काठमाडौँ\ एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भए लगत्तै नेताहरू स्थायी कमिटीको लबिङमा जुटेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र समापन नहुँदै केन्द्रीय कमिटीको दोस्रो बैठकको मिति तोकेर एजेण्डा समेत बताएका थिए । मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दैछ ।
केन्द्रीय कमिटीको दोस्रो बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्यूरोलाई पूर्णता दिने ओलीले बताएका छन् । त्यसबाहेक, केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्नुपर्ने काम पनि बाँकी नै छ ।
एमालेको सचिवालय पछिको शक्तिशाली निकाय स्थायी कमिटीमा पर्नका लागि नेतालाई रिझाउने दौडधूपमा एमालेका केन्द्रीय सदस्यहरू लागेका छन् ।
नेकपा एमालेको संशोधित विधान अनुसार, केन्द्रीय पदाधिकारी संलग्न रहेको सचिवालय गठन हुन्छ । त्यसपछिको शसक्त निकाय स्थायी कमिटीमा ४५ जना सदस्य रहने व्यवस्था छ ।
पार्टी अध्यक्ष सहित १९ जना पदाधिकारीको सचिवालय हुन्छ र ती सचिवालय सदस्यहरू स्वतः स्थायी कमिटी सदस्य हुन्छन् ।
त्यसबाहेक, केन्द्रीय सदस्यबाट अरू २६ थपेर एमालेको स्थायी कमिटी गठन हुन्छ ।
अब थपिनुपर्ने २६ जनामा यसअघिका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, भीम आचार्य, किरण गुरूङ, रघुजी पन्त र मणि थापा स्वतः स्थायी कमिटी सदस्यका दावेदार हुन् ।
यसअघि पार्टी उपाध्यक्ष र स्थायी कमिटी सदस्य रहेका भीम रावल महाधिवेशनमा अध्यक्षका उम्मेदवार थिए । उनी अध्यक्षमा पराजित भए भने केन्द्रीय सदस्यमा निर्वाचित भए । तर, केन्द्रीय सदस्यमा आफुले उम्मेदवारी नै नदिएको भन्दै उनले सपथ ग्रहण गर्न मानेनन् । अब उनलाई स्थायी कमिटीमा समेट्नका लागि केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ ।
तर, पार्टी अध्यक्ष केपी ओलीले रावललाई मनोनित गरेर केन्द्रीय कमिटी र स्थायी कमिटीमा ल्याउने सम्भावना नरहेको एमालेकै नेताहरू बताउँछन् ।
अहिले स्थायी कमिटीमा पर्न चाहने एमालेका नेताहरू प्रभावशाली नेताहरूमार्फत आफ्नो दावी पार्टी महासचिव र अध्यक्ष समक्ष पुर्याइरहेका छन् ।
स्थायी कमिटी सदस्यको लविङमा रहेका एमालेका एक नेता भन्छन्, ‘स्थायी कमिटीमा पर्नका लागि दौडधूप चितवनदेखि नै शुरू भएको हो । कतिपयलाई महाधिवेशन अगाडि नै अध्यक्षले स्थायी कमिटीको आश्वासन दिनुभएको छ । कतिपयले अहिले भेटेर आफ्नो दावी प्रस्तुत गर्न र दोहोर्याउन पनि थालेका छन् ।’
यसअघि पदाधिकारीमा दावी गरेका कतिपयलाई अध्यक्ष ओलीले स्थायी कमिटीमा राख्ने आश्वासन दिएका छन् । स्थायी कमिटी बनाउँदा ओलीको पहिलो प्राथमिकतामा उनीहरु नै पर्नेछन् ।
त्यसबाहेक, ओलीले स्थायी कमिटीलाई आफ्ना लागि केन्द्रीय कमिटी भन्दा पनि अनुकुल हुने गरी बनाउने प्रयास गर्नेछन् । ओलीले धेरै विषयलाई केन्द्रीय कमिटीमा नलगेर सचिवालय र स्थायी कमिटीको निर्णयबाटै अघि बढ्न सक्छन् ।
एमालेको स्थायी कमिटीमा समेटिनका लागि सबैभन्दा बढी प्रयासमा महाधिवेशनमा पदाधिकारी दावी गरेका नेताहरू नै छन् । त्यसमा पनि सचिवमा दावी गरेका धेरै नेताहरू स्थायी कमिटीमा समेटिन खोजेका छन् ।
एमालेको उपाध्यक्ष दावी गरेका लालबाबु पण्डित अन्तिममा केन्द्रीय सदस्यमा मात्रै समेटिएपछि ओलीले दिएको केन्द्रीय सदस्य बताएका थिए । उनलाई पनि स्थायी कमिटीमा समेट्नुपर्ने दवाव एमाले नेतृत्वलाई रहेको नेताहरू बताउँछन् ।
एमाले अध्यक्ष ओली निकट रहेर काम गरेका नेताहरू अग्नि खरेल, खगराज अधिकारी, शेरधन राई, महेश बस्नेत, परशुमेघी गुरूङ, गोकुल बाँस्कोटा, राजन भट्टराई, भानुभक्त ढकाल लगायतका नेताहरू स्थायी कमिटीमा पर्न प्रयासरत छन् ।
त्यसबाहेक, एमाले केन्द्रीय कार्यालय सचिव रहेका शेरबहादुर तामाङ, नेताहरू देवराज घिमिरे, अरुण नेपाल, नारदमुनि राना, गुरू बराल पनि स्थायी कमिटीमा पर्ने प्रयासमा छन् । कर्ण थापा, यमलाल कँडेल, आनन्द पोखरेल लगायतका नेताहरू पनि स्थायी कमिटी सदस्यको आकांक्षी छन् ।
माओवादी केन्द्रबाट एमालेका आएकामध्ये तीन जना नेताहरू पदाधिकारीमा समेटिएका छन् । त्यसबाहेक, मणि थापा पहिले पनि स्थायी कमिटीमा थिए । प्रभु साहले पदाधिकारी दावी गरेका थिए । तर, अन्तिममा उनी परेनन् । त्यसैकारण पनि उनी स्थायी कमिटीमा समेटिने सम्भावना छ ।
यी सबै नेताहरू महाधिवेशनमा पदाधिकारीमा दावी गरिरहेका थिए । तर, अन्तिममा ओलीले प्यानल घोषणा गर्दा पदाधिकारीमा समेटिन पाएका थिएनन् ।
‘शेरबहादुर तामाङको नाम सचिवमा पक्का जस्तै थियो । अन्तिममा आएर हटाइएको हो । त्यसको क्षतिपूर्तिको लागि पनि उनी स्थायी कमिटीमा आउने सम्भावना छ’, एक एमाले नेताले भने ।
यसअघि दुई पटक केन्द्रीय कमिटी सदस्य र पोलिटब्यूरो सदस्य रहिसकेका नेता अरुण नेपालले पनि महाधिवेशनमा सचिवको दावी गरेका थिए । उनी पनि पदाधिकारीमा परेनन् । बागमती प्रदेशमा सिनियर नेता भएको कारण उनी स्थायी कमिटीमा समेटिने सम्भावना रहेको एमाले नेताहरूको विश्लेषण छ ।
बागमती प्रदेशका अरुण नेपालभन्दा सिनियर नेताहरू अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे उपाध्यक्ष भएका छन् । एउटै प्रदेशबाट धेरैलाई पदाधिकारीमा समेट्न नसक्ने अवस्थामा नेपाल पछि हट्नुपरेको उनी निकट नेताहरू बताउँछन् ।
एमालेको स्थायी कमिटीमा समेटिन चाहने महिला नेतृहरूको संख्या पनि ठूलो छ । एमालेको स्थायी कमिटीमा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने उनीहरूको माग छ ।
आफूलाई स्थायी कमिटीमा समेटिनुपर्ने भन्दै महिला नेतृहरू डा. शिवमाया तुम्बाहाम्फे, उषाकला राई, थममाया थापा, डा. विन्दा पाण्डे, सुजिता शाक्य लगायतले लविङ थालेका छन् ।
केन्द्रीय पदाधिकारीमा जस्तै स्थायी कमिटीमा पर्न चाहने नेताहरूको संख्या पनि धेरै रहेकाले निश्चित विधि बनाएर स्थायी कमिटी चयन गर्नुपर्ने सुझाव कतिपय नेताहरूले एमाले नेतृत्वलाई दिएका छन् ।
‘यसअघि स्थायी कमिटीमा रहिसकेको, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा धेरै पटक दोहोरिएका व्यक्तिलाई स्थायी कमिटीमा समेट्दा सबैलाई न्याय हुने सुझाव दिएका छौं’, एमाले महासचिव शंकर पोखरेल निकट एक नेताले भने, ‘महाधिवेशनमा सबैलाई एक तह स्तरोन्नती हुने चाहना हुन्छ । पटक पटक पोलिटब्यूरो र केन्द्रीय कमिटीमा रहेकालाई नै स्थायी कमिटीमा लैजाने बारे नेताहरूले प्रारम्भिक छलफल गरेको बुझेको छु ।’