१२ असार २०८१, मंगलवार

नेपालमा भेटियो ‘सुनौलो एक्का’
  • न्युज मानसराेवर

बाँके\ पोखराका साजन केसी अनुसन्धानकै क्रममा गत भदौमा धनकुटा गएका थिए । त्यहाँको एक ओसिलो क्षेत्रमा देखिएको पुतलीले उनको ध्यान खिच्यो । हेर्दा पहेंलो–पहेंलो, माथिल्लो पखेटामा दुई थोप्लो छुट्टिएको त्यो सानो पुतलीको बाहिरी आवरण हेरेर उनले ‘हिस्पिरिड’ समूह त बुझे, त्यसभित्रको प्रजाति भने ठम्याउन सकेनन् । सानो आकारका यस्ता पुतली निश्चित प्रजातिको बिरुवामा मात्रै निर्भर हुन्छन् ।

झट्ट हेर्दा हेल्प फिल्डा, हेल्प मोल्टा र हेल्प अगुमा प्रजाति जस्ता लाग्छन् । फिल्डा र मोल्टा भने नेपालमा पाइन्छन् । फिल्डाको पखेटामा एउटा मात्र थोप्लो हुन्छ भने मोल्टामा थोप्लो खप्टिएका हुन्छन् ।

केसीले पुतलीको पखेटामा भएका दुई थोप्लो छुट्टिएको देखेपछि विभिन्न कोणबाट तस्बिर लिए । त्यसको भोलिपल्ट पनि उनले भेडेटारमा त्यही प्रकारको अर्को पुतली देखे । राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्रको सहयोगमा गएका उनले केही नमुना संकलन गरे र काठमाडौं फर्किए ।

असोज १९ मा पनि त्यस्तै प्रकारको पुतली उनले ललितपुरको गोदावरीमा भेटे । संकलित पुतलीलाई खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को किट विज्ञान अनुसन्धान केन्द्रमा लगे । प्रयोगशालामा परीक्षण गर्दा धनकुटा र गोदावरीमा भेटिएका पुतली फिल्डा र मोल्टाभन्दा केही फरक पुष्टि भयो । पुतलीको प्रजनन अंगमा पनि भिन्नता देखियो । संकलित पुतलीको भाले लिंगको माथिल्लो भाग (भल्भा) को टाउको उठेको थियो । हेल्प फिल्डा, हेल्प मोल्टामा भने लिंगको माथिल्लो भाग उठेको हुँदैन । भाले लिंगमा देखिएको यही भिन्नताका कारण संकलित पुतली फरक प्रजातिको अर्थात् ‘हेल्प अगुमा’ नै भएको पुष्टि भयो ।

भारतको मेघालय, मणिपुर, नागाल्यान्ड, उत्तरपूर्वी क्षेत्र, ब्रह्मपुत्रको दक्षिणी क्षेत्र र दक्षिण पूर्वी अरुणाञ्चलमा मात्र पाइने यो पुतली नेपालमा पनि भेटिएपछि केसी उत्साहित भए । नेपालीमा ‘सुनौलो एक्का’ भनिने यो पुतली पहिलो पटक नेपालमा भेटिएको खबर स्पिसिस जर्नलमा प्रकाशित भएसँगै केसीको अनुसन्धानले मान्यता पायो । ‘नेपालमा पहिल्यैदेखि भए पनि कसैले चासो नदिँदा फेला नपरेको हुन सक्छ,’ २७ वर्षीय केसीले भने ।

भारतबाट आएर वा अन्य बाह्य कारण यी प्रजाति नेपालमै स्थापित भएको हुन सक्ने पनि उनले आफ्नो अनुसन्धानात्मक आलेखमा उल्लेख गरेका छन् ।

उनले यसअघि पनि नेपालमै पहिलो पटक ५ वटा पुतली फेला पारिसकेका छन् । सन् २०२० मा सादा सुन्तले गर्भिणी, सन् २०१९ मा अल्पपाटे थेप्चे, २०२० मा खप्टे एक्का, २०२१ मा दुई थोप्लो बनफिट्टे र सन् २०२० मै गप्तचाँदी पितबतासे प्रजातिका पुतली भेटाएका छन् । उनले फेला पारेका अरू ८ पुतलीको भने आधारिकता पुष्टि हुन बाँकी छ ।

केसी लमजुङको इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्समा स्नातक सकेर इन्सेक्ट ट्याक्सोनोमीमा स्नातकोत्तर गर्न विदेश जाने तयारीमा छन् । उनले केही समयअघि नेपालका लागि नयाँ ‘गाइने किरा’ पनि फेला पारेका थिए । नेपालमा पाइनेमध्ये ४५१ प्रजातिका पुतली प्राकृतिक बासस्थानमा रहेको तस्बिर पनि कैद गरेका छन् । उनले नेपालमा पाइने पुतलीहरूको परिमार्जित ‘चेकलिस्ट’ पनि प्रकाशन गर्ने तयारी गरेका छन् । जसमा ‘सुनौलो एक्का’ पनि समावेश गरिएको छ ।

पुतली बाजे भनेर चिनिने कोलिन स्मिथले नेपालमा ६६० प्रजातिको पुतली रेकर्ड गरेका छन् । त्यसपछि महेन्द्रसिं लिम्बू, सुरेन्द्र परियार, सृष्टि पन्थी, सञ्जयराज तामाङ, डच नागरिक पाइन्ट भान डी पोएल, अनिसा सापकोटालगायतले थप प्रजाति फेला पारेपछि संख्या ६७८ पुगेको छ । केसीले फेला पारेका १४ पुतलीका प्रजातिसम्बन्धी आलेख वैज्ञानिक जर्नलमा छापिने क्रममा छन् । प्रकाशित भए नेपालमा पुतलीको संख्या ६९२ पुग्ने उनले बताए ।

पहिचान गर्न गाह्रो हुने भएकाले पुलतीमा अनुसन्धान कम भएको उनको अनुभव छ । ‘एक त पुतली साना हुन्छन्, बाहिरी आवरणको फरक थाहा पाउन पनि राम्रोसँग नियाल्नुपर्छ,’ उनले भने, ‘अंग, पखेटा, खुट्टा, थोप्लालगायतले फरक हुन्छन् । तिनलाई माइक्रोस्कोपमै हेर्नॅपर्ने हुन्छ ।’

पर्यावरण, खाद्य चक्रमा सन्तुलन र परागसेचनमा पुतलीको भूमिका महत्त्वपूर्ण हुने अनुसन्धानकर्ताहरू बताउँछन् । यी प्रजाति जलवायु परिवर्तनको सूचकसमेत रहेको पुतलीसम्बन्धी अनुसन्धान गर्दै आएका किरण रायमाझीले बताए । ‘सानो तापक्रम वृद्धिले पनि यिनीहरूको फैलावटमा असर पुग्छ,’ उनले भने । इकान्तिपुर

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech