२७ श्रावण २०७९, शुक्रबार

दुई सय महिलाका कथामा समाज खोज्दै शान्ता
  • न्युज मानसराेवर

बाँके\ शान्ता नेपालीको धेरै वटा परिचय छन्। पछिल्लो समय उनी फिल्मकर्मीको रूपमा चिनिन्छिन्। उनी चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को निर्देशक पनि हुन्।

शनिबार काठमाडौंको विशालबजारमा आयोजित ‘टेड टक्स पुतलीसडक वुमन’ कार्यक्रममा शान्ताले आफ्ना तिनै कथा सुनाइन्। फिल्मकर्म आफ्नो कथा भन्ने माध्यम भएको उनी बताउँछिन्। ‘फिल्म मेकिङ मेरो लागि मलाई पनि सुन्न आह्वान गर्ने माध्यम बनेर आयो,’ उनी भन्छिन्, ‘म फिल्मको माध्यमबाट आफ्नो कथा भन्न खोजिरहेको छु।’

धरानमा जन्मिएर त्यहीँबाट ‘करिअर’ सुरु गरेकी शान्ता पत्रकारिता, टेलिभिजन हुँदै फिल्मकर्ममा आइपुगेकी छन्। उनी भन्छिन्, ‘अरुको अन्तरवार्ता लिँदा क्यामेरापछि बसेर काम गर्दा सजिलो रहेछ। यसरी सबैको अगाडी आएर आफ्नोबारे बोल्दा डर लाग्ने रहेछ।’

शान्ताले लामो समय पर्दापछाडि रहेर काम गरिन्। अहिले फिल्ममा सक्रिय रहँदा पनि उनी पर्दापछाडि बसेर नै काम गर्छिन्। उनी निर्देशक र सिनेमेटोग्राफर हुन्। शान्ताले आफ्नो औपचारिक शिक्षा धरानमा नै पूरा गरिन्। सँगसँगै विभेदको लामो श्रृङ्खला भोगेर यहाँसम्म आइपुगेकी हुन्। ‘म हुर्किदैं गर्दा जातको आधारमा जुन किसिमको विभेद मैले भोगेँ, त्यसले दिमागमा हामी अरुभन्दा सानो रहेछौं, हामीमा केही कमी रहेछ भन्ने लाग्थ्यो,’ उनी विगत सम्झिन्छिन्।

शान्तालाई मिडिया, फिल्मजस्ता विषयबारे धेरै थाहा थिएन। बुझ्ने र अध्ययन गर्ने अवसर पनि पाएकी थिइनन्। बरु नर्सिङ पढेर जागिर खाने सपना बुनेकी थिइन्। तर, उनको जीवन भने अर्कै बाटोमा हिँडिरहेको थियो। वास्तवमा धरानमै भोगेको एक दिनको घटनाले उनको बाटो मोडिएको थियो।

उनी बाटोमा हिँडिरहेकी थिइन्। केही युवक बसिरहेको ठाउँ नजिक पुगेपछि उनीहरुले शान्तालाई जातको आधारमा नकारात्मक टिप्पणी गरे। ‘उनीहरुले मलाई जिस्काउन समग्र समुदायलाई नै होच्याउने शब्द प्रयोग गरे,’ शान्ता सम्झिन्छिन्, ‘त्यो घटनापछि मैले आफू उनीहरुभन्दा कम नभएको देखाउने प्रण गरेँ। अनि मेरो जिन्दगीको सपना बदलियो।’

त्यसपछि उनले आफ्ना कुरा भन्न धरानको दैनिक पत्रिका ‘ब्लाष्ट टाइम्स’मा लेखहरू लेख्न थालिन्। उनले सुरुवातमै जातीय विषयवस्तुमा कलम चलाइन्। पत्रिकामा लेख्दैजाँदा उनलाई महसुस भयो, उनले समुदायलाई आफ्नो कथा सुनाउन नयाँ माध्यम छान्नुपर्ने रहेछ।

पत्रिकामा लेख लेख्न थालेपछि उनी गाउँघर घुम्न थालिन्। समाज बुझ्दै, लेख्दै जाँदा उनलाई धरान सानो लाग्यो। थप विस्तारित हुन् काठमाडौं आइन्। पहिलो पटक करिअर खोज्दै काठमाडौँ खोज्दा उनीसँग ६/७ हजार रुपैयाँ मात्रै थियो। ‘म केही गर्छु, केही भएर देखाउँछु भन्ने सोचसहित आएको थिएँ,’ उनी सम्झिन्छिन्, ‘१८/१९ वर्षको उमेरसम्म मैले विभेद भोगेको थिएँ। त्यही कुराहरुले मलाई केही गर्नुपर्छ भन्ने आँट दिएको थियो।’

धरानमा हुँदा धरान नै ठूलो लाग्थ्यो उनलाई। तर, काठमाडौं झन् ठूलो रहेछ। यो ठूलो ठाउँमा पनि उनी पत्रकारितामा नै सक्रिय भइन्। ‘उज्यालो नेटवर्क’सँग आवद्ध भएकी उनी रिपोर्टिङका लागि प्रायः फिल्डमै हुन्थिन्। तर, फिल्डमा महिलालाई नदेख्दा उनलाई अनौठो लाग्थ्यो।

एकातिर जातीय र अर्कोतिर लैङ्गिक विभेद। शान्ता अन्योलमा थिइन्, पत्रकारिता नै छाड्ने कि भन्नेसम्म सोच आएको थियो। ‘काममा विभेद त हुन्थ्यो, तर त्योभन्दा बाहेक पनि कुराहरु हुन्थे,’ उनी भन्छिन्, ‘यस्तो खाम् न, यता जाउँ न भन्ने अफरहरु आउँथे। रिपोर्टिङमा जाँदा पनि फरक-फरक कमेन्टहरु आउँथे। यसले काम नगरौं, मान्छेसँग नभेटौं भन्ने मानसिकताको विकास हुँदो रहेछ।’ तर, शान्ताले हार खाइनन्। उनले परिस्थितिबारे थाहा पाइन्, त्यसपछि प्रतिकारमा उत्रिइन्।

लेखन पत्रकारितासँग उनी सन्तुष्ट हुन सकिनन्। अनि लागिन् ‘भिजुअल’ माध्यमतिर। टेलिभिजनमा पत्रकारिता थालेको केही समयपछि उनले ‘डेस्टिनेसन नेपाल’ नामक कार्यक्रम चलाउन थालिन्। सन् २०११/१२ ताका यो कार्यक्रम ‘तराई टेलिभिजन’बाट प्रसारण भएको थियो।

‘त्यो कार्यक्रम चलाइरहँदा मैले आफ्नो देशलाई चिन्ने मौका पाएँ,’ शान्ता भन्छिन्, ‘त्यो बेला घुम्न पाएँ। देशभर घुम्न पाउँदा महिलाहरूको कस्तो अवस्था छ भन्ने देख्न पाएँ। त्यसमा पनि फरक-फरक जातिका महिलाको समस्या फरक–फरक नै भएको देखें।’

शान्ता डेस्टिनेसन नेपाल कार्यक्रमका लागि दूरदराजमा पुगिन्। देशको अनुहार देखिन्। आफ्नोजस्तै अरु समुदायका मानिसले भोगिरहेको अत्याचारका कथा भेटाइन्। उनीसँग आफ्नो कथा कसरी भन्ने प्रश्न थियो। त्यसैले उनी टेलिभिजन कार्यक्रमसँगै फिल्मतिर पनि संलग्न हुन थालिन्। सँगै ‘हिमालयन रोडिज’ कार्यक्रम निर्माणमा संलग्न भइन्।

शान्ता पछिल्लो समय ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रममा संलग्न छिन्। आफू आएको समुदायमा पनि आफू केही विशेषाधिकारसहितको स्थानमा भएको उनी बताउँछिन्। जातको प्रश्नका दुई संस्करणको निर्माणका क्रममा देखेका दृश्यले उनलाई यस्तो सोच्न बाध्य बनाएको हो।

‘के गर्ने, कसरी गर्ने भन्ने कुरा सोच्नै नसक्ने अवस्था देखेको छु,’ शान्ता भन्छिन्, ‘मान्छे मान्छे जस्तो छैन। तराई गएर जुन अवस्था देखेँ, त्यसले मलाई महिना दिनसम्म सोच्न नसक्ने बनाएको थियो। सात वर्षको बच्चालाई हिँड्दाहिँडदै बलात्कार गरेका घटना छन्। ती कुराले मलाई हाम्रो कथा भन्नुपर्छ भन्ने प्रेरणा दिएका छन्।’ यी घटना उनी फिल्मको माध्यमबाट भनिरहेकी छन्।

आफ्ना र आफूजस्तै विभेदमा पारिएका समुदाय र लिङ्गका कुरा भन्न थालेपछि शान्ताले एउटा फरक अभियानबारे सोच्न थालिन्। महिला चलचित्रकर्मीहरूलाई लिएर शान्ता र अन्य साथीहरूको नेतृत्वमा ‘वुमन फिल्ममेकर इन नेपाल’ नामक संस्था जन्मियो। ‘विदेशबाट एउटा प्रोजेक्ट आएको थियो, जहाँ सबै क्रु मेम्बर नै महिला चाहिएको छ भन्ने थियो,’ उनी भन्छिन्, ‘मैले धुइँधुइँती खोजें, तर तीन चार जना मात्रै पाएँ। त्योबेला मलाई अहिलेसम्म आफूले आफ्नैबारेमा मात्र सोचेको भन्ने लाग्यो। यो क्षेत्रमा महिला त रहेनछन् भन्ने लागेको थियो। किन मैले महिला भेटिरहेको छैन भन्ने खोज्दा यो संस्था जन्मिएको हो।’

उक्त संस्थाको मूल उद्देश्य मिडिया वा भिजुअल क्षेत्रमा काम गरिरहेका महिलालाई एकै ठाउँमा ल्याउने नै छ। महिलाहरूलाई रुचि लागेको काममा आबद्ध गराउनेदेखि आवश्यक उपकरण उपलब्ध गराउनेसम्मका काम यो संस्थाले गरिरहेको छ। हाल संस्थामा २०० भन्दा धेरै महिला फिल्मकर्मी आवद्ध रहेको शान्ता बताउँछिन्। ‘संस्था मैले बनाएँ, तर त्यो मेरो होइन,’ उनी भन्छिन्, ‘हामी समय–समयमा कार्यशाला गरिरहेका छौं। कसैलाई कुनै सहयोग चाहिँदा संस्थामार्फत उपलब्ध गराइरहेका छौं। संस्थाबाट हामीले एक–अर्कालाई सहयोग गर्ने काम गरिरहेका छौं।’

२०० महिलाले आफ्नो कथा भन्ने हो भने धेरै कथा आउने उनी बताउँछिन्। हरेक महिलाले एक–एक वटा कथा मात्रै सुनाउने हो भने पनि २०० वटा कथा आउने र तिनीहरूले समाजको एउटा चित्र देखाउने उनको भनाइ छ। ‘हाम्रो भोगाईलाई कसरी फिल्मको माध्यमबाट बाहिर ल्याउने भन्ने कोसिस गरिरहेका छौं। हिजो म आफैंले काम गर्दा पनि यो देखाउनु हुँदैन, यो हेर्दैनन् भन्ने लाग्थ्यो। तर, अहिले आफ्नो कथा आफैंले भन्नुपर्छ भन्ने लागेको छ। अब हामी सामूहिक रूपमा हाम्रा कथा भन्दैछौँ’, शान्ता भन्छिन्।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech