२९ कार्तिक २०८१, बिहीबार

कांग्रेसको विचारशून्य महाधिवेशन

बीपीलाई बिर्सेर महाधिवेशनमा जुट्दै कांग्रेस नीतिविहीन कर्मकाण्डी महाधिवेशनस्थलमा बीपीलाई सम्झनु भनेको हँसीमजाकबाहेक केही हुन सक्दैन ।

  • ध्रुव सिम्खडा

अहिले बीपी छैनन्, गणतन्त्रात्मक समावेशी र धर्मनिरपेक्ष राष्ट्र छ । ‘लोकतान्त्रिक ट्रेडमार्क’ बोकेको, उनले स्थापना गरेको कांग्रेस नीतिविहीन नेतृत्व छनोटमा जुटेको छ । ३८ वर्षदेखि कांग्रेसजनले बीपीको तस्बिरमा माल्यार्पण गर्दै आएका छन् । यो वर्ष पनि बीपीलगायत नेताका तस्बिरमा कांग्रेसले वडा अधिवेशनदेखिका हरेक कार्यक्रममा माल्यार्पण गर्दै आएको छ ।

तर नीतिविहीन महाधिवेशन गरेर बीपीको उपहास हुँदैछ । महाधिवेशन समाजका नवीनतम वर्ग, क्षेत्र र समस्याबारे छलफल र बहस गरेर प्रस्तावहरू पारित गर्ने थलो हो । तर कांग्रेस यसपटक यो मान्यताभन्दा विल्कुल प्राविधिक चुनावी प्रक्रियामा गइरहेको छ । नीतिविहीन कर्मकाण्डी महाधिवेशनस्थलमा बीपीलाई सम्झनु भनेको हँसीमजाकबाहेक केही हुन सक्दैन ।

६ भाइले धान्दै आएको बीपी विचार–मन्थनको परम्परामा यसपटक सातौं भाइ (शेरबहादुर देउवा) ले विराम लगाइदिए । आजसम्म विचारमा बाँचेका बीपी र उनले स्थापना गरेको कांग्रेसलाई देउवाले विचारशून्य बनाइदिए १४औं महाधिवेशनमा ।

सक्नेलाई लाउने–खाने समस्या हुने कुरै भएन, समस्या हुने भनेकै कमजोर वर्गका लागि हो । पीँधमा रहेका कमजोरहरूसम्म पुग्नु नै लोकतन्त्रको सफलता ठान्थे उनी । आज बीपी भएका भए सायद ‘महतोनोमिक्स’ को सट्टा लोककल्याणकारी पुँजीवादको पो वकालत गर्थे कि ?

बीपी कस्तो राजतन्त्र चाहन्थे ? निःसन्देह संवैधानिक राजतन्त्र । त्यो भनेको अधिकारविहीन राजतन्त्र । लोकतन्त्रको गला घोट्ने बीपीले चाहेको राजतन्त्र थिएन । कुरा यत्ति हो कि उनी सहिष्णु, लोकतन्त्रवादी नेता भएकाले आफूलाई सैनिक लगाएर थुन्ने राजाप्रति पनि बदलाको भावना राख्दैनथे । राखेनन् । यस्तो गुण विरलै राजनीतिज्ञहरूमा पाइन्छ । सायद आज बीपी भएका भए उनका कनिष्ठ पुत्र शशांकले झैं हिन्दुधर्म र राजतन्त्रको पक्षमा आफूलाई समर्पित गर्ने थिएनन् । किनकि, बीपी सदैव प्रगतिशील विचारका धनी थिए । समयचेत भएका नेता थिए । गणतन्त्रमा नेपालको भूगोलभित्र सल्बलाउने सबै आत्महरूसहितको राष्ट्रियताको चुरो पक्रन्थे ।

बीपीः राष्ट्रवादी कि ‘अराष्ट्रवादी’ ?

नेपालमा सबैभन्दा बढी ‘गद्दार’ र ‘अराष्ट्रवादी’ भनिएका बीपी के साँच्चै त्यस्तै थिए त ? कि यो आरोप मात्रै हो ?

‘भारतीय दलाल,’ ‘विस्तारवादका पिछलग्गु’, ‘सामन्त पुँजीवादका दलाल’ जस्ता शब्दहरूले नेपाली मिडियामा १३ वर्ष अघिसम्म पनि बीपीको एकोहोरो विरोध भइरह्यो । निधनपछि पनि उनीमाथि आरोप लगाउन छाडिएन ।

‘गण्डकी, कोसी बेचुवा बीपी’ प्रतिको दरबारिया र कम्युनिष्टहरूको उग्र विरोधी ‘टोन’ आजभोलि सुनिन छाडेको छ । कमल थापा र बाबुराम भट्टराई अनि प्रचण्ड र ओली सबका सबले बीपीलाई राष्ट्रवादी नेता भनी तारिफ गर्न थालेका छन् । किन ?

हिजो बीपीले के गरे र ‘अराष्ट्रवादी’ भए ? आज कसरी राष्ट्रियताको उनीहरूको भाष्यमा ‘फिट’ हुन पुगे ? सबैभन्दा बढी ‘गद्दार’ र ‘विदेशी दलाल’ भनिएका बीपी नै आज सबैका नजरमा सबैभन्दा बढी यथार्थवादी राजनेता बन्न पुगे । राजनीतिमा सत्य, निष्ठा, निरन्तरता, स्पष्टता र सहिष्णुताजस्ता गुणहरूले नै कुनै पनि नेतालाई राजनेताको हैसियतमा पुर्‍याउँछ भन्ने दरिलो प्रमाण हुन्–विश्वेरप्रसाद कोइराला ।

सबैभन्दा बढी विरोध झेलेका तर अग्लो कदका ‘करिस्मेटिक’ नेता हुन् बीपी । नेहरू र चाउ–एन–लाईसित समकक्षी हैसियतमा रहेर विश्व राजनीतिमा अब्बल ठहरिएका हुन् बीपी ।

राजनीति, अर्थनीति, साहित्य, धर्म, राजतन्त्रबारे उनी जति स्पष्ट विचार भएका नेता विश्वमै विरलै थिए, हुन्छन् ।

राजनीतिमा उनी लोकतन्त्रवादी थिए भने उनकै शब्दमा ‘साहित्यमा अराजकतावादी’ । गान्धीको ग्राम स्वरोजगार र सुमाकरको ‘स्मल इज ब्युटिफुल’ को फर्मुलाबाट प्रभावित बीपी न्यायपूर्ण, समावेशी नेपाली समाजको परिकल्पनाकार थिए । उनी मानिसलाई ठूलो हुनभन्दा असल हुन सिकाउँथे, ठूल्ठूला र अव्यवहारिक कुरा गर्नुभन्दा स-साना र व्यवहारिक कार्यबाट जन मन जित्न सक्नुपर्ने मान्यता राख्थे ।

बीपी अचम्मको बिम्ब हुन् । राष्ट्रवादी कि ‘अराष्ट्रवादी’ ?, समाजवादी कि पुँजीवादी ?, राजावादी कि गणतन्त्रवादी ?, अराजकतावादी कि लोकतन्त्रवादी ?, धर्मसापेक्ष कि निरपेक्ष ? एउटै नेतामाथि यतिधेरै प्रश्न गर्ने सुविधा बीपीले मात्र दिएर गएका छन् ।

बीपीले हाम्रा दुवै छिमेकीसित शीर ठाडो पारेर कुरा गरे । तिनको लोभ र भयको परवाह नगरी निर्णय लिन द्विविधा पर्दा मुलुकको माटो हातमा लिएर अघि बढ्न सुझाए । यसै सेरोफेरोमा उनको राष्ट्रवादलाई बुझ्ने हो कि ?

सातभाइ कांग्रेस

बीपीले पहिलोदेखि सातौं महाधिवेशनसम्म कांग्रेसलाई वैचारिक नेतृत्व दिए । आज उनको निधन भएको ३९ वर्ष भइसक्यो । उनको निधनपश्चात् पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले राजनीतिक, आर्थिक, सामाजिकलगायत समसामयिक विषयका विभिन्न प्रस्तावहरू महाधिवेशनबाट अनुमोदन गराए । तर, यसपटक भने वडादेखि पार्टीमा निर्वाचनमात्र हुँदै आइरहेको छ । र, केन्द्रमा पनि निर्वाचनमात्र गरेर महाधिवेशन सम्पन्न हुँदैछ ।

२०१२ सालमा सुवर्ण शमशेर सभापति निर्वाचित हुँदा प्रजातान्त्रिक समाजवादी नीति पारित भएको थियो । बीपी, गणेशमानलगायत नेता/कार्यकर्ताहरू भारत प्रवास गएका बेला पनि कृष्णप्रसाद भट्टराईले स्वदेशमै बसेर पञ्चायती व्यवस्था विरोधी अभियान सञ्चालन गरिरहे । २०४२ सालमा सत्याग्रहको नेतृत्व गर्दै देशव्यापी रूपमा कांग्रेसलाई वैचारिकी प्रदान गरे ।

अर्का नेता गणेशमान सिंह जो न पार्टी सभापति भए न प्रधानमन्त्री । यद्यपि सभापति र प्रधानमन्त्री दुवै हुने अन्य ६ जना नेताहरूका हारमा पार्टीको आधिकारिक वेबसाइटमा उनलाई पनि राखिनुले सभापति/प्रधानमन्त्री हुनुमात्र ठूलो होइन रहेछ, निष्ठा र त्याग पनि चाहिँदो रहेछ भन्ने सन्देश दिन्छ । त्यसो त सिंहले कम्युनिष्टहरूसित मिल्नु हुन्न भन्ने बीपीको भाष्यमा परिवर्तन गरी कम्युनिष्टहरूसितै मिलेर २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना आन्दोलनको नेतृत्व गरे ।

बहुदल आएपछि गिरिजाप्रसाद धेरै वर्ष सत्तामा बसे । पार्टी सभापति भए । नेपाली इतिहासमा धेरै गाली र ताली खाने नेतामध्ये पर्छन् उनी । जीवनका आखिरी दिनहरूमा उनले सशस्त्र विद्रोही माओवादीहरूलाई शान्ति वार्तामा ल्याएर संविधानसभाको निर्वाचन गराए । र, गणतान्त्रिक आन्दोलनको अगुवाइ गरे । जसका लागि उनले २०६४ असोज ८ गते इन्द्रजात्राको दिन सम्पन्न महासमिति बैठकबाट स्थापनाकालदेखि कांग्रेसले विधानमा लिपिबद्ध गर्दै आएको ‘संवैधानिक राजतन्त्र’ लाई ‘डिलिट’ गरेर पार्टीलाई गणतन्त्रमा प्रवेश गराए । त्यसको एकवर्षमै शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र श्रीपेच फुकाल्न बाध्य भए । यसलाई उनको जीवनकै सबैभन्दा ठूलो वैचारिक छलाङ मान्न सकिन्छ ।

पार्टी सभापति र प्रधानमन्त्री भएका बेला सुशील कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गर्न संविधानसमा पेचिलो बनिरहेको संविधान लेखनकार्यको अभिभारा पूरा गरे । कृष्णप्रसादले जस्तै सादगी र सामान्य नेताको छवि बनाए । तर पाचौं पटक प्रधानमन्त्री बनेका र पार्टी सभापति दोहोर्‍याउने दाउमा रहेका शेरबहादुर देउवाबाट के अपेक्षा गर्ने त ?

प्रधानमन्त्रीको आसनमा देउवा छन् तर महँगी, भ्रष्टाचार र अराजकताले आमनागरिक आजित छन् । बेकम्मा कर्मचारी प्रशासनको बोझ आमनागरिकले बोक्नु परेको छ । पार्टीका विभिन्न तहमा अधिवेशनहरू भइरहेका छन् तर वैचारिकी शून्य । खाली कसलाई हराउने र कसलाई जिताउने शिवाय समाजका जल्दाबल्दा समस्याहरूमाथि बहस/छलफल भइरहेको छैन । चुनाव हुनु राम्रो हो तर त्योसँगै नीतिमाथि पनि बहस भएको भए कांग्रेस राम्रो/नराम्रो भन्ने वैचारिक मन्थनमा समाजका सबै सहभागी हुन पुग्थे । त्यसो भएको भए पार्टीको आन्तरिक निर्वाचन धनबली र बाहुबलीहरूको प्रभावबाट मुक्त हुनसक्थ्यो । देउवा हारून् या जितून् उनलाई पछिसम्म सम्झने ठाउँ रहन्थ्यो । यस्तै हो भने पार्टी र सत्ताबाट बिदा भएपछि कसले सम्झेला ? कान्तिपुरमा प्रकाशित

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech