१२ श्रावण २०८१, शनिबार

उनी त्यतिबेला पढ्दै थिइन् रोजाको जीवनी
  • विवश वस्ती

जब आधा दर्जन बढी सहयोद्धासँगै उनी घेराबन्दीमा परिन्, बोकेकी थिइन् उनले हातमा एउटा किताब। नाम थियो– ‘रोजा लक्जमवर्गको जीवनी’। उनी वाम–विदुषी रोजाको जीवनीका प्रारम्भिक पाना छिचोल्दै थिइन्। थाहा छैन, रोजाको जीवनी पढेर उनी आफूलाई पनि कतै रोजाजस्तै बनाउन चाहन्थिन् कि? दार्शनिक, विचारक र अर्थशास्त्री रोजाको जीवनका पृष्ठहरू छिचोल्न नपाउँदै ‘पूर्वछापामार’ उमा देवकोटाले एउटा अकल्पनीय क्षणलाई झेल्नुपर्‍यो। अकस्मात्, अपर्झट!

दिनांक २०५५ असोज २१ गते। त्यो कहालीलाग्दो झिसमिसे बिहानी। महाभारत पर्वत–शृंखलाबाट सूर्यले प्रथम लालिमा छर्न केही क्षण बाँकी थियो। जनयुद्धको ‘शुभमुहूर्त’ भएकै दिनदेखि भूमिगत जीवन बाँच्न थालेकी सिन्धुली, अमलेकी उमालगायत करिब एक दर्जन लडाकु सिन्धुलीको पूर्वी भेग जरायोटारमा प्रहरीको घेराबन्दीमा परे। ससाना खेतका गह्रा उक्लिएपछि जंगलको बगलमै रहेको एउटा झुपडीमा त्यो दिनको झिसमिसेमा पुगेका थिए उनीहरू। धर्ती उज्यालोमा नरङ्मगिँदै बन्दुक पड्केको तिक्खर आवाज सुनियो। वर्षाद्का अन्तिम दिन भएको हुँदा चट्याङ परेको हो किजस्तो लाग्यो उनलाई। होइन रहेछ। घेराबन्दीमा परेका उनीहरूलाई लक्षित गरेर सुरक्षाकर्मीले ‘फायर’ खोलेका रहेछन्।

त्यतिबेला उनी भुइँमा बसेर लेख्दै थिइन् र राजनीति–सहयोद्धा नरबहादुर सिँजाली मगरचाहिँ खाटमा बसेर उनलाई लेख्नुपर्ने विषयवस्तुबारे अह्राउँदै थिए। अफसोच, केही समयअघि मात्र बोलिरहेका नरबहादुर पक्लक्कै ढले। भए शब्दहीन। उमाले कुनै भेउ पाइनन्, किन ढले नरबहादुर? तर, उनको शरीरबाट रगतको बाढी बग्न थालेपछि बल्ल थाहा भयो, नरबहादुरलाई त गोली लागेछ। त्यो क्षण सम्झिँदा अझै पनि उनी स्मृति–दंशले छट्पटाउँछिन्।

घरबाहिर दुई सहयोद्धा ढलिसकेका थिए। अर्थात् जंगलतिर भाग्दै गरेका दुई ‘आतंककारी’। नरबहादुर ढलेपछि उनले तेस्रो सहयोद्धा पनि गुमाइन्, आँखै अगाडि, केही बित्तामात्रै पर्तिर। प्रहरीले करिब आधा घण्टाजति नै अन्धाधुन्ध तरिकाले गोली चलाउन थाले, नजिकैको जंगल र खेत वरपर। त्यो झुपडीभित्र थुनिएका सात जनाले तत्काल छलफल गरे, ‘पक्कै अब हामीलाई ज्युँदो राख्दैनन्, हामीले आफ्नो परिचय नढाटौं, जे नाम हो, त्यही भनौं।’

बाहिर उभ्याइयो सबैलाई। प्रहरीको निशानामा रहेछन्– महनचन्द्र गौतम। नेकपा (माओवादी) को उपल्लो तहका नेता। गिरफ्तारमा परेका सात जनामध्ये मोहन आचार्य पनि थिए। सातै जनालाई लस्करै उभ्याइयो र नाम सोध्न थालियो। जब मोहन आचार्यले ‘मोहन’ मात्रै उच्चारण गरेका थिए, प्रहरीले ‘महनचन्द्र’ ठानेर मोहन आचार्यलाई उभिएकै ठाउँमा ढाले। घरभित्रको खाट, आँगन र नजिकैको जंगल भए पूरै रक्तरञ्जित। घरमुनिको बारीमा चार जनालाई पुरपार पारेर अरूलाई हत्कडी लगाएर लगियो, जिल्ला सदरमुकामतिर।

जरायोटारको दुःखान्त उद्घाटित भएको करिब हप्ता दिनपछि नै हामी पुगेका थियौं, घटनास्थलमा। केही पत्रकार, केही मानवअधिकारकर्मी। जंगलको छेउमै उभिएको त्यो झुपडीमा पुग्दा घरधनी र वरपरका गाउँले त्रसित मनोविज्ञान झेल्दै उभिएका थिए। सबैको अनुहारको भाषा पढ्दा जल–विहीनताले च्यापेका वनस्पतिझैं मुर्झाएका देखिन्थे। घरमुनिको बारीको सानो पाटा भर्खरै खोस्रिएको देखिन्थ्यो। आलो। रगतका टाटा देखिन्थे अझै। घरधनीले त्यो ढिस्कोतिर देखाउँदै भने, ‘ऊ त्यही नेर चार जनालाई गाडिएको छ। त्यति राम्ररी गाडिएको पनि छैन। राति श्याल आएर उधिन्ला भन्ने डर भो हाम्लाई।’

अहो, कस्तो संवेदनहीन समय! मृतक चार जनालाई त्यत्तिकै पुरपार पारेर छाडिएको रहेछ। त्रास झेल्दै बाँचेका गाउँलेले हामी पुगेपछि केही साहस उमार्दै भन्न त भने, ‘तपाईंहरू आउनुभएको छ, लास गाडिएको ठाउँ खोतलेर हेरौं न।’

हामी पनि उभिएका थियौं त्रासको जस्केलोमा। र, भन्यौं, ‘हामीले यस्तो गर्न मिल्दैन। यो घटनालाई हामी राष्ट्रिय रुपमा पुर्‍याउने काम भने गर्छौं, अवश्य नै।’

जरायोटारको स्थलगत अवलोकनपछि जिल्ला सदरमुकाम फर्किएका हामीले प्रहरी–प्रमुखलाई भेट्न गयौं। उनले हामीलाई केही तस्बिर देखाए, जसले जरायोटार घटनामा जीवन अर्पेका थिए। प्रहरी–प्रमुखले सोधे, ‘यो महनचन्द्र हो त?’ मारिएका मोहन आचार्यको तस्बिर देखाइएको थियो हामीलाई। हामीले भन्यौं, ‘महनचन्द्रसँग मिल्दो अनुहार त छैन।’

हो, त्यही बेला प्रहरी–प्रमुखले भनेका थिए, ‘हामीले गरेको जरायोटार एक्सनमा एउटी महिला नेती पनि समातिएकी छे। उनी निकै पढन्ते रहिछन्। उनीबाट हामीले एउटा अंग्रेजी किताब पनि बरामद गरेका छौं।’

तिनै पढन्ते ‘लडाकु’ थिइन्, उमा देवकोटा। मेरा परिचित गाउँले। केही दिनअघि मात्र काठमाडौंमा भेट्दा मैले उनलाई सोधें, ‘उमा, जरायोटार घटनामा तिम्ले कुन किताब बोकेकी थियौ?’उनले सहजै भनिन्, ‘रोजाको जीवनी।’

गुज्रिसकेका छन्, नित्य २३ वर्ष। बितेका अवधिमा मरिन, कमला, चदाहा, वागमतीमा धेरै पानी बगिसकेका छन्। उनको जीवन–यात्राले पनि धेरै आरोह–अवरोहसँग प्रत्याक्षानुभूति गरिसकेको छ। जनयुद्धका बेला सँगालेका अनगिन्ती घाउका फोकाहरू अहिले खतमा बदलिइसकेका होलान्। तर खत बसे पनि बेलाबेला भने उनका घाउमा नराम्ररी उकुच पल्टन भने छाड्दैन। पीडाको उकुच। संवेदनाको उकुच। विचारको उकुच। जीवनका अनगिन्ती उकुच। लाग्छ, अचेल पनि अनगिन्ती उकुच सम्हालेर उनी महाभारततिरको यात्रा छिचोल्दै छिन्।

प्रगतिशील कवि/राजनीतिकर्मी गंगा श्रेष्ठ (गंगा मानव) ले एउटा कविता लेखेका छन्, जसलाई विद्रोहको पर्याय मानिने र विद्रोही जन्माउने सिन्धुलीको एउटा अलग थलो अमलेलाई विम्बको क्षितिजमा टाँगेका छन् उनले। आफ्नो काव्य–लेखनमा श्रेष्ठले ‘अमले’ लाई यसरी चित्रित गरेका छन्, यही कविताबाटै अमलेको इतिहास र वर्तमान झल्किन्छ। जुन काव्य–चित्रण उनले भद्रबन्दीगृहमा बिताउँदाखेरी लेखेका थिए, २०५६ असार १७ गते।

आकाशबाट रातको अन्तिम तारा झर्दै गर्दा

जसरी खुल्दै जान्छ धर्तीमा क्षितिज 

र, ब्युँझँदै जान्छन् सम्पूर्ण जीवनहरू

त्यसैगरी रातको अन्तिम तारासँगसँगै 

त्यो ठाउँमा पनि खुल्ने गर्छ क्षितिज 

र, ब्युँझन्छन् जीवनहरू

सूर्योदयमा देखिने राता किरणहरू

त्यो गाउँमा पनि फुल्ने गर्छन् विद्रोहका झण्डाहरूझैँ

सूर्यास्तमा देखिने गोधूलि दृश्यहरू

त्यो ठाउँमा पनि खुल्ने गर्छन् स्वर्णिम पर्दाहरूझैँ

कुनै अलग्गै दिन जन्मँदैन त्यस ठाउँमा 

कुनै बेग्लै रात पर्दैन त्यस गाउँमा 

जन्मन्छ उही दिन, पर्छ उही रात

उदाउँछ उही प्रातः अस्ताउँछ उही साँझ

फेरि पनि एउटा छुट्टै ठाउँ

त्यो हाम्रो रातो गाउँ– अमले गाउँ।

जब मान्छे आस्थाको हिमाल लिएर उठ्दो रहेछ

जब मान्छे विचारको सूर्य बोकेर ब्युँझदो रहेछ

जब मान्छे चेतनाको मसाल बालेर अघि बढ्दो रहेछ

तब प्रत्येक मान्छेभित्र

एउटा अनौठो जितको विश्वास जन्मँदो रहेछ 

एउटा अद्भुत शक्ति पैदा हुँदोरहेछ 

जुन विश्वाससँग मान्छेले 

बेहिचकिचाहट जीवन साट्दो रहेछ

जुन शक्ति लिएर मान्छेले

आयु छउन्जेल निरन्तर लड्दो रहेछ

जसको जिउँदो इतिहास हो

त्यो हाम्रो रातो गाउँ– अमले गाउँ।

खोसिएका आफ्ना खुसीको इन्द्रधनुष

जब त्यहाँका मान्छेहरूले आफ्नै आँगनीमा फर्काउन चाहे

लुटिएका आफ्ना जीवनका रहरलाग्दा दिनहरू

जब त्यहाँका मान्छेहरूले आफैंसँग फर्काउन खोजे

तब आँगनीमा मृत्यु निर्लज्ज नाच्न थाले

बलेसीमा रगतको बलेनी थापिन लागे

मझेरीमा चिहानहरू खनिन लागे

अनि जो–जो जिउँदा थिए

ती–ती सबैका नाममा मृत्युपुर्जी जारी भए

तैपनि आफूलाई बेचेर 

मृत्युसँग कसैले सुरक्षा किन्न चाहेनन् 

आफ्नो स्वाभिमान सुम्पेर

गाउँमा कसैले मुर्दाशान्ति रोप्ने माग गरेनन् 

बरु बनाए रगतलाई बोलीचालीको भाषा

अनि लगाए ल्याप्चे खुसीसाथ मृत्युपत्रमा 

जसको जिउँदो प्रमाण हो 

त्यो हाम्रो रातो गाउँ– अमले गाउँ।’

अमलेको त्यही जैविक एवं राजनीतिक रुपले उर्वर रसिलो भूमिमा जन्मिएकी थिइन्, उमा। देवकोटाको बाहुल्य भएको गाउँ। महाभारतको फेदीमा उभिएको त्यस गाउँ पहिलेदेखि नै वामपन्थी विचार बोक्नेहरूको मैदान। उमा, उनका दाजु धु्रव देवकोटा, भाइ जीवन र दिदीहरू। शशि, रमा र बहिनीहरू उषा र उत्तरा शिक्षक–बुबा खड्गबहादुर देवकोटाबाट प्रशिक्षित भए। बेलाबेला गाउँमा पाइला टेक्ने कम्युनिस्ट नेताहरूद्वारा वैचारिक प्रशिक्षण पाएपछि खारिँदै गयो, सिंगो परिवार नै। दह्रो वामपन्थी जनशक्ति एउटै परिवारभित्र निर्मित भयो।

२०५२ साल फागुन १ को लाग्दो मध्यरातमा नेकपा (माओवादी) ले जनयुद्धको बीजारोपण गर्दा देशभरका तीनवटा प्रहरी कार्यालयमा हमला बोलेका थिए। पश्चिमतिरका दुई र पूर्वको सिन्धुली गढीमा। गढी चौकीमा हमला गर्ने योजना त्यही अमले गाउँमै बुनिएको थियो। अमलेको पनि उमाकै घरमा। आफ्नै घरमा निर्मित गढी चौकीमा एक्सन गर्ने योजनालाई सघाउन उमा पनि तत्पर भइन्। उनी मात्र होइनन्, उनको पारिवारिक वृत्तका अरू सदस्य पनि सम्मिलित भए।

जनयुद्धका एकपछि अर्का एक्सनहरूमा सक्रिय रहँदै जाँदा उनले परिवारका धेरै सदस्य गुमाइन्। हुन पनि, एउटै भान्सामा मिठो–मसिनो खाने बुबा र एउटी बहिनी पूरै भिडेका थिए। काका र उहाँका सन्तान पनि पूरै जनयुद्धमै समर्पित। पछिल्लो समय, जनयुद्धकै बेला वैवाहिक सम्बन्धमा बाँधिएपछि पति टीका श्रेष्ठ, जेठान गंगा श्रेष्ठ, जेठानी दिदी वन्दना सुवेदीलगायत सबै युद्धकै मैदानमा थिए।

युद्धभूमिमा धेरै आफन्त गुमाइन् उनले। २०६१ असारको त्यो घटनाले उनलाई अझै अत्यासको चौघेरामा बन्दी बनाउँछ। युद्धकालीन समयमै उनले वैवाहिक सम्बन्ध बाँधिन्, सिलामेका टीका श्रेष्ठसँग। २०५५ सालमा युद्धकै मैदानमा दुवै जना बाँधिएका थिए, वैवाहिक सम्बन्धमा। कस्तो विडम्बना! त्यो वर्षको असारमा दुई जोडी बाँधिए। तर भदौमा नै पक्राउ परे, टीका। लगत्तै पक्राउ परिन् उमा पनि। पक्राउ परेको चार वर्षपछि टीका जेलमुक्त भए।

२०५५ मा पक्राउ परेकी उमाले भने बल्ल २०५९ सालमा जेलमुक्त भएर खुला आकाशमा सास फेर्न पाइन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल सुरु भइसकेको त्यस समय विद्रोही माओवादी र सरकारबीच युद्धविराम हुँदा दुई पात्र एकाएक राष्ट्रिय सन्दर्भमा चर्चित बने– डीआर लामिछाने र वीरेन्द्र झापाली। दुवैले परिचय बनाए– शान्ति–वार्ताका सूत्राधारको। यद्यपि उनीहरूलाई माओवादीले ‘प्यादा’ बनाएर खटाएको पछिल्लो समय प्रस्टै भयो। तर तिनै लामिछाने र झापालीले भने सिन्धुली कारागारमा रहेकै बेला उमालगायत राजनीतिक बन्दीलाई छुटाउन उल्लेख्य भूमिका खेले। दुवै जना कारागारमै पुगेर छुटाएका थिए उनलाई।

जेलमुक्त भइसकेपछि उमा र टीकाबीच केही वर्ष युद्धकै मोर्चामा भेट चलिरह्यो। तर, २०६१ असारमा टीकाले दुःखद मृत्यु वरण गरे, सिन्धुलीकै तोरीस्वाँरामा। सर्लाही र सिन्धुलीको साँधमा पर्ने तोरीस्वाँरा घटनामा दुई छापामार मारिएको खबर बीबीसीले प्रसारण गर्‍यो, एक दिन। बीबीसीको निष्पक्षताप्रति उमा ढुक्क थिइन् र हरेकजसो दिन उनी बीबीसी सुन्थिन् पनि। तर, दुई छापामार मारिएको खबर बीबीसीले प्रसारण गरे पनि नाम भने भनिएन। उनलाई लाग्यो– कुनै सहयोद्धा मारिए होलान्। त्यो समय उनी सिन्धुलीकै शान्तेश्वरीमा थिइन्। करिब १५–१६ दिनपछि उनले एउटा दुःखद खबर स्वीकार्नुपर्‍यो। आफ्नै पतिको मृत्युको खबर।

त्यसअघि र पछि दुःखद खबरको शृंखला टुटेन, कहिल्यै। जनयुद्धको डोब खनिँदै गर्दाका प्रारम्भिक चरणमा उनले दुई जना दाइ गुमाए– टीका र ज्ञानेन्द्रलाई। जनयुद्ध सुरु भएको तीन महिनापछि नै अमलेका दुई सामान्य नागरिक टीका र ज्ञानेन्द्रलाई प्रहरीले निर्ममतापूर्वक गोली हानेर हत्या गरे, जबकि उनीहरू जनयुद्धको ‘ज’ पनि बुझ्दैनथे। तर ‘अमलेका सबै मानिस माओवादी हुन्’ भन्ने गलत भाष्यले गर्दा टीका–ज्ञानेन्द्रजस्ता राजनीतिबाट पूरै असम्बद्ध युवा मारिए।

टीका–ज्ञानेन्द्रको हत्या भएलगत्तै म अमले पुगेको थिएँ, उनीहरूको रगत बगेको हात्तीगौंडा छिचोल्दै। ती दाजुभाइका बुबा–आमाको आँखाबाट बगिरहेको आँसुका थेग्ला अझै ओभानो भइसकेका थिएनन्। भाइ हरिनारायण देवकोटा भन्दै थिए, ‘दाजुहरू वर्षामा खेतीपाती गर्नुहुन्थ्यो र हिउँद लागेपछि काठमाडाैं गएर बदाम बेचेर फर्किनुहुन्थ्यो। उहाँहरूलाई युद्धबारे केही थाहा नै छैन। किन मारे, हामी साह्रै दुःखित छौं।’

युद्धका बेला उमाले पति टीकालाई गुमाइन्, बुबा खड्गबहादुरलाई गुमाइन् र गुमाइन्– काका निर्मल देवकोटा र उनका जेठा दाइकी छोरी रचना, अर्का काका कमल देवकोटा र उनका छोरी निर्मला। बहिनी निर्मलालाई त अनेकोटमा सांस्कृतिक कार्यक्रमका क्रममा निर्ममतापूर्वक हत्या गरियो। अर्थात्, ‘महान्’ जनयुद्धको रापतापमा उनको परिवारभित्रका आठ जना गुमे।

जनयुद्ध जारी थियो। हरेक वर्ष दसैंमा कम्तीमा पनि १०–१२ दिन बस्ने गरी म गाउँ जान्थें। घरको आँगनमा एउटा काठको फल्याक थियो। बिहान उठेपछि म त्यही फल्याकमा बसेर चिया पिउँथें। घरमाथि गोरेटोमा खड्गबहादुर सर अर्थात् उमाका बुबा बिहान घुम्न आउँदा देख्थें।

आँगन र गोरेटोबीच नै नमस्ते आदानप्रदान चल्थ्यो। कहिलेकाहीं बुबाले भन्नुहुन्थ्यो, ‘केरा खाएर जाऊँ हजुर’ वा ‘चिया पिऔं हजुर’। यस्तै–यस्तै सत्कारजन्य कुरा हुन्थे।

‘दिनुस् न त’, केरा स्वीकार्नुहुन्थ्यो। चियाचाहिँ पिउन मान्नुहुन्नथ्यो। सामान्य भलाकुसारी हुन्थ्यो, हामीबीच। सोध्नुहुन्थ्यो, ‘कहिले फर्किनुहुन्छ, काठमाडौं।’ सम्भवतः त्यो दोस्रो युद्धविरामको बेला थियो र उहाँलाई स्वतन्त्रपूर्वक हिँडडुल गर्ने अनुमति दिएको थियो, राज्यले। युद्धविराम भंग भएपछि खड्गबहादुर सर फेरि भूमिगत हुनुभयो।

अफसोच! २०६१ साल चैतमा सिन्धुलीकै पूर्वी भेग पोखरीमा उहाँले सहादत प्राप्त गर्नुभयो। मलाई विश्वास छ– भौतिक अस्तित्व समाप्त भए पनि असुरो, माझीबार, आँक, कटुस, काब्रोजस्ता वनस्पतिले ढाकिएका गैयाँटार र बोझेको डगरभरि खड्गबहादुर सरका पदचिह्नहरू अझै होलान्।

मैले र उमाले अध्ययन गरेको एउटै विद्यालय हो– कमला हाई स्कुल। मभन्दा एक ब्याची तल। म नौ कक्षामा पढ्दा उनी आठमा पढ्थिन्। त्यो बेलासम्म अमले पूरै छाडिनसके पनि गैयाँटार अर्थात् छिमेकी गाउँमा उनीहरू एक टुक्रा जमिन किनेर बस्न थालिसकेका थिए। उनकै घरको डगर हुँदै पाइला नाप्थ्यौं हामी।

राजनीतिक रुपले हामी दुवैको बाटो अलग। बहुदलीय व्यवस्था पुनर्स्थापना भएदेखि नै ‘उमाहरू’ ले संसदीय व्यवस्थामाथि प्रश्न उठाउँदै आए। यद्यपि, २०४८ सालको आमनिर्वाचनमा भने संसद्मा तेस्रो दल बन्ने सौभाग्य नमिलेको होइन, संयुक्त जनमोर्चालाई। हामी भने संसदीय व्यवस्थाको विकल्पमा उभिन चाहेनौं। सशस्त्र युद्ध गरेर राज्यसत्ता उल्टाउने ‘उमाहरू’ को कुरालाई हामी कुनै गफास्टकको गफजस्तै ठान्थ्यौं। तर भएन त्यस्तो। युद्धको रटान लगाएको ३–४ वर्षपछि त हतियार उठिहाल्यो।

युद्धाभ्यास भने पचासको लाग्दो दशकदेखि नै थालिसकेका थिए, माओवादीले। च्याउँकोटको फराकिलो चौर र वरपरका सघन जंगलमा करिब चार सयजति युवालाई एकत्रित तुल्याएर टोपबहादुर रायमाझी र राम कार्कीले गुरिल्ला तालिम दिन थालिसकेका थिए। वैचारिक खुराक दिन्थे, राम कार्की र हरिबोल गजुरेलले। जंगली झाडीबीच अल्झिए पनि र तिखा काँडाहरूले कोतरे पनि करिब हप्ता दिनजति नै युवाहरूलाई देशको नयाँ भविष्य कोर्ने पाठ सिकाइएको थियो, त्यतिबेला। युवाहरूलाई वैचारिक रुपले चखिलो तुल्याउँदै शारीरिक रुपले गुरिल्ला तालिम दिनसमेत प्रारम्भ गरिसकिएको थियो। त्यो युद्धाभ्यासमा संलग्न युवा वासुदेव घिमिरे अझै सम्झिन्छन्, ती दिन, ‘हामीले सालको लाथ्रो (सालको कलिलो रुख) काटेर त्यसैलाई बन्दुकका रुपमा प्रयोग गरेका थियौैं।’ घिमिरेको स्मृति–क्षितिजमा अझै टाँगिएका छन्, महेन्द्र श्रेष्ठ। भन्छन्, ‘महेन्द्रजीले नै त्यो बेला सबै व्यवस्थापन गर्नुभएको थियो। राजनीतिमा त उहाँ पासाङभन्दा पनि तगडा र अघि हुनुहुन्थ्यो। तर जनयुद्धका क्रममा उहाँले सहादत प्राप्त गर्नुभयो।’ उनका अनुसार एकाबिहानै काँचो चना र सख्खर खाएपछि युद्धाभ्यास सुरु हुन्थ्यो।

युवा–रगतलाई भकभकी उमाल्न राम कार्कीको भाषण काफी हुन्थ्यो। कुनै बेला रामराजाप्रसाद सिंहको समूहमा भिजेका कार्कीलाई सबैले ‘कार्की दाइ’ भनेर बोलाउँथे। कतै भाषण गर्नुपर्दा उनी भन्थे, ‘यिनै चुरेको जंगलबाट अब हामीले जनयुद्ध सुरु गर्नुपर्छ। अब यिनै चुरेहरूलाई उठाउनुपर्छ, जनयुद्धमा।’ कत्रो आत्मविश्वास उनको? नभन्दै भयो त्यस्तै। चुरे, मधेस, शिवालिक, महाभारत, गडतीर, लेक–बेंसी सबैतिर खनिन थाले, युद्धका डोब।

त्यही युद्धको सग्लो साक्षी बनिन्, उमा। युद्धको रक्ताम्य मैदान छिचोल्दै सुनौला दिनको स्वप्न सँगाल्न अभ्यस्त बनिन्, उमा। चुरेदेखि सैलुङको चुचुरोसम्मै नयाँ राज्यसत्ताको परिकल्पना कोर्दै गतिशील पाइला बढाउन सक्रिय देखिइन्, उमा।

खुला संसारमा विचरण गर्न थालेको डेढ दशकपछि उमालाई भेट्दा उमेरले नेटो काट्दै गइरहेको देखें मैले। सामान्य पहिरन, ढल्किँदो उमेर। राजनीतिक रुपमा भने झनै सचेत र ऊर्जावान्। जीवनका अनेक कुइनेटा पार गर्दै जाँदा उनका सहयात्री पनि छिन्नभिन्न हुँदै गए। समयान्तरमा कोही कता पुगे, कोही कता। कोही त भए सधैंभरिका लागि बेपत्ता। केही वर्षपूर्व एमाले र माओवादी केन्द्रबीच एकता हुँदा सबै रौसिए र बहुसंख्यक एकताको मियो वरिपरि घुम्न थाले। उमा भने तटस्थ बसिन्। सुनाउँदै थिइन् मलाई, ‘म एकतापछिका दिनमा निष्क्रियजस्तै रहें। किनभने जनयुद्धलाई जनयुद्धका रुपमा नस्वीकार्ने केपी ओलीसँग एकता गर्नु गल्ती थियो भन्ने मेरो ठम्याइ रहेको हुँदा म एकताका पक्षमा उभिनँ। अहिले आएर सबै प्रस्ट भयो नै।’

मभित्र जुन ‘उमा–विम्ब’ टाँगिएको थियो, त्यही जरायोटारको बिम्ब। करिब २३ वर्षअघिको। त्यतिबेलै उब्जिएको त्यो बिम्बमा अन्तरनिहित छट्पटीलाई मैले समयान्तरमा खारेज गर्नु नै पर्ने थियो। त्यही भएर, मैले उमालाई अन्तिम प्रश्न गरें, ‘जरायोटार घटनामा खोसिएको रोजाको जीवनीमूलक किताब खुला राजनीतिमा आएपछि पढ्यौ त तिम्ले?’

सहज रुपमा भनिन् उनले, ‘पढें। म जेलमा पाँच वर्ष थुनिएँ, त्यही बेला मैले रोजा र विश्व कम्युनिस्ट आन्दोलनका अग्रणी महिला नेतृहरूका जीवनी पढें।’ वाह, उमा! नेपाल समयमा प्रकाशित

 

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech