१४ जेष्ठ २०८१, सोमबार

माछा किसान बनेका पूर्व एसएसपी मोहनराज, जसले आईजीपीलाई ‘गोली ठोक्छु’सम्म भने

अवकाशपछिको कर्म

  • न्युज मानसराेवर

धनगढी\जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित पुरैनामा कृषि कर्ममा जमेर लागेका छन् उनी । छोरा दिनेश जोशीसँगै उनी कृषि कर्ममा कम्मर कसेर लागेका हुन् ।

पूर्व एसएसपी जोशीले भने, ‘खासगरी छोराले कृषि फर्म शुरू गरौं भनेपछि शुरू गरेका हौं । मेरो पनि मन परेको व्यवसाय हो । हामी बुवाछोरा मात्रै होइन, हाम्रो पूरै परिवार नै यसमा लागेको छ । अवकाशपछिको मेरो बाँकी जीवन अब किसानी हो ।’

उनी कृषि कर्मलाई सन्तुष्टिको व्यवसाय बताउँछन् । जीवनमा निकै उतारचढाव सहन गरेका उनी कृषि क्षेत्रलाई फस्टाउन नसकेको तर सम्भावनाको क्षेत्र ठान्छन् र सन्तुष्ट छन् ।

ऊर्जावान समय प्रहरी सेवामै खर्चिएका उनको ३० वर्ष निकै नै संघर्ष र चुनौतीमय थियो । कैलाली जिल्लाको प्रहरी प्रमुखसहित विभिन्न जिल्लाको कमाण्ड सम्हालेका उनी विद्रोही, निडर तथा खरो स्वभावका प्रहरी अधिकारी थिए । त्यसैकारण सबैको आँखाको कसिंगर बन्न पुग्थे उनी र संगठन भित्रको बेथितिको शिकार हुन पुग्थे ।

जन्मथलो बैतडीमा शिक्षण पेशाबाट आफ्नो जागिरे जीवन शुरू गरेका जोशी शिक्षण पेशा छाडेर ज्यालादारी रूपमा कर्मचारी सञ्चय कोष काठमाडौंमा जागिर खान पुगे । त्यहाँ काममा सुनिश्चित नभएपछि उनी काठमाडौंकै त्रिपुरेश्वरमा भेटनरी जेटीएको जागिर खान पुगे ।

‘कामसँगै जनकपुरमा आईस्सी एजी पढ्न गएँ । ६ महिना पढिसकेपछि त्रिभुवन विश्वविद्यालयको परीक्षामा पास भएँ । ५ वर्ष त्यसैमा कार्यरत रहें । त्यसैक्रममा २७ महिना कञ्चनपुरको बेलौरी र गड्डाचौकीमा पनि कार्यरत थिएँ,’ उनी सम्झिन्छन् ।

२०४३ सालताका स्नातक उत्तीर्ण भएपछि प्रहरी निरीक्षकको पदमा भर्ना खुलेपछि उनी तयारीमा थाले । उनले भने, ‘भेटनरी जेटीएमै कार्यरत रहँदा इन्सपेक्टरको तयारीमा जुटें । बिहान–बिहान दौड्न शुरू गरें । शारीरिक अभ्यास गरिरहँदा साथीहरूले सोध्दा जागिरको तयारी नभई शारीरिक तन्दुरुस्तीको लागि अभ्यास गरिरहेको बताउँथें । पछि नाम निस्किसकेपछि मात्रै सबैकुरा बताएको थिएँ ।’

प्रहरी संगठनमा रहँदा आफूले कहिल्यै पनि कसैलाई ठग्न र कसैको बिगार्न नजानेको उनी दाबी गर्छन् । उनले आफ्नो अनुभूति सुनाउँदै भने, ‘यहाँ २ वटा कुरा गर्नुपर्ने रहेछ, कि बेस्सरी पैसा खाने कि सय रुपैयाँ पाएपछि २० रुपैयाँ आफू लिने र ८० रुपैयाँ बाँडिदिनुपर्ने रहेछ । ठूला–ठूला हाकिमहरूलाई घाँस हाल्दिएपछि त्यो अफिसर ठीक रैछ है भन्दा रैछन् तर आफू पनि नखाएपछि अरुलाई पनि खुवाउनुभएन । अनि त्यो नालायक काम लाग्दैन भन्दा रहैछन् । त्यसैमा आफू पनि परियो । कम्तीमा डीआईजी (प्रहरी नायब महानिरीक्षक) हुनुपर्नेमा एसएसपीमै चित्त बुझाएँ ।’

इमान्दारिताका साथ काम गर्दा पनि आफूभन्दा जुनियरहरूको पदोन्नति हुँदा रुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

‘२०६५ सालमा मभन्दा ६ महिना जुनियरहरूलाई प्रहरी उपरीक्षकमा पदोन्नति गरियो । मलाई गरिएन । अनि मैले सर्वोच्च अदालतमा मुद्दा नै हालिदिएको थिएँ,’ उनले अगाडि थपे, ‘मुद्दा हालिसकेपछि सर्वोच्चमा मसँग १ लाख ६० हजार रुपैयाँ घुस मागियो । मैले दिन नमानेपछि मुद्दा नै खारेज भयो । न्यायालय क्षेत्रमा काम गरियो तर विश्वास चाहिँ छैन । धेरैपछि लाजले पनि मलाई पदोन्नति गरेका थिए ।’

जसले एपीसी काण्डलाई बाहिर ल्याए

उनी आफ्नो क्षमता र योग्यताले जागिर खाएको बताउँछन् तर चाकडी गर्न नजान्दा र एसपी हुँदा पनि पैसा (महिनावारी) बुझाउन नसक्दा कुनै ठाउँमा चैनसँग बस्न नपाएको सुनाउँछन् ।

उनी भन्छन्, ‘कहिले कहाँ, कहिले कहाँ सरुवा गरिरहन्थे । लाटो यही छ भनेर मलाई सुडान पनि पठाए । त्यसैबेला बख्तरबन्द गाडी (एपीसी) काण्डलाई बाहिर मैले ल्याएको हो । १९६४ मोडेलका एपीसी खरिद गरिएको थियो । जुन कामै नलाग्ने अवस्थामा थिए । ८ वटामध्ये ७ वटा कवाडी थिए । इन्जिन पनि नचल्ने अवस्थामा थिए । मैले बाहिर सार्वजनिक गरिदिएको थिए । जुनकारण प्रहरीभित्रको एक समूहले मलाई सधैं नै दुःख दियो । एसएसपी हुँदा पनि मेरो नियमित पदोन्नति रोक्यो ।’

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफूभन्दा १९ महिना जुनियर इन्सपेक्टर भए पनि उनी आइजीपी भएको तर आफूले एसएसपीमै चित्त बुझाएको उनी सुनाउँछन् ।

‘उसको (सर्वेन्द्र खनाल) अन्डरमा ३ महिना बसेर आएँ, जुनकारण म नेपाल प्रहरी भित्रको दलित जस्तै थिएँ । अहिले कुरा गरेर त फाइदा छैन तर नेपाल प्रहरीभित्र यो प्रवृति छ । मेरो कुनै पनि पदोन्नति सहज रूपमा भएन । मभन्दा धेरै जुनियरहरूलाई पदोन्नति गरिसकेपछि लडाइँ गरेर, झगडा गरेर मात्रै मेरो बढुवा हुन्थ्यो,’ उनी सम्झिन्छन् ।

प्रहरीभित्र यस्तो देख्दा जागिर छाड्नेसम्मको विचार आउने गरेको उनी बताउँछन् तर जागिर छाडेपछि र आफू मरेपछि रुने कोही थिएनन् । ‘मैले त रोजगारीको लागि जागिर खाएको हो, प्रतिष्ठाको लागि होइन । जागिर छाडेपछि मेरो परिवारै पीडित हुने भनेर प्रहरी संगठनभित्र अपमान सहेर पनि बसें,’ उनले भने ।

आईजीपीको टेबल ठटाएर गोली ठोक्छु भनेपछि …

समयमा एसएसपीमा पदोन्नति नभएपछिको एउटा घटना सुनाउँदै उनले भने, ‘एसएसपीमा पदोन्नति नभएपछि तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्र अर्याल) को टेबल ठटाएर ‘तपाईं १७ महिनापछि रिटायर्ड हुनुहुन्छ । म तपाईंभन्दा १७ महिना जुनियर हो । तपाईं आईजीपी हुने, मभन्दा १९ महिना जुनियर रमेश खरेल र सर्वेन्द्र खनाल आईजीपी हुने, म चाहिँ एसपीबाट एसएसपी पनि हुन नपाउने हो ? तपाईं मभन्दा पहिले रिटायर्ड हुँदै हुनुहुन्छ । रिटायर्ड भएपछि तपाईंलाई गेटमै गोली हान्छु र ढुंगाले हान्छु’ भन्दिएको थिएँ । त्यसपछि उहाँ रातोपिरो हुनुभयो । उहाँले गल्ती भयो भन्नुभयो र तँलाई एसएसपी मै बनाउँछु भन्नुभयो र बल्ल १८ दिनपछि पदोन्नति भयो ।’ २३ महिना एसएसपीमा कार्यरत रहेका उनले २०७५ असार २९ गते अवकाश पाए ।

अवकाशपछि कृषि कर्ममा लागेका हुन् उनी । माधव फिसरिज फर्ममार्फत २०७५ सालदेखि व्यवसाय थालेका जोशीले ११ कट्ठा जलाशय क्षेत्र बनाएका छन् ।

उनी भन्छन्, ‘वर्षमा २ सिजन भए पनि अहिलेसम्म १ सिजन मात्रै गर्न भ्याएका छौं । शुरू वर्षमा डेढ लाख मुनाफा भयो । दोस्रो वर्ष १ लाख ३६ हजार मुनाफा भयो । चालू वर्षमा करीब साढे २०० क्वीन्टल माछा उत्पादन गरेका छौं ।’

२ पोथीबाट कुखुरापालन

माछापालनसँगै जोशी परिवारले लोकल कुखुरापालन व्यवसाय पनि गर्दै आएको छ । पोखरीको डिलमा लोकल मुर्गापालन गरेका छन् उनले । जसबाट खर्च धान्न मद्दत भएको उनले बताए ।

दिनेश भन्छन्, ‘माछापालनसँगै अन्य व्यवसाय पनि गर्न सकिन्छ । हामी काम गर्दै, सिक्दै अगाडि बढेका छौं । २ पोथीबाट शुरू गरेको कुखुरापालन व्यवसायले घर खर्च चलाउन मद्दत गरेको छ । अहिले १०० बढी पोथी छन् ।’

छोरा दिनेशको कुरामा थप्दै उनी भन्छन्, ‘यो हाम्रो फेम्ली बिजनेस नै हो । परिवारका सदस्यहरूले सञ्चालन गरेको बिजनेस हो । धेरे फड्को मार्न नसके पनि हामीले सम्भावना धेरै देखेका छौं ।’

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech