१२ श्रावण २०८१, शनिबार

ओलीको ‘देवत्वकरण’ भन्ने प्रचार र एमालेमा नीति तथा नेतृत्व केन्द्रीकरणको प्रश्न
  • कृष्णबहादुर केसी

कार्लमार्क्सका अनुसार वर्गीय सत्ता स्थापनाका लागि सर्वहारा वर्गले आफ्नो पार्टी स्थापना गरी लड्नुपर्ने भएकाले कम्युनिस्ट पार्टी बुर्जुवा सत्ताविरुद्ध लड्ने बलियो हतियार हो । यस सिद्धान्तलाई व्यवहारमा नै प्रयोग गरी लेनिनले रुसमा क्रान्ति सम्पन्न गर्नुभयो । खासगरी लेनिनले कम्युनिस्ट पार्टीले नीति सिद्धान्त विचार र नेतृत्वमा केन्द्रीकरणलाई बढि जोड दिनुभयो ।

लेनिनवादी संगठनात्मक सिद्धान्तको एउटा महत्त्वपूर्ण पाटो जनवादी केन्द्रीयताको व्यावहारिक प्रयोग यसको उदाहरण हो ।

विश्वका अधिकांश कम्युनिस्ट पार्टीहरूले यसै सिद्धान्तका आधारमा पार्टी संगठन सञ्चालन गर्दै आएका छन् । लेनिनले पार्टीमा नेतृत्व र विचारको केन्द्रीकरणको प्रश्नलाई जोड दिएकाले दक्षिणपन्थी टार्टस्कीले पार्टीभित्र यसको विरोध गरेको पाइन्छ । तर लेनिनले कम्युनिस्ट पार्टीले विजय हासिल गर्नका लागि पार्टीभित्रका गुट-उपगुट विभिन्न विचार समूह र तिनका प्रकाशन समेतलाई पार्टीको दशौं महाधिवेशनबाट खारेज गरिदिनुभयो ।

मुलुक र पार्टीभित्रको गम्भीर राजनीतिक परिस्थितिलाई मध्यनजर गरी रुसी कम्युनिस्ट पार्टीले उक्त निर्णय गर्दै नेतृत्वमा शक्तिको थप केन्द्रीकरण गर्दै लगेको पाइन्छ । पार्टीको अन्तर्विरोध र पार्टी बाहिरको वर्गसंघर्षको परिस्थितिलाई हेरेर रुसी कम्युनिस्ट पार्टीले अपनाएको नीति जस्तै नेपालमा पनि एमालेले आफ्नो दशौं महाधिवेशनबाट नीति र नेतृत्वमा थप केन्द्रीकरण गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

वर्गीय मुक्तिका लागि गरिएको यो निर्णयलाई दक्षिणपन्थी संशोधनवादी अराजकतावादी तथा प्रतिक्रियावादीहरूले एमालेमा ओलीको देवत्वकरणको रूपमा दुस्प्रचार गरिरहेका छन् ।

एमालेको आफ्नो जीवनकालमा देखा परिरहेको विशिष्ट अवस्था र मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेको शक्ति सन्तुलनको अवस्थालाई मध्यनजर गर्दै पार्टीले विचार नेतृत्वको केन्द्रीकरण सहित एकमना एकताका आधारमा अगाडि बढ्ने शंखघोष चितवन महाधिवेशनबाट गरेको हो ।

९ औं महाधिवेशनपछि अध्यक्ष केपी ओलीको अगुवाईमा अगाडि बढेको एमालेले यो अधिवेशन समयसम्म आइपुग्दा विविध खाले घात प्रतिघात गुटबन्दी विभाजनहरूलाई सामना गर्दै पार्टीभित्र आफ्नै नेतृत्वको सरकारलाई विस्थापन गरेर नेपाली कांग्रेसजस्तो प्रतिक्रियावादी यथास्थितिवादी पार्टीको नेतृत्वमा सरकार बनाउने र त्यसका लागि पार्टी विभाजन गर्ने दक्षिपन्थी अवसरवाद, पार्टी नीति र नेतृत्वका विरुद्ध निरन्तर लागिरहने सांगठनिक अराजकतावादका विरुद्ध यो महाधिवेशनले विजय हासिल गरेको छ ।

दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराकतावादलाई परास्त नगरेसम्म पार्टीलाई कामकाजी बनाउन सकिँदैन र विकास र समृद्धिको अगुवाइ गर्दै समाजवादको आधार तयार गर्ने दिशातर्फ अग्रसर हुन सकिँदैन भन्ने मार्क्सवादी सच्चाइलाई मुख्य नेतृत्वसहित समग्र पार्टीले बेलैमा बुझेर यसलाई समयमा नै किनारा लगाउन सफल भएको छ ।

यतिबेला कम्युनिस्ट आन्दोलनको लागि माक्र्सवादको रक्षा, प्रयोग र विकास प्रमुख चुनौतीको रूपमा रहेको छ । नेपालमा मात्र होइन विश्वभरी नै समाजवादी शक्तिका विरुद्ध साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्ति हावी भइरहेका छन् । विश्वका जुनसुकै देशमा चलेको समाजवादी तथा कम्युनिस्ट आन्दोलनविरुद्ध वैचारिक र मनोवैज्ञानिक एवं भौतिक रूपमा साम्राज्यवादी तथा प्रतिक्रियावादी आक्रमण तीव्र बनेको छ ।

समाजवादी शक्तिहरू एकजुट भएर अगाडि बढेको देख्न नसक्ने साम्राज्यवादी शक्तिले उक्त आन्दोलनलाई बाहिरबाट कमजोर बनाउन नसकेपछि आन्दोलनभित्र नै घुसपैठ षड्यन्त्र गरेर क्षणिक सफलता हासिल गरी विजयको उत्सव मनाइरहेको पाइन्छ । नेकपा(एमाले)को इतिहासमा पनि यस्तै दुःखद् इतिहास दोहोरिन पुग्यो ।

एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन नेकपालाई अदालतलाई प्रयोग गरी गरिएको विभाजन र पुनः एमालेभित्रका माधव–झलनाथ र वामदेवहरूलाई प्रयोग गरेर गरिएको विभाजन यसको एउटा प्रत्यक्ष दृष्टान्त हो ।

प्रतिक्रियावादी र साम्राज्यवादीका गोटी बनेर आफ्नै पार्टी नेतृत्वको सरकार गिराउने पार्टीको मुख्य नेतृत्वलाई पार्टी नेतृत्वबाट अपदस्थ गर्ने र पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादको पिछलग्गु बनाउने घातक दक्षिणपन्थी अवसरवादका विरुद्ध सम्झौताहीन संघर्ष गरेर पार्टीलाई हिजोकै अवस्थामा पुनः स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व सफल हुन पुगेको छ ।

यो सफलतासँगै एमालेभित्र अध्यक्ष ओली निर्विकल्प रूपमा स्थापित हुन पुग्नुभएको छ । यसलाई कतिपय विरोधी शक्तिहरूले एमालेमा ओलीको देवत्वकरण भनेर स्यालहुइयाँ गरेका छन् ।

एमालेको इतिहासमा एमालेलाई टुटफुट विभाजनबाट बचाएर माओवादी जनयुद्धको एउटा धार र हिजो माधव समूहसँग रहेको अर्को धारलाई समेत साथ लिएर नेकपा एमालेलाई एकताकै निरन्तरताको रूपमा अगाडि बढाउने र यी धारहरूलाई उचित सम्मानका साथ आफ्नो नेतृत्वमा जिम्मेवारी दिएर अगाडि बढाउने अध्यक्ष ओलीको कुशल नेतृत्वकै कारण महाधिवेशनले एकताको निरन्तरताको सन्देश दिन सफल भएको छ ।

अध्यक्ष ओलीमा नेतृत्व केन्द्रीकरण गर्दै एमालेलाई अगाडि बढाउनुपर्ने परिस्थितिका कारण एमाले सर्वसम्मत नेतृत्व चयनको विधिबाट अगाडि बढ्न प्रयत्न गरेको हो ।

विभाजित भएको पार्टी र पार्टीभित्रका विभिन्न धारहरूलाई एकताबद्ध गरी आसन्न निर्वाचनमा जाने र उक्त निर्वाचनमार्फत बहुमतसिद्ध गरी विकास र समृद्धिको अगुवाइ गर्ने एमाले र यसका अध्यक्ष ओलीको चाहनालाई पूरा गर्नका लागि यतिबेला पार्टीमा नेतृत्व र विचारको केन्द्रीकरणको प्रश्न प्रमुख मुद्दा बनेर आयो । जसलाई एमालेले सहज रूपमा हल गरेर दुनियाँका सामु देखाइदिएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी बिसर्जनवाद हावी भइरहेको र आगामी निर्वाचनसम्म पुग्दा त्यो शक्ति प्रतिक्रियावादी शक्तिसँग मिलेर क्रान्तिकारीहरूका विरुद्ध जाइलाग्ने निश्चित छ ।

त्यसका लागि प्रतिक्रियावादी र दक्षिणपन्थी शक्तिबीच एमालेका विरुद्ध कथित गठबन्धनको नाटक मञ्चन भइरहेको छ । प्रतिक्रियावादी र संशोधनवादीहरू बीचको यो गठबन्धनले के कुरालाई संकेत गर्दछ भने, विद्यमान नेपालको राजनीतिक परिस्थितिको गर्भमा भीषण उथलपुथल र विद्रोहको मनोभाव हुर्किरहेको छ । त्यसले निकासका लागि उचित समय कुरेर बसेको छ ।

एमालेकै महाधिवेशनको अवसर पारेर चितवनमा पोखिएको मानव सागर यसैको पूर्व संकेत हो । जनादेशबाट नसकेर अदालतको परमादेशबाट एमालेलाई तत्कालका लागि सत्ताबाट हटाउन सफल भए पनि यसको परिणाम अस्थायी हो र निर्वाचन भए निर्वाचनमार्फत जनताको भारी मतसहित एमाले सिंहदरबारको मूल गेटबाट बाजा बजाउँदै सत्तामा पुग्नेछ भन्ने उद्घोष अध्यक्ष ओलीले यत्तिकै गर्नुभएको होइन ।

प्रतिक्रियावादीहरू कागजी बाघ हुन् भन्ने तथ्यलाई राम्ररी बुझेको एमाले र यसको मुख्य नेतृत्व नेपाली जनताको विकासप्रति मुर्झाएका सपनालाई जागृत गराउँदै नेपाली राष्ट्रिय स्वाधीनता, अखण्डताको रक्षाका लागि यसले लिएका नीति र अडानका कारण नेपाली जनताले एकपटक एमालेलाई पुनः साथ दिनेछन् भन्ने कुरामा दुई मत छैन ।

विगतमा पार्टीभित्रको दुईलाइन संघर्ष र अन्तरसंघर्षबाट शिक्षा लिँदै दक्षिणपन्थी संशोधनवाद र सांगठनिक अराजकतावादविरुद्ध विजय हासिल गर्दै नेपाली समाजको अग्रगामी रूपान्तरणसहितको अगुवाइ गर्ने जिम्मेवारी इतिहासले एमालेलाई सुम्पिएको छ ।

कम्युनिस्ट आन्दोलनभित्रको दक्षिणपन्थी संशोधनवाद प्रतिक्रियावादीसँग एकाकार भएर एमालेविरुद्ध जाइलाग्दैछ । यसको भण्डाफोर गर्दै आमजनता र जनपक्षीय शक्तिलाई एमालेमा एकाकार गर्दै कम्युनिस्ट आन्दोलनको मूल केन्द्रका रूपमा एमालेलाई बढाउनुपर्ने अहिलेको मुख्य दायित्व हो ।

साम्राज्यवादी शक्तिहरू एमालेलाई सखाप बनाउन पार्टीभित्रको दक्षिणपन्थी शक्ति र प्रतिक्रियावादी कांग्रेसलाई एउटै मोर्चामा खडा गरिरहेका छन् । दक्षिणपन्थी संशोधनवाद भनेको अन्ततः प्रतिक्रियावाद नै हो भन्ने तथ्य माकुने–झलनाथहरूले प्रमाणित गरिसकेका छन् ।

हाम्रो अनुभवले के बताउँछ, भने दक्षिणपन्थी संशोधनवादी शक्ति विभिन्न बहानामा प्रतिक्रियावादीसँग जेलिएको हुन्छ । त्यसलाई जनतामा सशक्त भण्डाफोर नगर्ने हो भने जनतामा उनीहरू कम्युनिस्ट नै हुन् भन्ने भ्रम लामो समयसम्म रहन सक्छ । जुन एमाले र मुलुकको समृद्धिको यात्राका लागि बाधक हुने निश्चित छ ।

त्यसैले नेकपा(एमाले)का हरेक नेता तथा कार्यकर्ताहरूले चितवन महाधिवेशनको उद्घोषलाई पालना गर्दै वैचारिक र राजनैतिक रूपमा देशभर सशक्त रूपमा खडा हुन जरुरी छ । जसले गर्दा एमालेको नीति, विचार र व्यवहार ठीक छ, यसका नेता तथा कार्यकर्ता सही छन् भन्ने सन्देश नेपाली जनतामा जागृत हुनेछ ।

जनतामा जागृत हुने यसप्रकारको विश्वासले मात्र एमालेलाई जनताको साथ हुनेछ र एमालेले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने अवसर प्राप्त गर्नेछ ।

महाधिवेशन सम्पन्न गर्दै गर्दा अध्यक्ष ओलीले स्पष्ट रूपमा घोषणा गर्नुभएको छ कि अब एमालेको सम्पूर्ण दृष्टि निर्वाचनमा केन्द्रित हुनेछ ।

चैतमा हुने स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र संघीय निर्वाचनमा देश निर्माण गर्न एमालेलाई जनताको भारी मतको आवश्यकता पर्दछ । संविधानको रक्षा, कार्यान्वयन र आफ्नै कार्यकालमा शुरू गरेका आयोजनाहरूको पूर्णता, विकास र समृद्धिको अभियानको नेतृत्व गर्नका लागि पनि एमालेलाई नेपाली जनताले साथ दिन अनिवार्य छ । देशका करीब ५० प्रतिशत जनमतमा एक्लो प्रभाव कायम राख्न सफल एमाले देशको प्रमुख राजनीतिक शक्ति हो ।

दाबाका साथ भन्न सकिन्छ, जुनसुकै षड्यन्त्रबाट एमालेको अभियानलाई अवरोध गर्न खोजेपनि अगामी निर्वाचनबाट एमाले बहुमतसहित राज्यसत्ताको केन्द्रमा स्थापित हुनेछ । एमालेको सरकार बनेपछि मात्र नेपाली जनताको विकासप्रतिको चाहना पूरा र राष्ट्रिय स्वाधीनताको रक्षा हुनेछ ।

निर्वाचनमार्फत बहुमत सिद्ध गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, समाजवादको आधारहरू तयार पार्ने एमालेको तत्कालीन कार्यनीति वा कार्यदिशा हो । चितवन महाधिवेशनले यही कुरालाई निर्देश गरेको छ ।

अर्कातर्फ यस महाधिवेशनले एमालेभित्र आन्तरिक रूपमा रहेका चुनौती र अन्तरविरोधलाई पनि वैज्ञानिक ढंगले हल गरी नेतृत्व, नीति र विचारमा केन्द्रीकृत एमालेको रूपमा संसारलाई सन्देश दिएको छ ।

हिजोका विभिन्न धारहरू माओवादी र दश बुँदेबाट फर्केका सबै नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थापन गर्न महाधिवेशन सफल भएको छ । लेनिनले भनेजस्तै कम्युनिस्ट पार्टी नेतैनेताहरूको पार्टी हो । एमाले पनि नेताहरूको चाङ भएको पार्टी भएकाले अध्यक्ष ओलीले सबै नेतृत्वहरूलाई सोपान क्रमअनुसार पार्टीको प्रमुख पदहरूको जिम्मेवारी सुम्पिनुभएको छ ।

अध्यक्षले जिम्मेवारी नदिँदा चित्त नबुझेका कमरेडहरूले निर्वाचनमार्फत आफ्नो शक्ति र हैसियत मापन गरी चित्त बुझाउनु भएको छ । अर्थात् नेतृत्व चयनको विधिका दृष्टिले सर्वसम्मत र निर्वाचन दुवै विधिलाई एमालेले अवलम्बन गरी सबै प्रतिनिधिहरूको भावनालाई समेट्न सफल भएको छ ।

महाधिवेशनले संवैधानिक व्यवस्था अनुसार पार्टीको विधानमा टेकेर दलित, महिला, आदिवासी, मुस्लिम, पिछडिएको क्षेत्र, आदिको समुचित प्रतिनिधित्व गराउँदै युवा पुस्तालाई समेत उचित प्रतिनिधित्व गराउन सफल भएको छ । महिलाहरूको उत्साहजनक सहभागिताले एमाले आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

अर्कातर्फ समयको मागअनुसार पार्टीको केन्द्रमा विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक व्याक्तित्वहरूलाई समेत समेट्ने काम भएको छ । पार्टीमा योग्यता, क्षमता, लगनशीलता, विद्वता, विभिन्न भौगोलिक, जातीय, लिंगीय सन्तुलनसहित ३ सय १ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

अध्यक्ष ओलीद्वारा प्रस्तावित उक्त संख्या र प्रतिनिधित्वको केन्द्रीय समितिको प्रस्तावलाई सिंगो बन्दसत्रको हलले एकमतका साथ अनुमोदन गरी एकताको सन्देश दिन सफल मात्र नभएर अध्यक्ष नेतृत्वको भूमिकाप्रति विश्वास व्यक्त गरेको थियो । अध्यक्षको प्रस्तावमा चित्त नबुझेका कमरेडहरूद्वारा केही पदमा उम्मेदवार बनेतापनि अधिकतम प्रतिनिधिहरूले हँसिलो मुहारले अध्यक्षको प्रस्तावलाई स्वीकार गर्दै एउटा दृढ उद्देश्य पूरा गर्ने संकल्पसहित जिल्ला फर्किएका छन् ।

महाधिवेशनमा आएका सबै प्रतिनिधिहरूका चाहना र पार्टीको विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर अध्यक्ष ओलीले सन्तुलित ढंगबाट पार्टी केन्द्रीय समिति निर्माण गर्न सफल हुनुभएको छ । विशाल जनताको उपस्थितिसहित विचार र नेतृत्वमा केन्द्रित एकताबद्ध एमाले निकट भविष्यमा नै मुलुकको नेतृत्व गर्न आतुर अवस्थामा छ ।

लेखक नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख हुन् ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech