११ श्रावण २०८१, शुक्रबार

थारु समुदायले (डेवारी) तिहार कसरी मनाउँछन् ?

तिहारको महत्व के छ ?

  • न्युज मानसराेवर

बाँके\थारु समुदायले विहीवार आफ्ना कुल देवताको पूजा गरि यस बर्षको दीपावली मनाउँदै छन् । थारु समुदायले लक्ष्मी पूजाको विहान आफ्ना कुल देवतालाई ढिक्री चढाउँछन् । र, पिण्ड दिएर पितृलाई सम्झिन्छन् । यसलाई थारु समुदायले ‘डेवारी’ भन्दछन् ।

कुनै–कुनै थरका थारुले दसैँमा नै दीपावलीको ढिक्री चढाउने चलन छ । दसैँ र दीपावलीमा ढिक्री र पिण्ड दिन नसक्नेहरुले माघे सक्रान्ति अघि दीपावलीको पूजा गर्दछन् । लक्ष्मी पूजाका दिन दहित थरका थारुले तोरन तान्दछन् । घरको आगनमा बाँस गाड्छन् । बाँसमा डोरी बाँधेर घरसम्म लगिन्छ । डोरीमा आँप, बेल लगायतको पात राखेर तोरन बनाइन्छ । यसलाई थारु समुदायले झण्डा गाड्ने भन्दछन् ।

लक्ष्मी पूजाको विहान गाईलाई पिरो खुवाउने गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिकको रुपमा मानेर पूजा गर्ने चलन थारु समुदायमा विद्यमान
छ ।लक्ष्मी पूजाको बेलुकी ढिक्री लुटाउने गरिन्छ । ढिक्रीमा दियो बालेर कन्या केटीहरुले ढिक्री लुट्ने र घरकी महिलाले ढिक्री लुटाउँछन् । कन्या केटी वीच ढिक्री लुट्ने प्रतिस्पर्धा हुन्छ । जसले धेरै ढिक्री लुट्छ त्यो बलबान मानिन्छ ।

थारु समुदायमा भाई टीका लगाउने प्रचलन नभए पनि पछिल्लो समय अरु समुदायको देखासिखी गरि भाई टीका लगाउने क्रम बढ्दो छ । अहिले प्रायःजसो घरमा भाई टीका लगाउने चलन चलेको थारु सँस्कृतिका जानकार सुशील चौधरी बताउँछन् । उनले भने, ‘भाई टीका थारु समुदायको संस्कृति होइन, तर पछिल्लो समय भाई टीका नलगाउने सायदै होलान ।’ अन्य जाति र समुदायले दीपावलीलाई भब्य रुपमा मनाए पनि थारु समुदायले खासै महत्वका साथ मनाउँदैनन् ।

गाई तिहारमा कुल देवताको पूजा आरधना गरे पनि कुकुर, काग, गोरु तिहार भाई टीकालाई महत्व नदिने गरेको चौधरीले बताए ।
यो समुदायमा देउसी, भैलो खेल्ने चलन पनि बढ्दै गएको छ । तिहारमा छोक्रा र महोट्या नाच नाचिए पनि पछिल्लो समय थारु समुदायका युवायुवतीले देउसी, भैलो खेल्न थालेका छन् । घर–घरमा गएर देउसी, भैलो खेल्ने क्रम बढेको उनले बताए ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech