१ माघ २०८१, मंगलवार

लुम्बिनीमा अझै २२ लाख २८ हजार डोज खोप अपुग
  • न्युज मानसराेवर

बुटवल \ लुम्बिनी प्रदेशमा ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप प्राप्त गरेका छन्। कोरोनाबाट बच्ने सबैभन्दा उत्तम विकल्पका रुपमा चिकित्सकहरुले खोपलाई नै आधार मानेका छन्। सरकारले लक्षित गरेको १८ वर्र्षभन्दामाथिको उमेर समूहका ४० प्रतिशत अर्थात् १३ लाख ५९ हजार ६१ जनाले मात्रै कोरोना विरुद्धको पूर्ण खोप (दुवै डोज) प्राप्त गरेको प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ।

सरकारले लुम्बिनीमा १८ वर्षभन्दा माथिका ३३ लाख ८७ हजार १ सय २७ जनालाई कोरोनाविरुद्धको खोप दिनुपर्ने तथ्यांक निकालेको छ। आइतबारसम्मको तथ्यांकअनुसार पहिलो डोज लगाउनेको संख्या भने २६ लाख ६ हजार २ जना (७६.९४ प्रतिशत) छ।

लुम्बिनी प्रदेशमा लक्षित उमेर समूह १८ बर्षभन्दा माथिकालाई मात्रै खोप दिनका लागि अझै २२  लाख २८ हजार २ सय ५९ डोज खोप आवश्यकरहेको प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीका सूूचना अधिकारी टुकप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार लुम्बिनीमा १२ वर्षमाथिका दीर्घरोगीले फाइजर भ्याक्सिनको पहिलो मात्रा ५ हजार ३ सय जनाले प्राप्त गरेका छन्।

त्यस्तै ५० देखि ५४ वर्ष उमेर समूह र वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि जोसन एन्ड जोन्सनको २ लाख ५४ हजार ९ सय ४४ डोज खोप लगाइएको निर्देशनालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा ६ लाख ८१ हजार डोज कोभिल्डसिल्ड, २६ लाख १२ हजार ७ सय १७ डोज भेरोसेल, २ लाख ५२ हजार जोन्सन एन्ड जोन्सन, ६ लाख ६५ हजार एस्ट्राजेनिका, ५ हजार २ सय ८० डोज फाइजर, ३ लाख ३० हजार डोज मोडर्ना गरी ४५ लाख ४५ हजार ९ सय ९७ डोज कोरोना विरुद्धको खोप प्राप्त भएको छ।

यसमध्ये विभिन्न जिल्ला र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा ५ लाख ८० हजार ९ सय ३४ डोज खोप भ्याक्सिन स्टक रहेको निर्देशनालयले जनाएको छ।

लुम्बिनीका १२ वटै जिल्लामा प्रभावकारी रुपमा खोप अभियानहरु सञ्चालन भइरहेको सूचना अधिकारी पोखरेलले बताए। निर्देशनालयको विश्लेषणमा बर्दिया र रोल्पाका स्थानीय तहहरुमा समान रुपमा कोरोना विरुद्धको खोप दिइएको छ।

बाँकेको नरैनापुरमा भने निकै कम मात्रामा कोरोना विरुद्धको खोप लगाइएको छ। रुपन्देही कपिलबस्तु, बाँके, नवलपरासी र रुकुमका पालिकाहरुमा भने खोपका कभरेज अन्तर धेरै देखिएको छ।

खोपका लागि स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये पाल्पाको तानसेन नगरपालिकाले करिब ९० प्रतिशत नागरिकलाई कोरोना विरुद्ध खोप लगाइसकेको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिकाले ६० देखि ७० प्रतिशत नागरिकलाई खोप लगाएका छन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिकाले ५० प्रतिशत भन्दा धेरै नागरिकलाई खोप लगाउन सफल भएका छन्।

बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि ६० प्रतिशतको हाराहारीमा लक्षित उमेरका नागरिकलाई खोप लगाउन सफल देखिएका छन्। कपिलवस्तुको महाराजा नगरपालिका, कृष्णनगर, विजयनगर, शुद्धोधन गाउँपालिका, गुल्मीको कालिगण्डकी गाउँपालिका, दाङको गडवा गाउँपालिका, राजपुर गाउँपालिका र नवलपरासीको प्रतापपुर गाउँपालिकाले, ३० प्रतिशत नागरिकलाई पनि खोप लगाउन सकेका छैनन्।

यसैबीच आइतबारदेखि  १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको छ। लुम्बिनीमा आगामि १४ गतेसम्म खोप लगाउने व्यवस्थ मिलाइएको छ। पहिलो चरणमा १२ मध्ये ९ जिल्लामा मात्रै खोप दिने व्यवस्थ मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनीले जनाएको छ।

नाकामा कडाइ 

लुम्बिनी प्रदेशमा पछिल्लो पटक कोरोना संक्रमितहरुको संख्या निकै न्यून छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले १२ वटै जिल्लामा १८ जना मात्रै अस्पताल भर्ना भई उपचारत छन्।

१ सय २६ जना मात्रै संक्रिय संक्रमित छन्। लुम्बिनीमा १ लाख १९ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। २ महिनायता कोरोनाको संक्रमण दर घटेको हो। यद्यपि अहिले फेरि ओमिक्रोन भेरियन्टको चर्चाले थप सजगता अपनाउन प्रदेश सरकारले नाकामा परीक्षण बढाएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नाकाहरुमा जाँच र निगरानी बढाउने काम भएको बताए। उनले लुम्बिनीमा ओमिक्रोनको कुनै संक्रमित फेला नपरेकाले अहिले तत्काल आत्तिनुपर्ने अवस्था नभएको बताए।

‘कोभिड विशेष अस्पतालमा एचडीयू, आईसीयू र अक्सिजन प्लान्ट जडान गरिएको छ, त्यसैले अब पहिले जस्तो उपचार नपाउने अवस्था हुँदैन’, डा. देवकोटाले भने। ओमिक्रोनको जोखिम अहिलेसम्म नदेखिएको चिकित्सकहरुले बताएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै सबैलाई खोप लगाउन आग्रह गरे। ‘दैनिक जीवनयापनमा लापरबाही नगर्ने र सबैले खोप लगाउनुपर्छ’, डा. पाठकले भने, ‘अहिले ओमीक्रोनको जोखिम देखिएको छैन।’ लुम्बिनीमा कोरोना संक्रमणबाट हालसम्म २ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech