१६ चैत्र २०८०, शुक्रबार

भुइँमान्छे नभेटिएको कांग्रेस महाधिवेशन
  • डा. भोजराज शर्मा काफ्ले

दोलखा जिल्लाको एक घटना र गुल्मी जिल्लाको अर्को एक घटनाले २०७८ सालको मंसिर २५ गते शनिबारको बिदाको दिन नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदै गरेको स्थान भृकुटीमण्डपतर्फ तानिएको थिएँ।

२०७२ सालतिर दोल्खामा जिल्ला शिक्षा अधिकारी भएको बेला एउटा दुर्गमतिरको विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा विवाद भएकोले त्यहाँ पुग्नुपर्ने भयो। सिंगटी भन्ने ठाउँसम्म कार्यालयको मोटरमा पुगियो। त्योभन्दा पर बाटो राम्रो नभएकोले जान नसकिने मोटर चालकले बताए। त्यस ठाउँसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं हामीलाई लिन आएका रहेछन्। उनी ३३–३४ वर्ष उमेरका जस्ता तामाङ थरका मोटाघाटा मान्छ देखिन्थे। ‘मेरो आफ्नै गाडी छ। म आफैं चलाउँछु। हजुरहरु यहाँबाट फर्किन भएन। हाम्रो विद्यालय पुग्नैपर्यो, जाउँ,’ उनले भने।

म पनि फर्किने सोचमा थिइन। तर हिँडेर नै जाने विचार थियो। त्यसरी जाँदा धेरै समय लाग्ने र त्यो दिन त्यहीँ बस्नुपर्ने अवस्था देखियो। भोलिपल्ट अर्कै ठाउँमा कार्यक्रममा नगई नहुने भएकाले फर्किन पर्ने नै थियो। डराइ डरनइ म उनको मोटरमा चढें। पानी आएको थियो। कच्ची बाटो। तथापि उनले बडो सतर्कताका साथ बेलाबेलामा फोरह्विल लगाएर गन्तव्यमा पुर्याए। पुगेपछि विद्यालयमा उनकै अध्यक्षतामा बैठक बस्यो। निकै विवाद भयो। अन्तिममा मैले भनेकै कुरामा सहमति भयो। अध्यक्ष निकै खुसी भए जस्तो लाग्यो। हामी फर्कियौं।

केही घण्टाको बाटो थियो। गफगाफ निकै भयो। ती अध्यक्षको गाडी चलाउने सीपको मैले निकै प्रशंसा गर्न पुगेंछु। ‘म त हजुर द्वन्दमा कस्ता कस्ता ठाउँमा गाडी चलाइयो। उहाँ प्रधानमन्त्री हुँदा पनि गोरखाको कुना कुनामा गाडी चलाइयो’ भने। म निकै अचम्ममा पर्दै उनको बारेमा जानकारी लिने प्रयास गरें। उनी त माओवादी युद्धपूर्व काठमाडौंका ट्याक्सी चालक रहेछन्। पछि माओवादी लडाकु र चालक भएछन्। डा. बाबुराम भट्टराई अर्थ र प्रधानमन्त्री हुँदा उनकै चालक रहेछन्।

‘त्यस्तो ठाउँमा पुगिसकेको तपाईं अहिले यहाँ ? भनेर मैले प्रश्न गरें। उनले उत्तर दिए ‘त्यहाँ सधै ड्राइभर हुनपर्ने हजुर। लडाकुले पाउनुपर्ने केही लाख रुपैयाँ पाएँ अरु पनि मिलाएर दुईवटा गाडी किनेको छु। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भइएको छ। डिसिएम पनि हो म त। ठीकै गरेको जस्तो लागेको छ सर।’

म अलमलिएँ डिसिएम भनेको के होला भनेर। त्यो त माओवादी पार्टीको जिल्ला समितिको सदस्य भनेको रहेछ। उनीसँगको यात्रा साह्रै रमाइलो भयो। हाम्रा विद्वान पूर्व प्रधानमन्त्रीको दैनिकी र व्यक्तिगत जीवनशैलीका बारेमा निकै गन्थन भए। सशस्त्र आन्दोलनका घटनाका बारेमा गफगाफ भए।

त्यही शिलशिलामा उनले भने, ‘हजुरले असजिलो नमान्ने भए एउटा कुरा सोध्न मन लाग्यो। मलार्इ कुराले उचाल्दै तपाईं जस्तो विद्वान जिशिअ पाइयो खुसी लागेको छ भन्दै भूमिका मिलाउँदै प्रश्न सोध्ने अनुमति पुनः मागे। मैले सहजै हुन्छ भन्नुहोस्,सोध्नुहोस् न भनें। उनले त मलाई राजनीतिक कुरा पो सोधे, ‘होइन हजुर त्यो कांग्रेसलाई मान्छेले किन भोट हाल्छ? हाम्रो यहाँको चुनावमा तिनीहरुले प्रचार नै गरेको थिएन। वल्लो गाउँ पल्लो गाउँ सबैबाट अलिअलि भोट आएको आयै भयो सबै जोड्दा त झण्डै जितेको। उनीहरुकै मान्छेले अन्तरघात गरेको रहेछ। नत्र जितिहालेको। मेरो नजिकको छेमाहरु र अरु कोकोले पनि त्यसैलाई हाल्ने हो भनेर भोट दिएछ।’ म अलमलिएँ। भने, ‘मैले म खासै राजनीतिक कुरा बुझ्दिनँ। चासो पनि त्यति छैन। राजनीतिको विद्वान त तपाईं पो हो। त्यत्रो धेरै अनुभव तपाईंसँग छ। ल यसमा तपाईंको विचार भन्नुहोस्। त्यसमा मेरो चित्त बुझे नबुझेको कुरा भनौंला।’

उनले आफ्नो कुरा सुरु गरे। ‘होइन हजुर त्यसले ब्याज पाएको होला।’ मैले बुझिनँ भनें। ‘२००७ साल, २०४७ साल, २०६३ साल सबैमा उसैले नेतृत्व गर्यो। अनि त्यसैले उसलाई भोट दिन्छन् होला,’  उनले भने। म धेरै त्यसमा प्रवेश गर्न नचाहेर टार्ने कोशिस गर्दै थिएँ। उनले अरु थपे ‘होइन हजुर हाम्रो नेपालीहरुलाई धेरै ठूला विकास चाहिएको छैन कि अथवा राजनीति गर्नेहरुमा विश्वास छैन एउटा कुरा हो जस्तो लाग्यो। बरु धेरै हल्ला खल्ला नगर्ने धेरै महत्वाकांक्षी पनि नहुने। धेरै नबिगार्ने पार्टी नै मन पराउँछ क्या हो। त्यो कांग्रसले त्यतिकै भोट ल्याउँदो रैछ।’ त्यो भन्दा बढी त्यो विषयमा कुरा भएन। मैले कुरालाई अर्कै विषयतर्फ मोड्न सफल भएकोमा लामो सास फेरें।

त्यस्तै अर्को घटना गुल्मीको दुर्गम गाउँ अर्लाङ्ककोटको फेदीमा भयो। एकरात विद्यालय अनुगमनको क्रममा जिल्लाको दुर्गम ठाउँ, बागलुङको सीमा, बूढीगण्डकी नदीको किनारको बस्तीमा बस्न पर्ने भयो। एउटा घरमा लगेर शिक्षक साथीहरुले राखे। म सुत्ने कोठा ठूलो हल जस्तो थियो। गाउँका १२–१५ जना मान्छे जुटेका थिए। केही समयको गफगाफपछि म निदाए जस्तो मानेछन्। मैले उनीहरुको विद्यालयका बारेमा गरेको कुरामा निकै खुसी जस्तो लाग्यो। उनीहरुले गाउँका गार्इभैंसीका कुरा गरे। अर्मपर्मका कुरा गरे। त्यसपछि राजनीतिका कुरा चले। उनीहरुले कोइराला परिवार नभई नेपालको राजनीति राम्रो हुँदैन, कांग्रेस राम्रो हुँदैन, नेपालमा प्रजातन्त्र खत्तम हुन्छ जस्ता गफ गरे। तिनीहरुमध्ये अर्को दलका मान्छे पनि त्यहाँ रहेछन् उनले पनि होमा हो मिलाए।

उनीहरु एक छिनपछि गए, म दंग परिरहें। यिनलाई कांग्रेस होउन् कि कम्निस्ट केको चिन्ता  होला। त्यति साह्रो त्यो दल प्रति आत्मियता र प्यार। पछि मैले एउटा प्रसंगमा त्यस जिल्लाका तत्कालीन नेपाली कांग्रसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठलाई सोधें, ‘त्यहाँका मानिसहरु त तपाईंको पार्टीका पनि धेरै नै रहेछन्। तपाईंको गुटका हुन् कि अर्कै? उहाँले भन्नुभयो, ‘‘तिनीहरु सबैभन्दा दुःखी तपार्इंले गरेजस्तो प्रश्नमा हुन्छन्। हामी विभिन्न गुटमा हुँदा हुन्छन्। उनीहरु साह्रै परिश्रमी छन्। कहिले पनि गुनासो हुँदैन। एउटामात्र कुरा गर्छन्, कांग्रेस राम्रो हुन पर्छ। जनताको भलो गर्नपर्छ। २०१४ हो कि २०१५ साल तिर बीबी त्यहाँ एक रात बस्नु भएको थियो रे। त्यसबेलादेखि त्यहाँका मानिस प्रायः सबै कांग्रेस छन्। त्यहाँका अर्को दलका मानिस पनि सभ्य र शिष्ट छन् जिशिअ साहेब।’ ती प्रकृतिको सामिप्यमा भएका रैथाने कृषकहरुको गाउँको विद्यालय पनि मध्यम खालको र आफ्नै गतिमा चलेको थियो।

मन मस्तिकमा स्थान जमाएका यी घटनाले भृकुटीमण्डपको अवलोकन गर्न पुर्याए। दिनको ठूलै अंश सुस्तसुस्त हिँडाइ र केही बेरको उभ्याइमा त्यो महाधिवेशन परिसरमा बिताएँ। मैले चिनेका मानिस त्यहाँ खासै कोही पनि थिएनन्। त्यसले गर्दा पनि गफ गरेर अलमलिन परेन। त्यहाँ युवादेखि बूढासम्मका विभिन्न उमेर समूहका पात्रहरु थिए। महिलाहरुको पनि बाक्लै उपस्थिति थियो। शुरुमै एउटा समूहको नजिक पुगिएछ, १०–१२ जनाको समूहमा गफगाफ भइरहेको थियो। एकजना अधवैंशे युवाले दुःख व्यक्त गर्दै भने, ‘डालोमा सबै कुहिएको सुन्तला छ के गर्ने? जुन झिकेपनि कुहिएकै आउने हो। यिनै बुढाहरुलाई मात्र भोट हाल्नपर्ने। यस्ताबाट अब देश चल्दैन, कांग्रेस चल्दैन। अरु पदमा त बरु त्यो गगन लगायत एक दुईजना छन्। तर जुन मूली हो उ त उही चाउरी परेको थाकेको र जाँगर नभएको मात्र छ, के गर्नु खै ! फलानो फलानो नउठेको भए त म त फर्किने थिएँ।’

 

त्यहाँ नारा र जुलुस पनि थिए। मेचीकाली के भन्छ एक जना फलाक्छन्, अर्कोले फलानो दाइ भन्छ भन्दै उफ्रिएका पनि थिए। फलानो र फलानो व्यक्ति भन्नेहरुकै वर्चश्व थियो। फलानाको विचार यस्तो भनेको न देखियो न सुनियो। विचारको गन्थन कहीँ कतै देखिएन। विश्वप्रकाश शर्माले ल्याएको दुई वर्ष, तीन वर्ष र चार वर्षको दृष्टिकोण पनि न पोस्टरमा न कहीँ कतै गन्थनमा सुनियो। बरु एक जना मधेशतिरका मधेशी मूलकै मैथिलि लवजका सामान्य मानिसले कस्तो आँट नभएको मानिस रहेछ, त्यस्तो राम्रो विचार ल्याएको थियो सभापतिमा उठ्नु नि भनी असन्तुष्टि र गुनासो गरेको सुनियो।

सबैजसो मानिसहरु सुकिला मुकिलै थिए। एका दुई विशेष गरी मधेशमूलका आफ्नै त्यहीको सामान्य पोशाकमा देखिन्थे। अपवाद जस्तो देखिने घुर्मैलो सेतो धोती लगाएका एकजना पुरुषलाई एकजना महिला पत्रकार महोदयले आफूसँग भएको हेन्डमाइकले मुखै घोच्लिन् जस्तो गरेर प्रश्न गर्न थालिन्। ती पुरुष उनको जवाफ दिन त्यति उत्साहित देखिन्थिएनन्। पत्रकारले अधिवेशनमा किन आएको भनिन्। उनले सहजै उत्तर दिए, ‘नेपालको विकास गर्ने नेतालाई भोट हाल्न।’ पत्रकारले तपाईं नउठ्ने? भनिन्। उनले टाउको हल्लाएर नउठ्ने संकेत गरे। पत्रकारले कसलाई भोट हाल्ने भनेर सोधिन्, उलने राम्रो नेतालाई भनिदिए। फेरि दोहोर्याइन्, मधेशको कि पहाडकोलाई? उनले जवाफ दिए– नेपाली कांग्रेसको मान्छेलाई। यस्तै यस्तैमा उनीहरुको कुरा सकियो।

त्यो भिड, प्रचार शैली, केही उशृंखलता आदि इत्यादिले मलाई विद्वान प्राध्यापक कृष्ण खनालको ‘पार्टी, विचारधारा र नेतृत्व (कान्तिपुर दैनिक मंसिर १९ २०७८) र राजनीतिक विश्लेषक प्रदिप गिरीको ‘शुष्क शास्त्र र हरियो राजनीति (कान्तिपुर दैनिक मंसिर २४ २०७८) लेखहरु फेरि पढ्न मन लाग्यो। त्यसै गरी चिन्तक हरि रोकाको ‘नेपाली कांग्रेसको सैद्धान्तिक संकट (कान्तिपुर दैनिक मंसिर २६ २०७८)  पनि पढें। उहाँहरुका अनुसार जब विचार कमजोर हुन्छ तब मानवत्व कमजोर हुन्छ। देवत्व जन्मिन्छ। देवत्वले अन्ततः खतरा निम्त्याउँछ। उहाँहरुको लेखमा सरकारी पद र प्रभावको पार्टी अधिवेशनमा दुरुपयोग भएको गुनासो पाइन्छ। नेता भनेका सबैभन्दा ठूलो सामन्त र ठेकदार हुन् जस्तो लाग्छ। लेनदेन र भागबन्डा नमिलेपछि पार्टी बदल्ने मानसिकता उनीहरुमा छ भन्ने कुराको अन्तरबोध हुन्छ।

म राजनीतिशास्त्रको विद्यार्थी होइन। राजनीतिकर्मी पनि होइन। त्यसैले चुनाव र राजनीतिका विषयवस्तु मसिनोसँग बुझ्न मलाई कठिन हुन्छ। विश्लेषकत्रय रोका, खनाल र गिरीको दृष्टिमा राजनीति विचारप्रधान हुनुपर्छ। कर्ण शाक्यको सोच पुस्तकमा मिहिनत गर्नेले चुनाव जित्छ भन्ने सप्रमाण प्रस्तुति छ। विचारमा मिहिेनत, पैसाले मिहिनेत, भृकुटीमण्डपमा देखिएको दृश्यमा जस्तो फलानो दाइ केन्द्रित प्रचार प्रसारमा मिहिनत, केमा मिहिनेत गर्नुपर्ने होला? म अलमलमा छु।

राज्य, राज्यको उत्पत्ति र हाम्रो परिवेशका बारेमा घोत्लिन प्रयास गर्छु। बुझ्ने प्रयत्न गर्छु। राज्यको उत्पति समूहवादको सिद्धान्तका आधारमा भएको थियो। निश्चित समूहलाई अर्को समूहबाट जोगाउन र सुरक्षित हुनका लागि यसको उत्पति भएको थियो। निश्चित भूगोलमा निश्चित मानिसले आफ्नो अधिपत्य जमाउने, बस्ने गर्न थाले। यो प्राणी जगतको प्राकृतिक र स्वाभाविक बाध्यता थियो। अहिले पनि कतिपय जंगली जनावरमा समेत आफ्नो झुण्ड बनाउने र निश्चित भूभागमा विचरण गर्ने गरेको पाइन्छ। यसप्रकारको समूहकरणमा नेतृत्वको महत्व उच्च हुन्छ र थियो। मानिस अरुभन्दा भिन्न र विकसित प्राणी भएकाले सो समूहिकृत स्वरुप विकसित हुँदै आयो। अरु प्राणीमा सामान्यतया बलियोले नेतृत्व गरेको हुन्छ। मानिसमा विचार र विवेक भएकाले नेतृत्व गर्छ। चलाख र अरुलाई प्रभाव पार्न सक्ने समूहको सदस्य नेता बन्छ भन्ने मान्यता विकसित भयो। त्यस्तो नेतालाई राजा भन्न थालियो। विस्तारै विवेकसँगै स्वार्थ र महत्वाकांक्षाले काम गर्न थाल्यो। परिणामतः यसले वंशीय रुप धारण गर्दै गयो। राजाका सन्तान नै राज्यको सर्वेसर्वा हुने चलन आयो। तथापि त्यो प्राकृतिक विषय थिएन।

अहिले पनि संसारका केही मुलुकमा यस्तै छ, तापनि समयले यसलाई पनि स्वीकारेन किनकि त्यो अप्राकृतिक थियो। विवेकशील प्राणी मानिसका दिमागले र उसका अभ्यासहरुले अनेक उपायहरु उत्पति गर्यो। राज्य चलाउने क्षमता भएकाले पो राज्यको नेतृत्व गर्ने हो, जनताले जनमत मार्फत चुनिएको मान्छेले निश्चित समयसम्म नेतृत्व गर्ने र फेरि पनि नेतृत्व गर्न चाहेमा जनताबाट अनुमोदित हुनैपर्ने भन्ने विचारले प्रश्रय पाउन थाल्यो। यस प्रकार राज्य नेतृत्वमा जनमतको सिद्धान्तको वर्चश्व अहिले संसारमा छ। त्यो भन्दा पनि माथि राज्यको संविधान हुने, संविधानले गरेको पथप्रर्दशनका आधारमा नेतृत्व चयन गर्ने, राज्यको स्थायी संयन्त्रले सोही बमोजिम काम गर्ने सिद्धान्त र प्रचलन नेपाल लगायतका देशहरुमा समसामयिक परिवेशमा स्थापित भएको छ।

उल्लिखित मूलभूत मान्यता र संवैधानिक प्रावधानका आधारमा बहुदलमा आधारित संघीय गणतन्त्रमा आधारित लोकतन्त्रको अभ्यास हामीले गर्दैछौं। त्यही विचार, विधि र प्रकृयाका आधारमा नेतृत्व छनोट गर्छौं। यिनै मूलभूत दर्शन, सिद्धान्त तथा संवैधानिक प्रावधानका आधारमा दलहरुले आआफ्नो विचार र राजकीय सत्ता व्यवस्थापन र सञ्चालन गर्ने तरिका चुनावी घोषणापत्र मार्फत जनतामा जाने र जनताले त्यसलाई अनुमोदन गर्छ, उसैले नेतृत्व सम्हाल्छ र उसको घोषणापत्र कार्यान्वयन गर्छ। यस्तो वैचारिक मान्यताका आधारमा राज्य चल्नुपर्ने हो, हामीले अवलम्बन गरेको मुलुकको राज्य व्यवस्थामा। विचार प्रधान भई विचार र विवेकका आधारमा राज्य सञ्चालन हुँदा धेरै वेथिति आफै नियन्त्रणमा आउँछ भन्ने मान्यता रहन्छ।नेपाली कांग्रेस पार्टीको आफ्नै इतिहास छ। नेपालको आठ दशक अर्थात पौने शताब्दी नेपाली कांग्रेसको नजिकमा राज्य सत्ता रह्यो। हाम्रा राजनीतिक विश्लेषक र साहित्यका गुरुहरुका अनुसार यो दलको एउटा अचम्मको विशेषता के हो भने त्यो लका सूत्रधार अर्थात चिन्तक बीपी कोइराला एउटा अनौठा प्राणी थिए रे। उनी नेता मात्र होइन, साहित्यकार पनि थिए। त्यो भन्दा पनि आश्चर्यजनक विशेषता उनको साहित्य र राजनीति बीचमा भेटघाट हुँदैन रे। जसको सम्पूर्ण जीवनशैली राजनीतिमा छ उसले त्यसबाट अलग भएर साहित्य लेख्नु अद्वितीय विशेषता मानिँदो रहेछ। विश्वमै यस्तो व्यक्तित्व अपवादमा मात्र पाइन्छ रे।

विचारप्रधान नभई व्यक्तिप्रधान हुँदा लोकतान्त्रिक मूल्य र मान्यता ओझेलमा पर्छन्। राज्य निरंकुश हुने खतरा बढ्छ। फेरि विवेक र विचार भन्दा गुट, झुण्ड र निश्चित समूह हावी हुन थालेमा वेथिति पराकाष्टामा पुग्छ। विधि, विचार र दर्शन विनाको झुण्ड विवेक नभएको प्राणी बन्न पुग्छ। त्यसरी राज्य सञ्चालन हुन पुगेमा सर्वसाधारणको राज्य प्रतिको विश्वास कमजोर हुँदै जान्छ। राज्यशक्ति र जनताबीचको सम्बन्ध सूत्रको प्रगाढता कमजोर हुन्छ। यसले राज्य शक्ति र जनताबीचको दूरी टाढा हुँदै जान्छ भन्ने कुरा विश्लेषक र परिदृश्यहरुको अवलोकनवाट सिक्न पाइयो।

भृकुटीमण्डपको सयौं–हजारौं जनाको भीडमा ती दोलखा र गुल्मीका भूइँमान्छे जस्ताको प्रतिनिधित्व गर्ने मानिस तिनै घुर्मैलो धोती पहिरिएका मात्र थिए। अरु पनि थिए होलान् तर एका दुई मात्र। पत्रकारलाई सरल जवाफ दिने भूइँमान्छेको उपस्थिति अपवाद जस्तो लाग्यो। जेहोस् ती मधेशी नेपालको उन्नति अन्तरआत्मादेखि नै देख्न चाहने भूइँमान्छेलाई नजिकबाट नियाल्न पाउँदा मानसपटलमा एउटा अर्को अमेट्य छाप बस्न पुगेको छ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech