१२ श्रावण २०८१, शनिबार

पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन नेपालगञ्जमा जारी
  • न्युज मानसराेवर

बाँके\ गुणस्तरिय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, साङ्गठनिक आधार भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन नेपालगञ्जमा सुरु भएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका पुस्तक तथा स्टेशनरी व्यावसायी सहभागि रहेको सो अधिवेशनको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शनिबार उद्घाटन गरेका हुन । उनले पुस्तक व्यवसायीको सेवाभाव सहितको योगदानका कारण राज्यले मुलुकको कुना कन्दरामा पुराउन नसकेको पाठ्यपुस्तक पुगेको बताउदै शिक्षित नागरिक उत्पादन गर्नमा पुस्तक तथा स्टेशनरी व्यवसायीका ठूलो भूमिका रहेको बताए ।

उनले राज्यले पनि व्यवसायीको मर्कालाई ध्यानमा राखेर जायज मागहरु सम्बोधन गर्दै काम गर्ने बाताबरण बनाई दिनको लागि आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिए । पाठ्य पुस्तक व्यावसायीको योगदानको कारण नागरिकले शिक्षित हुने अवसर पाएको भन्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मनोहरी बस्यालले संघ, महासंघ व्यावसायिक सुरक्षा र व्यवासायिक बताबरण सृजना गर्नको लागि स्थापना गरिएको कुरामा जोड दिदै राज्यले पुस्तक तथा स्टेशनरी व्यवसायिकको योगदानको कदर गर्दै न्युनतम सुविधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्ने बताए ।

महासंघका महासचिव दिवाकर घिमिरेले राज्यले अत्यन्तै न्युन दरमा पाठ्य पुस्तक उपलब्ध गराउदा पनि आफ्नै खर्चमा ढुवानी गरेर तोकिएकै मुल्यमा बिक्रि गरेर सेवा प्रदान गर्दापनि व्यवसायको सुरक्षाको अवस्था नहुनु बिडम्बना भएको बताए । उनले नीतिगत कमजोरीको कारण आफुहरु मर्कामा पर्दै आएको जिकिर गरे ।

संघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त लामिछानेले देशको शैक्षिक जमात उत्पादन गर्न अहम भुमिका निर्वाह गर्ने पुस्तक तथा स्टेशनरी व्यवसायीलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गर्दै अनावश्यक लाक्षणा र आरोप लगाउने गरिएको भन्दै दुख प्रकट गरे ।

उनले संघले अघि सारेको ‘हातहातमा पुस्तक र घरघरमा लाईब्रेरी’ स्लोगनलाई सार्थक बनाउन प्रदेश सरकारले सहयोग गर्नको लागि लुम्बिनी प्रदेश प्रमुखको ध्यानाकर्षण गरादै भने–‘ हामीले हातहातमा पुस्तक र घरघरमा लाईब्रेरी स्लोगनलाई सार्थक बनाउन लुम्बिनी प्रदेशका सबै जिल्लामा लाईब्रेरी स्थापना गरी पठन संस्कृतिको विकास गर्न उद्घोष गरेका छौ । यसलाई प्रदेश सरकारले पनि हातेमालो गर्न आवश्यक छ ।’

सो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलगायले व्यवसाय मैत्री बाताबरण सृजना गरी व्यवसायको संरक्षण गर्न राज्यले पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए । उद्घाटन शत्रपछिको बन्द शत्रमा प्रदेशको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech