बाँके\ देशको प्रमुख पार्टी नेकपा एमालेको दशौं महाधिवेशन शुक्रवारदेखि चितवनमा शुरू भएको छ । नारायणी नदी किनारमा शुक्रवार दिउँसो आयोजित भव्य समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । ओलीले यति भव्य कार्यक्रम आजसम्म कुनै पार्टीले गर्न नसकेको दाबी गरे ।
महाधिवेशन उद्घाटन गर्दै ओलीले अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने एकताबद्ध पार्टी बनाउने बताए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित समारोहमा ओलीले सरकारको भने धेरै आलोचना गरेनन् । बरू ओलीले नामै नलिई सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले देउवाको खुट्टा समाएको टिप्पणी गरे ।
‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भने, ‘काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरू उहाँको खुट्टा समातिराखेका छन् ।’
प्रचण्डप्रति ओलीको तिखो बोली, पूर्व लडाकुको मन जित्ने कोशिश
निमन्त्रणा गरिएपनि एमालेको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएनन् । माओवादीको तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बोधनका क्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति अलिअलि छेडछाड गरे । आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले शान्ति प्रक्रियाको काम पूरा नगरेकोमा कटाक्ष गरे ।
‘शान्ति प्रक्रिया टुंगिएको छैन, प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुको व्यवस्थापन हुँदैन ? मनपरेका मान्छेलाई १० हजार बाँडेर समस्या समाधान हुन्छ ? प्रधानमन्त्री नभएपनि यो सरकार मेरो कठपुतली भन्नेले लडाकूको समस्या समाधान गरे हुन्थ्यो नि !’
ओलीले पूर्व लडाकु सम्झँदै थपे, ‘एमालेको महाधिवेशनपछि हजारौं पूर्वलडाकु एमालेमा प्रवेश गर्दैछन् । लडाकुको व्यवस्थापनका लागि एमाले तयार छ । तपाईंहरूले के का लागि बलिदानी दिनुभएको थियो, कसलाई मेयर र मन्त्री बनाउन रहेछ देख्नुभयो ?’
एकताबद्ध नेतृत्व निर्माण गर्न ओलीको जोड
ओलीले एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर निस्कने बताए । ‘कुनै पार्टीको महाधिवेशनको उद्घाटन शत्र यति भव्य कहिलै भएको थिएन, एकप्रकारले महाधिवेशन सफल भइसकेको छ । बन्दसत्र अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले सम्पन्न हुनेछ’ ओलीले भने, ‘अर्को ५ वर्ष देशलाई दिशानिर्देश गर्न एकताबद्ध नेतृत्व निर्माण गरेर हलबाट बाहिर आउने छ ।’
१२ गते महाधिवेशन सम्पन्न गरेर मंसिर १३ गते नेपाली जनतालाई सुखद् सन्देश दिने बताए ।
‘आपसमा अन्तरविरोधमा नअल्झिएर, राष्ट्र निर्माणको अभियानमा एकताबद्ध प्रयास आवश्यक छ भनेर त्यो उचाइबाट काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन गर्दछु,’ ओलीले भने ।
‘नेकपाको निरन्तरता’ भन्दै आएको एमालेले १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कोशिश गरेको छ ।
आकांक्षी बढी भएका अन्य पदमा सम्भव नभएपनि अध्यक्षमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई मनाउन ‘१० बुँदे सहमति गरेका १० भाइ’ले प्रयास गरिरहेका छन् ।
देउवा बोल्दै गर्दा हुटिङ !
परमादेशबाट बनेको सरकारका प्रधानमन्त्री भन्दै नेकपा एमालेले शेरबहादुर देउवालाई औपचारिक रूपमा मान्यता दिएको थिएन ।
नारायणी नदी किनारामा फूलमाला लगाएर एमालेले देउवालाई स्वागत गरेको छ । परमादेशको प्रधानमन्त्री भनिरहे पनि एक हिसाबले भन्दा ओलीले देउवालाई अनुमोदन गरेका छन् । एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका देउवाले ओलीसँगको जेल जीवनको प्रसंग कोट्टाए ।
तर देउवाले सम्बोधन शुरू गरेपछि एमाले कार्यकर्ताले होहल्ला गरेका थिए । कार्यकर्ताले होहल्ला गरेपछि अध्यक्ष ओलीले मञ्चबाट शान्त रहन इशारा गरेका थिए ।
ओलीको प्रशंसाले भरिएको डकुमेन्ट्री, कमल थापाको सही
महाधिवेशनमा कार्यकर्तालाई उत्साही बनाउन एउटा वृत्तचित्र प्रदर्शन गरिएको थियो, जहाँ अध्यक्ष ओलीको प्रशंसा गरिएको थियो ।
नाकाबन्दीको सामनादेखि चुच्चे नक्सासम्म बनाएको, रेल र पानीजहाज चलाउन बाँकी रहेकाले ओलीको नेतृत्व आवश्यक जिकिर वृत्तचित्रमा गरिएको थियो ।
उद्घाटन समारोहमा शुरूआति मन्तव्य राखेका कमल थापाले ओलीको प्रशंसा गरे । आफूसमेत सम्मिलित सरकारले नाकाबन्दीको सामना गरेको, चीनसँग पारवहन सन्धि गरेको तथा ओलीको दोस्रो कार्यकालमा भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा प्रकाशित गरेको कुरालाई लिएर थापाले ओलीको प्रशंसा गरे ।
ओलीले पनि मन्तव्यको शुरूआतमा चुच्चे नक्सामा प्रकाशित भूमि फिर्ताका लागि छिमेकीसँग कुरा गर्न बाँकी रहेको प्रसंग निकाले । ‘हामी सार्वभौम समानता चाहन्छौं । छिमेकीसँग कतिपय कुरा छलफलको माध्यमबाट टुंग्याउन जरुरी छ । लिम्पियाधुरा लगायतको भूमि फिर्ता लिएर वास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहन्छौं,’ ओलीले भने ।
छिचोल्न नसकिने भीड, झण्डै हराए चित्रबहादुर !
नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा देशभरबाट कार्यकर्ता र शुभेच्छुक चितवन आएका थिए ।
महाधिवेशनमा सहभागी हुन आएको मासका कारण चितवनको पुल्चोक क्षेत्र कुम्भ मेलाजस्तै भएको थियो ।
एमालेको महाधिवेशन शुभकामना मन्तव्य राख्न चितवन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मञ्चमा पुग्न ३ घण्टा
लाग्यो । बिहान ११ बजे नारायणी किनारा पारि आइपुगेका नेता केसी भीडका कारण साढे २ बजे एमालेको मञ्चमा पुगेका थिए ।
मञ्चमा ढिलो गरी पुगेका केसीले महन्थ ठाकुर, उपेन्द्र यादव र माओवादी केन्द्रका प्रतिनिधिले बोलेपछि शुभकामना मन्तव्य राखेका थिए । ‘बिहान ११ बजे गैँडाकोट आएको थिएँ, जेनतेन यहाँ आउन सफल भएँ,’ सम्बोधनका क्रममा केसीले भने ।