१३ बैशाख २०८१, बिहीबार

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम
  • भविन धिताल

मान्छेका जीवनमा अनगिन्ती बाटा आउँछन्। ती बाटामा अनेकौं मोड हुन्छन्। बाटाहरु जता पनि जान्छन्। कुनै फराकिला हुन्छन्, भने कुनै साँघुरा। यद्यपि सबै बाटाले गन्तव्यमा पुर्‍याउँदैनन्। सही समयमा चालिएका सही कदम सही बाटोमा अग्रसर भए मात्र गन्तव्यमा पुग्छन्। एक्लै हिँडेर बाटो बिराउनेहरु आफू मात्रै हराउँछन् तर समूहको अगुवाइ गरेर हिँड्नेले बाटो बिरायो भने सिं‌गो समाज हराउँछ। अनि समाज हरायो भने भड्खारोमा जाकिन्छ। जीवनमा मान्छेले जानेर नजानेर बाटो बिराउँछ।

केही वर्षअघि समाज परिवर्तन गर्ने हुटहुटी चलेपछि चितवनका एक शिक्षकले बाटो बिराए। उनलाई लाग्यो, ‘बन्दुकको नालबाट गोली ननिकाली समाज परिवर्तन हुँदैन।’ अनि उनी ज्ञान सिकाउने कलमलाई थाती राखेर ‘हिंसाको पाठ पढाउने’ बन्दुक समाउने कठोर निर्णयमा पुग्छन्। चितवनका ती दाहाल सरले त्यसलगत्तै जनयुद्धको थालनी गरे।

कुरा त्यतिमै सीमित भएन उनलाई साथ दिन देशैभरबाट धेरै शिक्षकहरुले बाटो बिराए। शिक्षकहरु नै अगुवा बन्दा तिनको विचारको प्रभावले देशका धेरै युवा उनीहरुसँगै युद्धको बाटोमा हिँडे। समाजमा रहेका अपेक्षाकृत आलोचनात्मक शक्ति कम भएका मानिसलाई त उनीहरुको विचारले प्रभाव पारे नै तर समाजका चेतनशील भनिएका मान्छे पनि उनीहरुको विचारसँगै बगे।

आफ्नो वाकपटुता र चातुर्यको उपयोग गर्दै ती शिक्षकले देशलाई दस वर्षसम्मा युद्धमा होमे। ती शिक्षकले अरु शिक्षकको सहयोग लिँदै ‘युगान्तकारी परिवर्तन’, ‘ऐतिहासिक छलाङ’ जस्ता शब्दावलीको सिर्जना गरे। सबैलाई थाहा भएकै कुरा हो, शिक्षक त्यस्तो व्यक्ति हो, जो समाजमा भिजेको हुन्छ, जसले समाजको मर्म बुझेको हुन्छ। उसले समाजलाई परिवर्तनको बाटो देखाउन सक्छ, आफ्नो ज्ञान र कलमको सहायताले सग्लो समाजको चित्र कोर्न सक्छ, आफ्नो विचारको प्रभावले समाजमा तरंग ल्याउन सक्छ।

जगजाहेर छ, नेपाली समाजमा दसवर्षे गृहयुद्धका डोब अझै ताजै छन्। इतिहासलाई केलाउँदा समाज विभाजनको मुख्य जिम्मेवार शक्ति नै शिक्षक भएको देखिन्छ। समाजमा नयाँ अभियान शिक्षित तथा चेतनशील मानिसबाटै भएको देखिन्छ। अशिक्षित व्यक्ति घटनालाई नियाल्न, बुझ्न र समयसापेक्ष निर्णय गर्न कतिपय अवस्थामा असमर्थ हुन्छ। तसर्थ समाजमा रहेका अन्धविश्वास र कुरीतिको जग बसाल्ने वा जग उखेल्ने काम शिक्षित भनिएका व्यक्तिहरुबाट नै हुन्छ।

कृषि स्नातकदेखि क्रन्तिकारीसम्मको छवि

कृषि क्याम्पस रामपुरबाट स्नातक गरेका छविलाल दाहाल १० वर्षे युद्धमा देशलाई डोर्‍याउनुअघि शिक्षक थिए। बोलीचालीको भाषामा अझै पनि शिक्षकलाई मास्टर भनिन्छ, छविलाल त्यो बेला एक मास्टर थिए। ज्ञानको मार्ग त्यागेर हिंसाको मार्गमा अग्रसर हुँदा उनी मास्टरमा मात्रै सीमित भएनन्, प्रचण्ड बने। आफ्नो प्रचण्ड प्रतापी आभामा उनले रामलाल, बाबुरामलगायत धेरै मास्टरका जत्थालाई समाहित गर्दै लगे।

सबैभन्दा क्षति कसलाई भयो त दस वर्षे द्वन्द्वमा? हेर्ने हो भने सबैभन्दा बढी क्षति शिक्षक र र विद्यार्थीलाई भयो। विद्यालयलाई भयो। हजारौं मान्छे मरे। अरु हजारौं टुहुरा टहुरा बने। अपांग भए।

मृत्युको संख्या अकासिँदै गयो। १७ हजारको ज्यानका आहूति दिएपछि ‘जनयुद्ध’ लाई विश्राम दिइयो। संविधानसभा चुनावपछि सिंहदरबारमा मात्रै सीमित कागजी ‘गणतन्त्र’ आयो। तर, दुःखको कुरा हिजो युगान्तकारी परिवर्तनका लागि लडेकाहरुको जीवनमा कुनै परिवर्तन आउन सकेन। आजभोलि फेरि वर्षौंअघि बाटो बिराएका उनै ‘छविलाल मास्टर’ भाषण गरिरहेका छन्— शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ।

उनको आसय प्रस्ट छ, शिक्षकले नै पार्टी राजनीति गर्ने भएकाले उनलाई राजनीतिमा लगाउनुपर्छ। शिक्षक नै पार्टीको खेताला भएपछि सिंगो समाज नै पार्टीको खेताला बन्न सक्छ। अनि पार्टी चलाउन र सत्ता चलाउन सहज हुन्छ।

छविलाल माड्सापले अझै आफ्नो देश कमजोर भएको देखेका रहेनछन्, आफ्नो समाज थिचिएको देखेका रहेनछन्, युद्धका कारण सिपाहीका शरीरमा गडेको गोलीका छर्रा देखेका रहेनछन्।

उनले अझै पनि पार्टी मात्र देखेका छन्, जुन पूर्व–शिक्षक छविलालको एउटा ठूलो भ्रम हो। उनी आफ्नो त्यो पार्टीको कुरा गरिरहेका छन्, जहाँ उनका युद्धका सहपाठीहरुले पूर्ण रुपमा विश्राम लिइसकेका छन्। उनी आपूmले जितेको महसुस गर्छन् जहाँँ उनका सिपाहीहरु आफ्नो जीवनसँग पूर्णरुपमा हारेको महसुस गर्छन्।

युद्धका बेलामा ‘मास्टर भएर राजनीति गर्ने?’ भनेर यिनै कथित छलाङवादीले लमजुङका एक निर्दोष मुक्तिनाथ अधिकारीलाई पढाउँदापढाउँदै कक्षा कोठाबाट लगेर निर्मम हत्या गरे। आज आएर फेरि उनी समाज परिवर्तनका उत्प्रेरक शिक्षकहरुलाई राजनीति गर्न उक्साइरहेका छन्।

१० वर्षे युद्धले हामीलाई राजनीतिक रुपमा चेतनशील बनायो। यो चेतनाले अधिकारको यति चर्को कुरा गर्यो कि कर्तव्यको आधारभूत परायणता पनि देखाउनु नपर्ने गरी समाज अघि बढ्दै गयो।

जनता अहिले आएर विगतको जस्तै एमाले, माओवादी, कांग्रेस र राजावादीको कित्तामा विभाजित भएका छन्। अनि समाजका अंगका रुपमा रहेको शिक्षकहरु पनि आ–आफ्नो दलका झण्डा बोकेर हिँड्ने कार्यकर्तामा सीमित भएका छन्।

६२–६३ सालको जनआन्दोलनपछिका घटनाक्रमलाई हेर्ने हो भने हरेक राजनीतिक पार्र्टीले आयोजना गर्ने जनसभामा स्कुले विद्यार्थीको बाक्लो उपस्थिति देखिन्छ। काठमाडौंमा रहेका स्कुलका विद्यार्थी पनि राजनीतिक पार्टीका ब्यानर बोकेर प्रदर्शनमा जाने गरेका छन्। विद्यार्थीहरुको कलिलो बालमस्तिष्कमा कांग्रेस, एमाले, माओवादीजस्ता विभाजनकारी शब्द र विचार घुसाएर हामी कस्तो समृद्ध समाजको कल्पना गर्दैछौं?

विश्वविद्यालयको पद्धतिलाई हेर्ने हो भने पनि राजनीतिक पार्टीका कोटाअन्तर्गत विश्वविद्यालयका उपकुलपतिलगायतका अन्य पदाधिकारी छानिन्छन्। अन्वेषण र खोजको उच्चतम विकासद्वारा समाज परिवर्तनको आकार कोर्ने प्राज्ञिक थलोहरु पुरातन राजनीतिक सोचबाट ग्रसित छन्।

विभाजित मस्तिष्क र त्यसबाट नि:सृत विभाजनकारी विचारहरुबाट समाज परिवर्तन असम्भव छ। शिक्षाको ज्योति छर्ने शिक्षकहरुको सही मार्गदर्शनबाट एक असल र अनुशासित व्यक्तिको जन्म हुन सक्छ जसबाट समाज परिवर्तनको सम्भावना रहन्छ।

शास्त्रमा बताइएको छ– ज्ञान त्यो हो जसले मुक्ति दिन्छ। तसर्थ, शिक्षक समाजका पथ–प्रदर्शक हुन्, जसले समाजमा व्याप्त कुरीति, विसंगतिबाट समाजलाई माथि उठ्नका लागि बाटो देखाउन सक्छन्, समाजलाई मुक्तिका लागि अग्रसर गराउन सक्छन्। समाज परिवर्तनसँगै देशको समृद्धिमा ठूलो योगदान दिन सक्छन्।

समाजको छवि उँचो राख्नका लागि हरेक शिक्षकले आफ्ना विद्यार्थीलाई समानताको ज्ञान दिनु जरुरी छ, नैतिकता र अनुशासनको शिक्षा दिनु जरुरी छ। के राजनीतिक पार्टीका झण्डा बोक्ने शिक्षकबाट यस्तो परिवर्तन सम्भव छ?

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

यो सबै घटनाबाट हामीले के सिक्न जरुरी छ भने समाज परिवर्तनका लागि शिक्षकको महत्त्वपूर्ण भूमिका छ। जबसम्म शिक्षकले राजनीतिक पार्टीको झण्डा बोक्न छोडेर समाजमा सही र गलतको भिन्नता देख्न सक्ने गरी व्यक्तिको चेतना उकास्ने कष्ट गर्दैनन्, तबसम्म समुन्नत समाजको निर्माण हुन सक्दैन।

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech