११ श्रावण २०८१, शुक्रबार

आईसीपी निर्माण सुस्त
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्जस्थित जैसपुरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण कार्यले अझै गति लिन सकेको छैन ।पश्चिम तराईको प्रमुख नाका नेपालगन्जस्थित भारत सरकारको सहयोगमा बन्दै गरेको आईसीपीको निर्माण कार्यले गति लिन नसकेको हो ।निर्माण सुरु भएको नौ महिना बितिसक्दा १५ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ ।

भारत सरकारको २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आईसीपी निर्माण कार्य अगाडि बढेको हो । जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको २ हजार ७ सय मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको हो । अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गरिरहेको छ ।

२०७७ फागुनमा निर्माण कार्य सुरु भएको थियो । आगामी २०७९ जेठमा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणको गति हेर्दा आगामी सात महिनामा प्रोजेक्ट सम्पन्न हुने अवस्था छैन । सन् २००५ मा नेपाल–भारत सरकारबीच सम्झौता भएको थियो । सम्झौता भएको १५ वर्षपछि निर्माण कार्य सुरु भएको हो । भारत सरकारले आईसीपी निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तण गर्ने कार्यक्रमस्वरूप भैरहवा, वीरगन्ज, विराटनगर र नेपालगन्ज गरी चार ठाउँमा सम्झौता भएको थियो । जसमध्ये विराटनगर र वीरगन्जमा निर्माण भएर चालु अवस्थामा रहेको छ ।

नेपालगन्जमा गत वर्ष असोजमा सम्झौता भई निर्माणाधीन अवस्थामा रहेको छ । नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्ज कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर होमनाथ भुसालले कोभिड–१९ संक्रमणका कारण प्रभावित भएको आयोजना बर्खामा पानी जमेर झन् बढी प्रभावित बनेको बताए । ‘सुरुवातमा उनीहरूलाई काममा लगाउन दुई–तीन महिना लाग्यो । त्यसपछि निर्माण कार्य रफ्तारमै सुरु भए पनि कोभिड–१९ संक्रमणको दोस्रो भेरिएन्टका कारण कार्य ठप्प भयो । बर्खा लागेपछि फेरि निर्माण कार्य प्रभावित पार्‍यो,’ उनले भने, ‘निर्माण गर्ने ठाउँमा अहिले पानी जमेको र थप काम गर्न कठिन भयो ।’

निर्माण कम्पनीले कोभिड–१९ र बर्खाको कारण देखाउँदै समय थप गर्न भारत सरकारलाई अनुरोध गरेको छ । ‘निर्माण कम्पनीले भारत सरकारसँग कार्य विस्तारका लागि थप समय माग गरिरहेको छ,’ सूचना अधिकारी भुसालले भने, ‘चार महिना थप भयो भने १६ महिनामा कार्य सम्पन्न गर्ने उनीहरूले बताएका छन् ।’ बजेट, कम्पनी र सुपरभिजन गर्ने सल्लाहकार भारत सरकारको भए पनि नेपाल सरकारको सहरी विकास मन्त्रालयको निर्देशनअनुसार आफूहरूको सहजीकरण गर्ने दायित्व रहेको भुसालले बताए ।

कोरोना संक्रमणका कारण नेपालगन्जलगायत भारतको सीमासँग जोडिएको अन्य सिमानाका ठप्प हुँदा समयमै सामग्री आयात गर्न नसक्दा निर्माण कार्यले गति लिन नसकेको निर्माण कम्पनीले जनाएको छ । कोभिड संक्रमणसँगै बर्खामा फाउन्डेसन तयार गर्न माटो पटान लगायतका कार्यमा कठिनाइ भएको थियो । आईसीपी निर्माण स्थल र नेपालगन्जको चौलिकास्थित सुर्खेत रोड जोड्ने २.२ किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको सडक १२ मिटरको ग्राभेल गरिएको छ ।

नयाँ दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जैसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका जडीबुटी र उत्पादन निकासी गर्न सरल हुने जनाइएको छ । बन्दरगाह निर्माणसँगै यहाँ एकीकृत सुरक्षा पोस्ट स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीहरूले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । व्यापारी व्यवसायीहरूले पनि बिनाझन्झट भारतबाट विभिन्न सामानहरू निर्वाध रूपमा आयात गर्न सक्ने छन् । उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद अन्सारीले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरूप कामलाई तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’ इकान्तिपुरमा प्रकाशित

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech