११ बैशाख २०८१, मंगलवार

खजुरा गाउँपालिकाको काम प्रभावित
  • न्युज मानसराेवर

बाँके (खजुरा) : बाँकेको खजुरा गाउँपालिका कार्यालयको कामकाज बिहीबार प्रभावित भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालमाथी हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै कर्मचारी आन्दोलित बनेपछि कामकाज प्रभावित भएको हो ।

बिहीबार बिहान १० बजेदेखी कर्मचारी कार्यालयमा उपस्थित भएपनि अधिकांसले काम नगरेको एक कर्मचारीले बताए । प्रमुख प्रशासकीय अधिकृत खरालमाथी बुधबार कार्यालयको हाताभित्रै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिकै छोरा विज्ञान कक्षपतिसहित आएका १२/१५ जना युवाको समुहले कुटपिट तथा हातपात गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको विरोधमा उत्रिएका कर्मचारीले कुटपिटमा संलग्न ब्यक्तिलाई यथाशिघ्र कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई बुधबार नै विज्ञप्तीमार्फत ध्यानार्कषण गराएका थिए । कर्मचारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी नबढाएमा बिहीबार सम्पूर्ण वडा कार्यालय, शाखा कार्यालय तथा गाउँपालिकाको कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकामै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि आक्रोशित युवाहरुको समुह गाउँपालिका पुगेर हातपात गरेको थियो । गत शुक्रबार वनभोजका लागि टिकापुर गएका बेला आफुमाथी यौन दुर्व्यवहार भएको ति महिलाले बुधबार मात्र आरोप लगाएकी थिइन् ।

यौन दुर्व्यवहारको घटना र कुटपिटको घटनालाई मिलाउने प्रयास भइरहेको गाउँपालिका स्रोतले जनाएको छ । घटनाका मुख्य संलग्न कर्मचारीलाई जोगाएर अनाहकमा प्रमुख प्रशासकीय अधिकृत खरालमाथी सुनियोजित रुपमा कुटपिट गर्न युवालाई परिचालन गरिएको कर्मचारीको आरोप छ ।

‘यसमा हाकिम दोषी छन कि छैनन् त्यो अनुसन्धानबाट खुल्ने कुरा हो, तर घटनामा संलग्न मुख्य ब्यक्तीलाई जोगाउनका लागि सबै दोष हाकिम र लेखा अधिकृतमाथी मात्रै थुपार्नु पनि न्यायोचित होइन, घटनालाई यसरी बंग्याइयो कि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतमाथी मात्रै आरोप लगाउने काम भयो,’ कर्मचारी भन्छन् ।

‘यौन दुर्व्यवहारको केशमा महिला कर्मचारीलाई जाहेरी नदिन लगाउने र कुटपिटमा संलग्न युवाहरुलाई पनि क्षमा दिने गरी दुबै केशलाई मिलाउने प्रयासमा जनप्रतिनिधीहरु लागिरहनु भएको छ,’ ति कर्मचारीले सुनाए ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech