१२ श्रावण २०८१, शनिबार

बाँकेको फत्तेपुरमा पाटेबाघले घेरा हालेपछि रुखमा चढेर जोगाए ज्यान
  • न्युज मानसराेवर

बाँके\बाँकेको फत्तेपुरस्थित जंगलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गलुरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो । अशोक राप्ती सोनारी ६ डाँडाटेपरी र राजाराम राप्ती सोनारी ६ गुलरी निवासी हुन् ।

राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण संयोजक सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएका हुन् । उनका अनुसार सामुदायिक वन उपभोक्ता समुहले हरेक महिनाको दुई पटक शनिबारका दिन उपभोक्ताका लागि दाउरा खोल्ने गर्छ ।

शनिबार (आज) प्रत्येक घरबाट दाउरा संकलनका लागि स्थानीय बासिन्दा सामुदायिक जंगलमा गएका थिए । स्थानीयका अनुसार पाटेबाघले सुरुमा पौने १२ बजेतिर राजारामलाई र सवा १२ बजेतिर अशोकलाई लखेटेको थियो । सामुदायिक वनको जलाला भन्ने स्थानमा उनीहरुलाई बाघले फेला पारेको थियो ।

दाउरा बोकेर हिडिरहेका बेलामा बाघले फेला पारेपछि दाउरा फालेर उनीहरु रुखमा चढेका हुन् । दुबै जना अलग-अलग स्थानमा करिव एक घण्टा जति रुखमा चढेर गुहार मागेका थिए । ‘राजारामको साथमा मोबाइल थिएन, उनी रुखबाट बेस्सरी चिच्याएर गुहार मागे, अशोकको साथमा मोबाईल भएकाले उनले रुखबाटै फोन गरेर सबैलाई बोलाए,’ सितारामले भने ‘गाउँका धेरै जना मिलेर हो–हल्ला गर्दै रुखमा चढेको ठाउँमा गएर उद्धार गरी घरमा ल्यायौं ।’ दुबै जना करिव १ घण्टा जति रुखमा चढेको उनले जानकारी दिए ।

ज्यान जोगाउन रुखमा चढेपछि केही समयसम्म बाघ वरिपरी घुमेको थियो । ‘जंगलमा ठुलो र सानो बाघको पाइला भेटिएको थियो, तर मान्छेलाई लखेट्दा चाही एउटा मात्र ठुलो बाघ थियो,’ राजारामको भनाई उदृत गर्दै सितारामले भने । गाउँ नजिकैको जंगलमा बाघ फेला परेपछि त्रास फैलिएको स्थानीय बासिन्दा बताउँछन् ।

शनिबार बिहान मात्र फत्तेपुरबाट बिनौनातर्फ जाने क्रममा हुलाकी राजमार्गको फत्तेपुर जंगलमै मोटरसाईकलमा सवार जनसिद्धेश्वर बहुमुखी क्याम्पसका प्रमुख लोकमणि बटालालाई पाटेबाघले झम्टिएको थियो । सावधानी अपनाएका कारण उनी बाघको आक्रमण हुनबाट जोगिएका थिए ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech