१२ श्रावण २०८१, शनिबार

उमेर ८०–९० वर्ष काटेका वृद्धवृद्धाको सम्झनामा त्यो बेलाको दशैं
  • न्युज मानसराेवर

उमेरले १ दशक छुन लागेकी गंगामाया प्रधानलाई नयाँ पुस्ताले दशैंको महत्त्व बिर्संदै गएकोमा दुःख छ । ९४ वसन्त बाँचिसकेकी उनी आफ्नो पालाको दशैं बेलाबखत नातिनातिनीलाई सुनाउँछिन् । पुस्तान्तर भए पनि यसको महत्त्व नमरोस् भन्ने उनको आशय छ ।

शारीरिक रूपमा कमजोर भए पनि बोलीचालीमा गंगामाया टाठी छन् । पोखरा महानगरपालिका–८ सिमलचौरस्थित उनको निवासमा लोकान्तरसँगको कुराकानीमा उनले आफ्नो पालाको दशैंलाई खुब स्मरण गर्ने प्रयास गरिन् ।

‘नवदुर्गाभरि गंगाजी (सेती नदी) नुहाएर मन्दिरमा पूजाआजा गर्न जान्थ्यौं,’ उनी विगतमा फर्किइन्, ‘अहिलेजस्तो घर थिएनन् । भएका घर पनि खरको छानाका हुन्थे । सबै घरका दाजुभाइहरू मिलेर अष्टमीमा राँगो काट्ने चलन थियो ।’

काठमाडौंमा जन्मे हुर्केकी उनी १५ वर्षको उमेरमै विवाहपछि पोखरा आएकी रहिछन् ।  उनका अनुसार दशैंमा पाँचै दिनसम्म टीका चलाउने चलन पहिलेदेखि नै हो । त्यो अहिलेसम्म पनि नेवार समुदायमा कायमै छ । तीमध्ये दशमीको दिन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । नजिकका दाजुभाइ मान्यजनकहाँ टीका थाप्न जान्थे भने टाढाटाढाबाट आउनेहरू पूर्णिमाका दिनसम्म पनि टीकाजमरा थाप्ने गरेको गंगामायाले बताइन् ।

घरमा मीठामीठा परिकार बनाउने प्रचलन थियो । पिङ छ्याप्छ्याप्ती देखिन्थे । अहिले पिङ संस्कृति हराउँदै गएको उनको भनाइ छ ।

‘४ वटा बाँस गाडेर पिङ हाल्ने चलन थियो,’ उनले भनिन्, ‘पिङ घरघरमै हुन्थ्यो । वर्षदिनमा १ पटक भए पनि जमिन छेड्नुपर्छ भनिएकाले पिङ खेल्ने चलन आएको हो ।’

अहिलेजस्तो मोबाइल थिएन । अहिले धेरै कुराको विकास भयो । त्यस समयको दशैंको महत्त्व निकै छ । अहिले मानिसले दशैंको खास महत्त्व भुलेर आफू अनुकूल व्याख्या गर्ने गरेको भन्दै गंगामायाले चिन्ता व्यक्त गरिन् ।

पोखरा महानगरपालिका–७ जनप्रियमार्गका डम्बरबहादुर केसी ९२ वर्षका भए । उनी कान कम सुन्छन् । शारीरिक रूपमा कमजोर भएकाले यताउता लैजान छोराबुहारीको सहयोग लिनुपर्छ । यसरी ओछ्यानमै थलिएको ८ वर्ष बितेको बुहारी मैयाँ केसीले बताइन् ।

दशैंतिहार लगायत ठूला चाडपर्व आउँदा बूढापाकासँग मनाउँदा नयाँ पुस्ता पनि खुशी हुने गरेको केसी परिवारको भनाइ छ ।

लोकान्तरसँगको कुराकानीमा डम्बरबहादुरले बडादशैंको दशमीको दिनमा जस्तो टीका पूर्णिमासम्मै लगाउने प्रचलन रहेको बताए । आफूहरूको दाजुभाइ खलक धेरै भएकाले धेरैजना मानिसहरू टीका लगाउन हुल बाँधेरै मान्यजनकहाँ पुग्ने गर्दथे । छुटेकाहरू दशैंको भोलिपल्टदेखि पूर्णिमासम्म क्रमशः घरघरमा जाने गर्दथे ।

दशैंको दिन खसी काट्नुपर्छ भन्ने प्रचलन थियो । यो प्रचलन मरेको छैन । त्यसबेला नै पोखरेलीहरूले च्याङ्ग्राको मासु खुबै खाने गर्दथे । पोखरामा बसोबास गर्नेहरूले हिमाली जिल्लामा मात्र पाइने च्याङ्ग्राको मासु खाँदा शरीरका रोग पनि हराउने र निरोगी हुन्छन् भन्ने विश्वास थियो । च्याङ्ग्रा नभए एउटा न एउटा खसी पालेरै राखिने हुँदा मासु प्रशस्त हुन्थ्यो ।

हरिबहादुर थापाले ८० वर्ष हाराहारी पुगे । लमजुङको राइनासका थापा अहिले पोखरा वृद्धाश्रममा आश्रित छन् । उनी यहाँ आएको ८ वर्ष बित्यो । अहिले वृद्धाश्रममा आश्रितहरूसँगै दशैं मनाउने गरेका थापाले आफू सानो छँदा दशैं निकै रमाइलो हुने गरेको स्मरण गरे ।

‘दशैं कहिले आउने होला भनी १ महिनादेखि नै औंला भाँचेर बस्थ्यौं,’ उनले भने, ‘नयाँ–नयाँ कपडा लगाउने, मीठामीठा परिकार खाने, टीकाजमरा लगाउने, बाटोघाटो सरसफाइ गर्ने, घर लिपपोत गर्ने चलन थियो ।’

विदेशमा भएका मानिसहरू पनि दशैंको लागि भनेर फर्किने गर्दथे । कार्यालय तथा स्कूलतिर पनि लामो छुट्टि हुने भएकाले सबै जनासँग एकैपटक भेटघाट हुने गर्दथ्यो । दुःखसुखको अवसर थियो । अहिलेको दशैं धेरै फेरिएको छ । समयको प्रभाव पनि होला ।’

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech