१२ श्रावण २०८१, शनिबार

तिहारमा पनि फक्रिएनन् फूल
  • न्युज मानसराेवर

बाँके\ तिहार नआउँदै कोहलपुरमा घर आगनमा सयपत्री ढकमक्क फूलेका थिए। तर कतिपय स्थानमा तिहार सकिनै लाग्दा पनि फूलमा लागेका कोपिलाले फक्रिएनन् । जसले गर्दा फूल किसानहरू तिहारमा फूल बिक्री गर्न नपाएकोमा चिन्तित देखिन्छन् ।

तिहारअघि नै केही फूल फूलेर ओइलिसके । तर समयमै बिक्री गर्न नपाउँदा कोहलपुरकी विष्णु चौधरी चिन्तित देखिएकी छन् । साउन २६ गते नै लगाएको फूल अझै कोपिलामै रहँदा उनी निराश बनेकी हुन् ।

‘फूल लागिसकेको छैन । तिहार सकिन लाग्यो’ उनले भनिन्, ‘८० प्रतिशत फूलमा कोपिला छन् । तिहारपछि फूल्ने भयो ।’ विष्णुले २०७५ सालबाट फूल खेती सुरु गरेकी हुन् ।

‘सुरुमा लगाएका फूल छिटो फूल्यो । केही फूल पानीले खाइदियो । अहिले नेपालभर फूल छैन । छिमेकी जिल्ला बुटवल, सुर्खेत, दाङमा पनि फूल छैनन् ’ उनले भनिन् ।

७ कट्टामा लगाएको उनको फूलखेतीबाट ८ क्विन्टल फूल उत्पादन हुन्छ । तैपनि तिहारकै बेलामा फूल नफक्रिँदा फूल किसानहरू निराश देखिएका हुन् । विष्णुले भने भाडाको जग्गामा वार्षिक ४० हजार तिरेर खेती गरेकी छन्। मासिक तलब दिएर एक जना कामदारसमेत राखेकी छन् ।

‘अरु बेला गोडमेल गर्दा अरु कामदारहरू बोलाउँछु । एउटै सिजनमा राम्रोसँग फूल्यो भने ८० हजार फाइदा हुन्छ । तर यसरी तिहारको बेला पनि फूल नफक्रिँदा मर्का पर्‍यो,’ उनले भनिन् ।

विष्णुका अनुसार प्रतिमाला १५० र प्रतिकेजी फूललाई ५०० रुपयाँ पर्छ । तर यो तिहारमा धेरैजसो फूल नफक्रिँदा तीन हजार माला बेच्ने लक्ष्य रहे पनि पूरा हुन नसकेको गुनासो विष्णुको छ । जवकि गत वर्ष दुइ हजार माला बेचेकी थिइन् ।

  • १९ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech