१२ श्रावण २०८१, शनिबार

मीठो छैन ‘दिवा खाजा’
  • न्युज मानसराेवर

बाँके\कचौरामा लिटो थापेर मन्जु गुप्ताले चाखिन् । तर, उनलाई स्वादिलो लागेन । लिटो भुइँमा फालेर उनले आफ्नै लबजमा भनिन्, ‘हलुवा मे नमक नही हैं ।’

नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ७ वर्षीया मन्जुलाई विद्यालयको खाजा मन पर्दैन । उनीजस्तै थुप्रै बालबालिकाले दिवा खाजा स्वादिलो नहुँदा घरबाटै ल्याउने गर्छन् । उनीहरू चटपटे स्वादको खाजा खान मन पराउँछन् । तर, लिटोमा न नुन हुन्छ, न त चिनी ।

मन्जुकी साथी पुल्की यादवले स्कुलको खाजा मन नपराएपछि घरबाटै लिएर आउँछिन् । आँपको अचार र गहुँको रोटी ल्याएकी उनले लिटो खाँदा स्वाद नआउने सुनाइन् । कक्षा १ मा पढ्ने हमनकुमार भुजुवालाई गुलियो मिठो लाग्छ । तर, लिटोमा गुलियो कम भएपछि उनी बल्लतल्ल खान्छन् । मन नपरे पनि भोकै पर्ने भएकाले त्यही लिटोले भए पनि पेट भर्छन् ।

पालिकाले दसैंअगाडि नै दिवा खाजाको व्यवस्था सुरु गरेको हो । खाजा दिन थालेपछि विद्यालयमा विद्यार्थीको उपस्थित बढेको छ । एकातिर खाजाले विद्यार्थी तानेको खुसी छ भने अर्कोतिर खाजाको स्वाद मन नपराउँदा उल्टै घट्ने चिन्ता पनि छ । खाजाको स्वाद विद्यार्थी अनुकूल नभएपछि धेरैले खान छोडेको भान्से रामकुमार रैदासले बताए । ‘केटाकेटीले सर्वोत्तम पिठोको लिटो खासै मन पराएनन्,’ उनले भने ।

आदर्श माविमा ५ सय २५ जना विद्यार्थी छन् । खाजा दिन थालेपछि विद्यार्थीको उपस्थिति बढेको प्रधानाध्यापक त्रिलोकीनाथ मौर्यले बताए । असोज १७ गतेदेखि खाजा कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाले टेन्डर नखुलाएपछि स्कुलले कम्पनीसँग सम्झौता गरेर खाजा खुवाउन थालेको हो । ‘कम्पनीले खाजा ल्याइदिन्छ,’ मौर्यले भने, ‘पालिकाले विद्यालयको कोषमा पठाएको पैसा कम्पनीलाई दिन्छौं ।’

पछिल्लो समय खाजाको स्वाद विद्यार्थीले नरुचाएपछि परिकार फेर्नुपर्ने बाध्यता आएको उनले बताए । खास गरी तराई क्षेत्रमा बस्ने समुदायले अलि तिखो स्वादको खाजा खान मन पराउँछन् । समुदायको आ–आफ्नै स्वाद पनि हुन्छ । ‘नुनिलो र गुलियो नहुँदा आधा खाजा खेर जान्छ,’ उनले भने, ‘विद्यार्थीले खाजा फाल्दा मन दुख्छ ।’

बजेट अनुसारको खाजा खुवाउनु पर्ने बाध्यता छ । पालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार नरैनापुरमा खाजा कार्यक्रम सुरु भएपछि १५ प्रतिशत धेरै विद्यार्थी स्कुल आउन थालेका छन् । सुरुको कार्यक्रम भएकाले यसको प्रभाव कस्तो हुने हो, बुझ्न बाँकी रहेको उनले बताए ।

मिठा दलिया, नमकिन दलिया र हलुवा गरी विद्यालयमा तीन किसिमको खाजा खुवाइन्छ । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा दिइन्छ । पौष्टिक आहारसँगै स्वादमा समेत ख्याल गरेर खाजा बनाउन सके बालबालिकाको मन जित्न सकिने यहाँका शिक्षकको अनुभव छ । बाल विकास केन्द्रकी सुष्मा यावदले स–साना बालबालिकालाई खाजा खुवाउन धेरै मिहिनेत गर्नु पर्ने बताइन् । लिटो स्वादिष्ट नभएको गुनासो गर्दै केटाकेटी भोकै घर फर्किने गरेको उनले सुनाइन् । ‘स्वाद फेर्ने खालको खाजा भए बालबालिका रमाउँथे,’ उनले भनिन्, ‘एउटै खाले खाजाले पनि दिक्क मान्छन् ।’ बरु फलफूलको व्यवस्था गरिदिएको भए राम्रो हुने उनले सुनाइन् ।

पालिकामा २६ वटा मदरसा, २१ वटा सामुदायिक र ३ वटा निजी विद्यालय सञ्चालित छन् । जसमध्ये २० वटा विद्यालयमा प्रविधिको पहुँच विस्तार गरिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नरैनापुरमा विगतभन्दा विद्यार्थीको संख्या बढ्दै गएको दाबी गरे । दिवा खाजाले थप उत्साह थपेको उनले बताए । ‘खाजालाई सदुपयोग गरी विद्यार्थी विद्यालयसम्म पुर्‍याउन प्रयास गरिरहेका छौं,’ उनले भने, ‘पौष्टिक आहारसँगै स्वाद अनुकूल खाजा व्यवस्थापन गर्नु पनि हाम्रो जिम्मेवारी हो ।’

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech