नवदुर्गा पुजापाठ सुरु हुने कार्यालय प्रमुख केसीले सुनाए । ‘भोलीबाट नवदुर्गाको पुजापाठ सुरु हुन्छ, नजिकै रहेको यज्ञशालामा पाठ सुरु गरिनेछ,’ उनले थपे ।  दसैँको सप्तमीका दिन विशेष रुपले फुलपाती भित्र्याइनेछ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech