१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा ३ महानगर बनाउने योजना : स्थानीय तह आतुर तर प्रदेशले झिक्यो हात
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेशमा हाल ४ वटा उपमहानगरपालिका छन् । रूपन्देहीमा बुटवल, दाङमा घोराही र तुलसीपुर तथा बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका ।

प्रदेशकै ठूला शहर रहेका यी उपमहानगरपालिका आसपासका स्थानीय तहलाई समेटेर प्रदेश सरकारले महानगरपालिकाको रूपमा विकास गर्ने योजना अगाडि सारेको थियो । महानगर बनाउन स्थानीय तह आतुर भए पनि प्रदेश सरकारको योजनाले सार्थकता पाउन सकेन ।

४ उपमहानगरमा ३ वटा महानगर बनाउने भनेर आर्थिक वर्ष २०७५/०७६ देखि नै नीति कार्यक्रम र प्रदेशको बजेटमा समावेश भएको थियो । बुटवल–तिलोत्तमा–भैरहवा, घोराही–तुलसीपुर र नेपालगञ्ज–कोहलपुर मिलाएर महानगरपालिकाको विकास गर्नका लागि योजनामा थियो । अध्ययनका लागि १ करोड रूपैयाँ बजेट पनि छुट्याइएको थियो ।

अहिले महानगरमार्फत ३ जिल्लामा ४ वटा मेगासिटी बनाउने सरकारी योजना ठप्पजस्तै छ । यी सिटीमा वातावरणमैत्री विद्युतीय सवारी सञ्चालन गर्ने पनि योजना कुहिरोमा हराएको कागजस्तै भएको छ ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका महाशाखा प्रमुख धु्रव धितालले संघीय सरकारको शहरी विकास तथा भवन विभागले महानगरका लागि अध्ययन थालेपछि प्रदेशले हात झिकेको बताए ।

‘शुरूको वर्ष प्रदेशले महानगरपालिका बनाउने विषयमा अध्ययन गर्न १ करोड बजेट नै थियो,’ धितालले लोकान्तरसँग भने, ‘हाम्रो स्रोत पनि कम भयो, केन्द्रको विभागले कन्सलटेन्ट हायर गरेर विभिन्न अभिमुखीकरण कार्यक्रमहरू पनि गरिरहेको छ । त्यसैले हाम्रो कार्यक्रम त्यसै रोकियो ।’

देशभर ६ वटा महानगरपालिका हुँदा १२ जिल्ला रहेको लुम्बिनीमा एउटा पनि महानगरपालिका छैन । यी ४ वटै उपमहानगरपालिका मुलुकमा संघीयता कार्यान्वन हुनअगावै बनेका उपमहानगरपालिका हुन् । बुटवल उपमहानगरपालिका लगायत सरकारी मूल्यांकनमा उत्कृष्ट समेत हुँदै आएका छन्, विकासका पूर्वाधार पनि लोभलाग्दा छन् ।

बुटवलजस्तै सबै क्षेत्रबाट विकसित शहरलाई महानगर बनाउनतर्फ सबैको ध्यान जानुपर्ने तिलोत्तमा नगरपालिका प्रमुख बाशुदेव घिमिरे बताउँछन् । त्यसका लागि राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको उनले बताए ।

देशकै पुरानो मध्येको नगरपालिका बुटवल २०१६ सालमा नगरपालिका बनेको थियो भने २०७१ सालमा उपमहानगरपालिका घोषणा भएको थियो ।

बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मिलाएर महानगरको मापदण्ड पुग्छ । महानगरको लागि ३ लाख जनसंख्या चाहिन्छ । यहाँ १० लाख जनसंख्या छ, फराकिलो भूगोल छ । महानगरका लागि आवश्यक पूर्वाधार पनि छ ।

बाँकेको सदरमुकाम भएको उपमहानगर हो नेपालगञ्ज । पश्चिम नेपालको द्वार र नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रूपमा परिचित स्थान हो यो । नेपालगञ्ज शहर २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रूपमा स्थापित भएको थियो । २०७१ सालमा साविकका १० वटा गाविस गाभेर २७ वटा वडा कायम गरी नेपालगञ्ज उपमहानगरपालिका घोषणा गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले प्रदेश सरकारले कच्चा काम मात्र गरेको बताए । ‘महानगर बनाएर अगाडि बढ्ने हो भने विकास केही बढी हुन्छ,’ राणाले लोकान्तरसँग भने, ‘फेरि चुनाव आयो । कांग्रेस अगाडि प्रस्ताव ल्याउँछ कि ? बजेट समेत छुट्याएको त्यसै हरायो ।’

नेपालगञ्ज आसपासका केही स्थानीय तहलाई समेटेर महानगर बनाउन पर्याप्त पूर्वाधारहरू रहेका राणाको भनाइ छ । महानगर बनाउने प्रस्ताव आए अगाडि बढाउने निर्णय नेपालगञ्जले गरिसकेको छ ।

लुम्बिनीमा प्रदेशमा १२ जिल्लामा १०९ स्थायी तह छन् । जसमध्ये ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका र ७३ वटा गाउँपालिका छन् ।

अहिले उपमहानगरपालिका र केही नगरपालिका जोडेर महानरपालिकाको अवधारणा स्थानीय तह पुनः संरचनापछि नै शुरू भएको थियो । प्रदेश सरकारले महानगरपालिका बनाउन चाहेको ठाउँमा धेरै पूर्वाधार अहिले नै तयार भएको जानकारहरू बताउँछन् । ५०० शय्याको विशेषज्ञ अस्पताल, रंगशाला, विमानस्थल, टर्मिनल सहितको बसपार्क, प्राविधिक शिक्षालय, तरकारी थोक बजार केन्द्र लगायतका मापदण्ड राखेको छ । ती मापदण्डहरू महानगरका लागि प्रस्ताव गरिएका तीनै शहरमा विद्यमान रहेका स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । घोराही चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वी भाग र केही पहाडी इलाकामा फैलिएर छ । संघीय सरकारको शहरी विकास मन्त्रालयले महानगर भनेर कुनै पनि कार्यक्रम अघि नबढाए पनि मेगासिटीकै परिकल्पना जस्तै हुने गरी बुटवल, भैरहवा, लुम्बिनी र कपिलवस्तुसम्मको क्षेत्रलाई पश्चिम कोरिडोर बनाएर एकीकृत विकास गर्ने गरी अहिले सम्भाव्यता अध्ययन गरिरहेको बताइएको छ ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech