१२ श्रावण २०८१, शनिबार

एमाले महासचिवको टिप्पणी : प्रचण्ड र माधव नेपाल कम्युनिस्ट आन्दोलनका ऐजेरू
  • न्युज मानसराेवर

काठमाडौँ\  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तित्वमा माओवादी केन्द्र टिकेको र प्रचण्ड नभएको दिन माओवादी पार्टी पनि बाँकी नरहने टिप्पणी गरेका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले काठमाडौं मूलपानीमा आयोजना गरेको महाधिवेशनको सन्देश सम्प्रेषण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माओवादीभित्र प्रचण्डपछि नेतृत्व लिने व्यक्ति नै नभएको बताए ।

‘माओवादी भनेको प्रचण्डको व्यक्तित्वमा टिकेको आन्दोलन हो । जुन दिन प्रचण्ड सिद्धिन्छन्, त्यसदिन माओवादी पनि सिद्धिन्छ,’ पोखरेलले भने, ‘कहिलेकाहीँ भाषणमा मदन भण्डारीको उत्तराधिकारी आफैं भएजसो गर्ने प्रचण्डले आफैं घोषणा गर्न थालेका छन्, माओवादीभित्र नेतृत्व लिने व्यक्ति नै रहेनछ ।’

पोखरेलले सम्बोधनका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि चर्को आलोचना गरे ।

माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा लगेर बुझाउने प्रयास गरेको पोखरेलले बताए ।

‘जसरी पनि एमाले सिध्याउने भनेर कसम खाएका माधव अहिले नेपाल शेरबहादुर देउवाको कार्यकर्ता बन्न पुगेका छन् । बिन्ती चढाइरहेका छन् । गठबन्धन जोगाइदिनुपर्‍यो भनिरहेका छन्,’ पोखरेलले भने ।

कांग्रेस भए नेकपा एकीकृत पनि रहने कांग्रेस नभए नरहने अवस्थामा माधव नेपाल पुगेको उनले बताए । पोखरेलले भने, ‘यो माधव नेपालकै कारणले भएको हो ।’

एमालेले सधैं नेपालको राजनीतिमा बाटो देखाउने काम गरेको र अरू पार्टीले त्यसैलाई पछ्याउने गरेको पनि पोखरेलले बताए ।

‘एमालेले बहुपदीय प्रणाली शुरू गर्‍यो, त्यसपछि कांग्रेसले सभापतीय प्रणाली छाडेर बहुपदमा गयो । नेतृत्वको केन्द्रीकरण हुनुपर्छ भन्ने माओवादी पनि बहुपदमा गएको छ,’ उनले भने, ‘हरेक कुराको बाटो देखाउने एमाले तर सरकारको नेतृत्व गर्ने कांग्रेस हुन सक्दैन । कांग्रेसको पाउमा लगेर आन्दोलन सुम्पिनेहरू समाजवादी नेता हुन सुहाउँदैन ।’

पोखरेलले माधव नेपाल र प्रचण्डलाई नेपाली कम्युनिस्ट आन्दोलनका ऐजेरूको संज्ञा दिए ।

‘आन्दोलन भित्रका ऐजेरु र समस्या भनेको दक्षिणपन्थी सोच हो, त्यसको बाहक प्रचण्ड र माधव नेपाल हुन्,’ पोखरेलले भने, ‘माधव नेपाललाई गरिएको कारबाही २ पटक फिर्ता गरेर पार्टीमा राख्न चाह्यौं । उहाँले एमाले सिध्याउने कसम खानुभएको रहेछ । माधव नेपालको पालामा कसैले अनुशासन उल्लंघन गर्‍यो भने कारबाही फिर्ताको कल्पना पनि गर्न सकिँदैनथ्यो ।’

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech