२६ श्रावण २०७९, बिहीबार

गणेशमानले वीपीलाई गाली गरेकै थिए कि प्रदीप गिरीले ढाँटे

सम्झनामा छैटौं महाधिवेशन

  • न्युज मानसराेवर

बाँके\ कांग्रेसको महाधिवेशनलाई लिएर एउटा आरोप लाग्ने गर्छ कि त्यहाँ कहिल्यै विचारले स्थान पाउँदैन । हुन्छ त केवल कुर्सीको लडाइँ । आसन्न १४ औं महाधिवेशनमा पनि विचारको कतै चर्चा छैन । नेताहरू केवल पदको संघर्षमा छन् ।

तर, विगतलाई फर्केर हेर्दा केही अपवादहरू पनि भेटिन्छन् । जस्तो कि छैटौं महाधिवेशन । ६६ वर्षअघि भएको कांग्रेसको छैटौं महाधिवेशन धेरै अर्थमा ऐतिहासिक छ । उक्त महाधिवेशनमा नेतृत्वको पेचिलो प्रतिस्पर्धा थियो नै, वैचारिक हिसाबले पनि यसले कांग्रेसलाई नयाँदिशा निर्देश गरेको थियो ।

वीरगञ्जमा २०१२ माघ ९ गते भएको छैटौं महाधिवेशनबाटै नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई अंगिकार गरेको हो । त्यसको अर्को वर्ष २०१३ सालमा नेपाली कांग्रेस एसियन सोसलिस्ट कन्फ्रेन्सको सदस्य र २०१४ मा आएर सोसलिस्ट इन्टरनेशनलको सदस्यसमेत भयो ।

चुनाव हारेपछि वीपीलाई गणेशमानको गाली !

प्रजातन्त्र आएपछि २००७ फागुन ७ मा गठित मोहनशमशेर नेतृत्वको राणा-कांग्रेस सरकार तथा २००८ मंसिर १ गते मात्रिकाप्रसाद कोइराला नेतृत्वको सरकारमा सँगै सहभागी भएका शुवर्णशमशेर र गणेशमान छैटौं महाधिवेशनमा सभापतिका प्रत्याशी थिए । वीपीले सभापति नबनेर नेतृत्व परिवर्तन गर्ने भनेपनि दुई नेतामा सहमति नजुट्दा चुनाव भएको थियो ।

डा. बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ का अनुसार ६४ मतले गणेशमानले चुनाव हारेका थिए । शुवर्णशमशेरको २३६ मत आउँदा गणेशमान सिंहको १७२ मत आएको थियो ।

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको अनुमानमा वीपीले गणेशमान सिंहलाई चुनावमा हराउन चाहेका थिए तर ‘प्रचण्ड बहुमत’ ले सुवर्णलाई जिताउन भने चाहेका थिएनन् । छैटौं महाधिवेशनमा नोना कोइरालाले गणेशमान सिंहलाई र गिरिजाप्रसाद कोइरालाले सुवर्णशमशेरलाई सहयोग गरेको गिरी बताउँछन् । सुवर्ण शमशेरको स्मृतिमा ललितपुरको मानभवनमा रहेको सुवर्ण स्मृति परिषद्ले प्रकाशन गरेको ‘सुवर्ण स्मृति ग्रन्थ’ मा गिरीले यस्तो उल्लेख गरेका छन् ।

गिरीको दाबीअनुसार चुनाव हारेपछि वीपीलाई गणेशमान सिंहले तथानाम गाली गरेका थिए । भारतको नेहरू स्मारक एवं पुस्तकालयमा २००७ सालदेखि २०१३ सम्मको वीपी कोइरालाको डायरीमा उल्लेख भएको भन्दै गिरीले लेखेका छन्, ‘गणेशमानजीले मलाई तथानाम गाली गर्नुभयो । गणेशमानजीको बानी त्यस्तै हो, त्यो त सहन्छु । उहाँले अरु केही गर्न सक्नुहुने होइन ।’

रोचक कुरा चाहीँ २०७४ कात्तिक २४ गते प्रकाशन भएको पुस्तकमा गिरीले साभार गरेको र प्रकाशन हुन बाँकी भनेको त्यही डायरी २०७६ भदौमा काठमाडौको शिखा बुक्सले प्रकाशन गरेको छ । सम्पादक पदमबहादुर थापा र अनुवादक महेश पौड्याल भएको ‘वीपी कोइरालाको डायरी’ नामक पुस्तकमा भने गिरीले भनेजस्तो गणेशमान सिंहले गाली गरेको उल्लेख छैन ।

बरु उल्टै गणेशमान सिंह बारेको आफ्नो आशंका गलत भएको भन्दै वीपी कोइरालाले माघ १५ को डायरीमा लेखेका छन्, ‘वीरगञ्जः सम्मेलन सकुशल सम्पन्न भएकोमा म अत्यन्तै प्रसन्न थिएँ । सबैमा परिपक्वता र जिम्मेवारीवोध स्पष्टै देखिन्थ्यो । पार्टी संगठनहरूमा देशकै हाम्रो पार्टी सबैभन्दा श्रेष्ठ देखियो । गणेशमानजीको भूमिका पनि अत्यन्तै सकारात्मक रह्यो । मेरो आशंका गलतसिद्ध भयो । अध्यक्षको रूपमा सुवर्णजीको निर्वाचन सफल भयो । साँझ हामी पटनातर्फ लाग्यौं ।’

अब प्रश्न उठ्छ- गणेशमानले चुनाव हारेर गाली गरेको भन्ने कुरामा गल्ती प्रदीप गिरीको हो कि अनुवाद गरेर प्रकाशन गर्ने सम्पादक र प्रकाशक को हो ?

भान्जाको नामको नगरमा मामाको जित

वीरगंजलाई २००७ सालको क्रान्तिका प्रथम शहीदको सम्मानमा थिरबम मल्ल नगर भनेर नामाकरण भएको समयमा छैटौं महाधिवेशन भएको थियो । थिरवम मल्ल नाताले गलकोटे राजा भरतबम मल्लका छोरा हुन् । यस्तै उनी शुवर्णशमशेरका भान्जा थिए ।

थिरबमले भारतको देहरादुनमा सैनिक कलेजमा पढेका थिए । उनी भारतीय सेनाको कमिसन अफिसरको जागिर छोडेर नेपाली कांग्रेसको मुक्ति सेनामा आबद्ध भएर राणाविरोधी सशस्त्र आन्दोलनमा सरिक भएका थिए । उनकै नेतृत्वको एक सय जनाको फौजले वीरगञ्जको बडाहाकिम गारत र गोस्वारामाथि हमला गरेको थियो ।

२००७ कात्तिक २५ गते राति ३:४५ को हमलाले वीरगञ्ज कब्जा सफल भएको थियो । सागरशमशेरद्वारा लिखित अंग्रेजी भाषाको पुस्तक ‘सिंहदरबार’मा उल्लेख भए अनुसार १३० जनाको राणाको दस्ता भएको वीरगञ्जमा तीनवटा खिया परेको मेसिनगन, चार वटा रिभल्भर र एक दर्जन हाते ग्रिनेडको सहायताले कब्जा गरिएको थियो ।

कब्जा गरेको भोलिपल्ट २००७ कात्र्तिक २६ गते बिहान ढिस्कोमा बसेर सम्बोधन गर्ने क्रममा मल्ललाई काठमाडौंबाट आएको दस्ताका हवलदार पूर्णबहादुर महतले टाउको, छाती र पेटमा गोली हानेको २०५५ मा स्थापित शहिद थिरवम मल्ल मोमोरियल फाउन्डेसनले तयार गरेको ‘शहिद थिरवम मल्लः गलकोट देखी वीरगंजसम्म’ लेखमा उल्लेख छ । तीन गोली लागेका मल्ललाई वीरगञ्ज सीमापारी रक्सौलको डंकन अस्पतालमा उपचार गर्दा मृत्यु भएको थियो । २६ वर्षको उमेरमा भाइटीकाको दिन मल्लको मृत्यु भएको थियो ।

थीरबम मल्ल २००७ सालको नेपाली कांग्रेसले छेडेको शशस्त्र क्रान्तिका प्रथम शहीदमात्रै हैनन्, २००७ साल फागुन ४ गते भारतबाट प्रजातन्त्र घोषण गर्न त्रिभुवनसँगै काठमाडौ ओर्लिएका वीपीलगायतका नेताहरू पहिलो दिन थिरबम मल्लकै पिता भरतबम मल्लको निवास टक्सालमा आएर बसेका थिए । यो जानकारी डा. बद्री गौतमको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा छ ।

उनै थिरबम मल्लको कथा र व्यथा जोडिएको नगरमा भएको महाधिवेसनमा सुवर्णशमशेर पहिलोपटक नेपाली कांग्रेसको सभापति भए । आफ्नै अगुवाइमा गठन गरेको नेपाली प्रजातन्त्र कांग्रेसको समेत सभापति नभएका सुवर्णशमशेर वीरगञ्ज महाधिवेशनमा भने प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसको नै सभापति बने । नेपाल प्रेस बाट

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech