७ जेष्ठ २०८१, सोमबार

अस्पतालमा भेटिएका ती दुःखी आमाहरु
  • डा. स्वेच्छा अधिकारी

सोचेकी थिइनँ, अस्पताल पुग्ने बित्तिकै मेरो अगाडी एक्कासी यस्तो भयावह स्थिति आउँछ भनेर।

हर्ष र उत्साहका साथ झरनामा रमाउँदै, धित मरुञ्जेल फोटो खिच्दै र मन सन्तुष्ट हुने गरी रमाइलो गर्दै करिब डेढ घण्टाको यात्रापछि म दोलखा अस्पतालको प्राङ्गणमा पुगेको थिएँ। यात्राका क्रममा देखिएका झरनाको मनमोहक दृश्य र खोला–नालाका आवाज मेरो मस्तिष्कमा ताजै थिए।

तर, अस्पताल पुग्नेबित्तिकै मेरो मनस्थिति बदलियो।

इमर्जेन्सी अगाडि रुवावासी थियो। एउटी आमा ‘मेरो छोरा, बाबु फिर्ता आऊ’ भन्दै छाती पिट्दै थिइन्। वरिपरि उनलाई सम्झाउनेहरुको ठूलै भिड थियो। सायद परिवारका अन्य सदस्य थिए। अस्पतालका सबै कर्मचारी इमर्जेन्सीमै थिए।

‘के भएको हो?’ भनेर मैले कसैलाई सोध्ने आँट गरिनँ। बिस्तारै पर्दाले घेरेको बेडतिर पुगेँ। जीवनसँग हार खाएको करिब १२ वर्ष जस्तो लाग्ने बच्चा लडिरहेको थियो। सोधपुछ गर्दा थाहा भयो, आमाले एक झापड हानेको निहुँमा आमाकै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरको रहेछ।

त्यति कलिलो उमेरमा आफ्ना कोपिलाजस्ता फक्रँदै गरेका सपनालाई चुँडेर, अनि आफ्ना आमाबाबुलाई जीवनभरीलाई पुग्ने मृत्युसरी पश्चातापको पीडा दिएर उसले जीवन समाप्त पारेछ। त्यो नमीठो दृष्यपश्चात् मेरा पाइलालाई अघि बढ्ने साहस बटुल्न निकै गाह्रो भइसकेको थियो।

पढाइ र पेसाले नै सायद हाम्रो मुटुलाई ढुङ्गामा परिणत गरेको हुन्छ। त्यसैले त अरुको होस नै हराउने परिस्थितिमा पनि हामी आँशुलाई घुटुक्क निलेर, पीडा र त्रासलाई आफ्ना नयनमा लुकाएर बिरामीको सेवामा उत्रन्छौँ। त्यो दिन मेरा लागि एउटा परीक्षा समान थियो। आफ्नो निडरताको परीक्षा। आफ्नो शक्तिको परीक्षा।

भावविह्वल गराउने त्यस दृष्यलाई छाडेर म अघि बढेँ। अर्को बेड नजिक मेरा सिनियर, जुनियर तथा अन्य स्वास्थ्यकर्मी जम्मा थिए। धेरै साहस बटुलेर मैले आफ्ना आँखाका पर्दा उघारेर हेरेँ।

पीडाले छटपटाइरहेकी आठ दिनकी कलिली शिशु।

उनको श्वासप्रश्वास यति छिटो चल्दै थियो कि, मानौँ निभ्नुअगाडि दियोको बत्ती दन्किएर बल्दैछ। उनका कोखा यति बेस्सरी हान्दै थिए कि, कुनै पम्पले उनको फोक्सोको हावा फुक्ने र छोड्ने गर्दै छ जस्तै लाग्ने। अनि, नाकमुख यसरी थरर… काम्दै थिए कि, मानौँ उनका सामुन्ने कालदेवता प्रकट भएर उनलाई पुकार्दै थिए। अक्सिजनको पाइप उनका नाकमा लगाइसकिएको थियो। तर यस्तो लाग्दै थियो, उनको फोक्सोले त्यसलाई प्राप्त गर्न सकिरहेको छैन।

यस्तै विचार र भावनामा म एकछिन टोलाउन पुगेँ। अनि केही सेकेन्डमै झस्किएर वास्तविक संसारमा पुनः प्रवेश गर्दै उनलाई जाँच्न तम्सिएँ। जाँच्ने क्रममा उनका दुई नेत्रले मलाई आफू जिन्दगीसँगको खेलमा जन्मिने बित्तिकै हार खाएको बताउँदै थिए।

आफ्नो आँखा बन्द गरेर ‘आफ्नो क्षमता र विवेकअनुसार बिरामीहरुको हितका लागि म सदैव अगाडि बढ्ने छु’ भनेर लिएको ‘हिप्योक्रेटिक’ शपथलाई सम्झिएँ। छोटो सामूहिक सल्लाहपछि ती बालिकाका मातापितालाई उनको स्वास्थ्यको जटिलताबारे बुझाएर मञ्जुरीनामा पश्चात् वार्डमा भर्ना गर्‍यौंँ।

शहरी क्षेत्रबाट अलि टाढा बनाइएको अस्पताल भएका कारण हामी एकछिन अन्योलमा पनि थियौँ, ‘कतै हामीले उनलाई भर्ना गरेर गल्ती त गरिरहेका छैनौँ?’

‘‘अहँ’, हाम्रो अन्तरआत्माले भन्दै थियो। त्यति नाजुक अवस्थामा यदि हामीले बालिकालाई अर्को अस्पताल रिफर गरेर पठायौँ भने सायद त्यसको आधा घण्टामा उनको जीवनको त्यान्द्रो चुँडिन्थ्यो। त्यसैले रातभरिमा बच्चाको स्थितिमा सुधार ल्याएर ठूलो अस्पताल पठाउनै परे पनि भोलिपल्ट बिहान मात्र पठाउने सोच बनायौँ। त्यसबेला रातको साढे ११ बज्दै थियो।

बालिकालाई वार्डमा भर्ना त गरियो, तर शरीरमा घट्दो क्रममा रहेको अक्सिजनको मात्रालाई जति नै बाहिरबाट अक्सिजन दिए पनि रोक्न सकेनोँ। अन्ततः एनआईसीयूको ढोका खोलेर उनलाई भित्र राखियो। ‘इमर्जेन्सी इन्टुबेसन’ गरेर भेन्टिलेटरमा उनलाई जोडियो। मुटुको चाल घटबड भइरहेको र ब्लडप्रेसर एकदम थोरै भएका कारण प्रेसर बढाउने चारैथरी दबाई दिन हामी बाध्य भयौँ।

रगतको जाँच गर्दा उनमा सेतो रगत (प्लेटिलेट्स) को एकदम कमी देखियो। यति थोरै कि उनको शरीरको कुनै पनि अङ्गबाट कुनै पनि बेला रगत बग्न सक्थ्यो। टाउकोको भिडियो एक्सरे गरेर हेर्दा अलिअलि रगत बगेको देख्न त थालिसकिएको थियो।

नाकबाट पेटसम्म पुग्ने गरी हालिएको फिडिङ पाइपमा पनि रगत देखिन थाल्यो। भोलिपल्ट बिहानको सूर्योदयसम्म उनको जीवन अस्त हुने देखेर हाम्रो आशा मर्न थालेको थियो। रातको ३ बजेसम्म उनका लागि त्यस बखत गर्नुपर्ने र गर्न सकिने उपचारका सबै काम गरेर हामी आफ्नो क्वार्टरतिर लाग्यौँ।

दुई घण्टापछि भर्खर आँखा के लाग्न थालेको थियो, त्यही बेला फोनको घन्टी बज्यो। सिस्टरको फोन रहेछ। उनी भन्दै थिइन्, ‘डाक्टर स्याचुरेसन कम देखाइराखेको छ।’

छिटो–छिटो हिँडे पनि पाँच मिनेट लाग्ने र अस्पताल आउँदा उकालो पर्ने बाटो थियो। हामी दौडिँदै स्याँस्याँ गर्दै अस्पताल पुग्यौँ। भेन्टिलेटरले आफ्नो काम गरिरहेको थियो। उनको फोक्सोसम्म अक्सिजन भने पुग्न पाएको थिएन। त्यसको कारण ‘इन्डोट्रेकियल ट्युब’को टुप्पामा रगतको ढिक्का बसेर बन्द भएको रहेछ। त्यसैले हामीले पुनः इन्टुबेसन गर्‍यौँ। अरु औषधिहरु पनि मिलायौँ। अनि सिस्टर र मेडिकल अफिसरको जिम्मेवारीमा क्वार्टरतर्फ लाग्यौँ।

बिहान ८ बजेसम्ममा बालिकाको स्थितिमा हल्का सुधार देखियो। श्वास रहुञ्जेल आश भनेजस्तै हामीले पनि उपचारलाई अगाडि बढायौँ। त्यसबेला हाम्रो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका रगतहरु ठूलो अस्पतालबाट मगायौँ। साँझसम्म बालिकालाई दिएपछि उनको स्वास्थ्यस्थिति सुधारको बाटोतिर मोडिएको जानकारी उनका अभिभावकलाई पनि दियौँ। हामी सबै खुसी थियौँ।

त्यस रात आनन्दमय बित्नेछ भन्ने कुरामा हामी कसैलाई संकोच थिएन। तर, हामी गलत थियौँ। रातको ४ बजे बालिकाको मुटुको चाल तथा शरीरमा अक्सिजनको मात्रा घट्दै गएको खबर आयो। हामी दौडिँदै एनआईसीयू पुग्यौँ। सीपीआर सुरु गरियो। मुटुको चाल बढाउने औषधिहरु पनि दिइयो। तर, उनको आँखाको नानी फुलिसकेको थियो। हातगोडा चिसो भइसकेको थियो। शरीर दह्रो भइसकेको थियो। तसर्थः उनको आत्माले देह त्याग गरिसकेको थियो।

गर्भमा जन्म लिएदेखि नै हरेक शिशुको स्वास्थ्य अधिकार हुन्छ। यदि शिशुलाई गर्भदेखि उनीहरुको अधिकार दिन सकिँदैन भने कसैलाई पनि आमाबाबु हुने अधिकार छैन।

२७ वर्षीया आमाको पहिलो गर्भबाट जन्मिएकी सन्तान थिइन्, ती बालिका। जन्म लिने बित्तिकै रगतमा संक्रमण देखिएका कारण जन्मिएकै अस्पतालमा भर्ना गरेर राखिएको थियो। भर्ना गरिएको छैटौँ दिनमा जन्मेलगत्तै गरिने रीति रिवाज र धार्मिक क्रियाकलापका लागि चिकित्सकको सल्लाह विपरीत अभिभावकको अनुरोधमा डिस्चार्ज गरेर घर लगिएको रहेछ।

त्यति मात्र नभई उनलाई पूजाको लागि पवित्र बनाउने बहानामा पानीमा मज्जाले नुहाइदिइएको रहेछ। राम्रोसँग सञ्चो नभइकन घर लगिएकी उनलाई नातागोताले बोक्ने र खेलाउने गरेका थिए। जस कारण उनी झन् ठूलो संक्रमणको शिकार बन्न पुगिछन्। अनि, आठौँ दिनमा उनलाई अस्पताल ल्याइएको रहेछ।

त्यस्तो व्यवहारबारे हामीले प्रश्न गर्दा बालिकाकी आमाले आँखाभरी आँशु पार्दै भनिन्, ‘मैले त नुहाउन हुन्न होला, बच्चालाई आराम दिनुपर्छ होला भन्दै थिएँ, तर घरका बुज्रुकहरुको अगाडि मेरो के लाग्छ र?’

बच्चालाई जाँच्ने क्रममा पहिलो रातमै हामीले थाहा पाएका थियौं कि उनलाई ‘डाउन्स सिन्ड्रोम’ भन्ने समस्या थियो। जस कारण शरीरको बनावटमा अनेक भिन्नता हुनुका साथै रोगसँग लड्ने क्षमतामा पनि सामान्य बालिबालिकाको भन्दा कम हुन्छ।

यो कुरा थाहा पाउने बित्तिकै हामीलाई उपचारको सफलातामाथि शंका उत्पन्न भइसकेको थियो। गर्भमै हुँदा राम्रोसँग उपचार लिएको भए, दक्ष चिकित्सकसँग सरसल्लाह लिएको भए सायद ती बालिकाका आमाबाबुलाई पनि यो कुरा पहिले नै जानकारी हुने थियो। जन्मपश्चात पनि सावधानी अपनाउन सजिलो हुने थियो।

यस घटनाले हाम्रो समाजको परम्परागत अन्धविश्वास र अज्ञानताको स्तरलाई नजिकबाट देखाउँछ। गर्भमा बच्चा बसेको थाहा भएपछि दक्ष चिकित्सकहरुबाट सल्लाह नलिइनु, गर्भमा रहेको शिशुको शारीरिक बनावट ठीक छ कि छैन भनेर पाँचदेखि ६ महिनामा गरिनुपर्ने भिडियो एक्सरे नगराइनु, जन्मेपछि रगतमा संक्रमण देखिएर उपचारार्थ रहेको बच्चालाई धार्मिक क्रियाकलापको नाममा घर लगिनु र त्यसमा पनि स्नान गराइनु। कति अज्ञान छ हाम्रो समाज!

हामीले जतिनै सम्झाइ बुझाई गरे पनि पहिलो गर्भको सन्तान काखमा नहुनु आमाको लागि कति पीडादायी हुन्छ, त्यो कसैले बुझ्न सक्दैन। त्यसमा पनि निर्दोष गर्भलाई नै दोष दिइने डर उनको आँखामा टिलपिल गर्दै थिए।

ती महिलाले आँखाभरी आशु बनाउँदै हामीलाई प्रश्न गरिन्, ‘डाक्टरसाब मेरो कोख नै खराब त हैन नि है? अर्को बच्चा पनि यस्तै हुन्छ त डाक्टरसाब? मबाट ठूलो गल्ती भयो हैँ!’

अनि, मैले उनको हात समातेर सान्त्वना दिँदै भने, ‘बच्चालाई डाउन्स सिन्ड्रोम हुनुमा तपाईको केही गल्ती छैन। अगाडि नै अस्पतालमा नियमित गर्भको जाँच गराउन आउनुभएको भए धेरै सावधानी अपनाउन सकिन्थ्यो।अब अर्को गर्भमा सुरुबाटै आफ्नो र आफ्नो शिशुको स्वास्थ्यलाई सामाजिक रीतिरिवाज, आफन्तको दबाब र घरका कामकाजभन्दा बढी प्राथमिकता दिनु होला।’

उनको अनुहार उज्यालिएको थिएन। त्यै पनि अन्तमा मैले मुस्काएर भने, ‘अब नआत्तिनुहोस्, तपाईको गर्भ स्वच्छ छ, दूषित छैन।’ तर, उनको अनुहारमा अझै पश्चाताप थियो। डा. अधिकारी धुलिखेल अस्पताल काभ्रेमा एमडी रेसिडेन्ट (बाल रोग) हुन्। नेपाल लाइभ 

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech