१२ श्रावण २०८१, शनिबार

औपचारिक रुपमा बाँके–बर्दियामा बाघ गणना शुरु
  • न्युज मानसराेवर

बाँके\ राष्ट्रिय बाघ गणनाअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधवारदेखि औपचारिकरुपमा गणना शुरु भएको छ ।

बर्दियाको ठाकुरद्धारामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयअन्तर्गतको योजना तथा समन्वय महाशाखाका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवसहितको उपस्थितिमा बुधवारदेखि औपचारिक कार्यक्रममार्फत गणनाको शुरुवात भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

गणकहरुले बर्दियाको कर्णाली फ्लड प्लेनतर्फबाट गणना सुरु गरेका छन् । गणकहरु बिस्तारै पूर्वतिर सर्दै जाने बताइएको छ । गणनामा खटिने करिब १०० जना गणकलाई सात समूहमा विभाजन गरिएको र एउटा समूहमा कम्तीमा ६ जना रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

बाँके–बर्दिया कम्प्लेक्सलाई चार ब्लकमा विभाजन गरेर ग्रिड बनाइएको छ । सबै ग्रिडमा क्यामरा जडान गरिएको र ती क्यामराले कम्तीमा १५ दिनसम्म बाघलाई निगरानी गर्ने उनले जानकारी दिए ।

राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट शुरु भएको हो । सोही अभियानअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधवारदेखि शुरु भएको हो । पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो ।

सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन् । तर अहिले यो संख्या बढेको अनुमान छ । सन् २०२२ सम्ममा बाघको संख्या २५० बनाउने लक्ष्य पूरा हुने अपेक्षा रहेको संरक्षणकर्मीले बताएका छन् ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech