१६ चैत्र २०८०, शुक्रबार

गम्भीर आरोप लगाउँदै प्रचण्डलाई ओलीको प्रश्न– ज्ञानेन्द्रसँग गरेको ५ बुँदे सहमति के थियो ?
  • न्युज मानसराेवर

काठमाडौँ\ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन हातमा लिएर ‘उपद्रो’ मच्चाउनुका पछाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हात रहेको आरोप लगाएका छन् ।

पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले  प्रचण्ड र ज्ञानेन्द्रबीच त्यतिबेलै ५ बुँदे सहमति भएको आरोप समेत लगाएका छन् ।

अपुष्ट कुरालाई उल्लेख गर्दै ओलीले भने– ‘ज्ञानेन्द्रले उधुम मच्चाउँदा…, प्रचण्ड र ज्ञानेन्द्रको बीचमा सहमति भएर नै त्यो उपद्रो भएको थियो । २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भएको थियो । त्यो सहमति के थियो, कसका विरुद्ध भएको थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले भन्नुपर्‍यो ।’

ओलीले प्रचण्डसँगकै सहमतिपछि ज्ञानेन्द्रले देशव्यापी रूपमा अभिनन्दन कार्यक्रम चलाएको आरोप लगाए ।

‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले देशव्यापी रूपमा अभिनन्दन चलाए,’ ओलीले थपे, ‘परिवर्तनकारी रुकुम-रोल्पा जान नसक्ने, नेताहरू जान नसक्ने, त्यहाँ भएका नेता मारिने, तर ज्ञानेन्द्र जाने र उनको भव्य स्वागत हुने, को थिए स्वागत गर्ने ?’

यद्यपि प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएको भन्ने कुरा र त्यसलाई पुष्टि गर्ने आधार नेपाली राजनीतिक इतिहासमा कहीँ कतै उल्लेख भएको पाइन्न ।

बरु ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २०६२/०६३ मा भएको आन्दोलनमा तत्कालीन माओवादी भूमिगतरूपमै भए पनि सक्रिय ढंगले सहभागी भएको थियो ।

आन्दोलनमा लागेका ७ दल र माओवादीबीच १२ बुँदे सहमति, शान्ति सम्झौता हुँदै मुलुक शान्ति प्रक्रियामा गएको थियो ।

त्यसअघि २०५८ जेठमा दरबार हत्याकाण्ड भएपछि ज्ञानेन्द्रलाई राजाको मान्यता दिन नहुने भन्दै माओवादीले चर्को रूपमा आवाज समेत उठाएको थियो ।

माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले ‘नयाँ कोत पर्वलाई मान्यता नदिऊँ’ भन्दै लेख छपाएका थिए, जुन निकै चर्चित बनेको थियो ।

बुधवारको कार्यक्रममा ओलीले प्रचण्डले शेयर बजारलाई धरासायी बनाउन खोजेको आरोप पनि लगाए ।

‘प्रचण्डले यो शेयर बजारका सम्बन्धमा बडा क्रान्तिकारी भएर भने– साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे !’ ओलीले भने, ‘लेनिनभन्दा जान्ने भएछन् । लेनिनले पूँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ, भन्याथे । त्यो भन्दा दुई स्टेप अगाडि गएर प्रचण्डले साम्राज्यवाद विकसित भएर शेयर बजार हुन्छ भनिदिए ।’

‘दुई दिनमा शेयर बजार धरासायी भयो । लगानीकर्ताको अवस्था के हुन्छ मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला, ध्वस्त बनाइदिन्छु, नरहे बाँस नरहे बाँसुरी…,’ प्रचण्डलाई लक्षित गर्दै ओलीले थपे ।

उनले आफूहरूले यति बोलेको भए सडक आन्दोलन भइसक्थ्यो भन्दै अहिले सबै चुपचाप रहेकोमा आक्रोश पोखे ।

‘यदि हामीले त्यस्तो गर्थ्यौं भने त सडक तात्थे । सञ्चारमाध्यममा आगो बल्थ्यो । अहिले त सबै सुनसान छ, कोही बोल्दैन,’ ओलीले भने, ‘यहाँ त अस्थिरता निम्त्याउने, भाँडभैलो मच्चाउने सिलसिला नै चलिराख्या छ ।’

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech