५ जेष्ठ २०८१, शनिबार

उनी निर्दयी बुहारी !
  • न्युज मानसराेवर

मैले कहिले पनि आमाले हामीसँगै खाना खाएको देखिनँ । मैले एकदिन हजुरआमासँग सोधें, ‘आमाले किन हामीसँगै खाना खानुहुन्न ?’ बुहारीको जातले अन्तिममा त खानु पर्छ नि, सबैलाई खुवाइसकेपछि, उहाँको जवाफले म अवाक भएको थिएँ । आमा किन बुहारी हुनु भएको होला ? भन्ने लागिरह्यो ।

आखिर म पनि बुहारी भएँ । मेरो भागमा पनि उही रीत दोहोरियो । साँझ बिहान सबैले खाना खाइसक्छन् । अनि सासूआमाले अन्तिममा कसौडीको पिँधमा डढेको भात पन्युले कोतारेर सानो थालमा खन्याइदिनुहुन्छ ।

परम्पराले भन्दो हो, बुहारीले भातका माम्री मात्रै खाने हो । अचेल मलाई आमाको थालको याद आउँछ । जुन थालमा खानाको नाममा खुर्किखार्की माम्री नै हुन्थे प्रायः । किन त्यति थोरै खाएको आमा ? उहाँको जवाफ हुन्थ्यो – ‘भोक छैन उति ।’

अचम्म ! बिहान खाना खाएको आमालाई साँझसम्म पनि कसरी भोक नलाग्दो हो । आमा कहिल्यै समयमा सुत्दिन थिइन् । म सोच्छु आमालाई किन निद्रा लाग्दैनथ्यो ? आमा दिनभर एकछिन आराम गर्थिनथिइन्, खै किन थकाइ लाग्दैनथ्यो । मैले आमालाई धेरैपटक सोधेकी छु, ‘आमा हजुरलाई थकाई किन लाग्दैन ? भोक किन लादैन ? निद्रा किन लाग्दैन ?’

मेरो जिज्ञासाको जवाफ आमा सजिलो पाराले दिनुहुन्थ्यो– ‘म बुहारी हुँ ! बुहारीलाई यी केही लाग्न हुँदैन । ठूली भएपछि तैंले पनि बुझ्ने छेस् ।’ यसो भन्दा आमा मलिन अनुहारमा पनि फिस्स हाँस्नुहुन्थ्यो । आज कसौंडीमा डढेका भात मात्रै मेरो भागमा पर्दा आमालाई सम्झन्छु । दिनरात केही नभनी थाकें नभनी काम गर्नुपर्दा म आमाको मलिन हाँसो सम्झन्छु ।

आधापेट खाँदा मलाई त बेस्सरी भोक लाग्छ । सायद मेरी आमालाई पनि भोक लाग्थ्यो होला, तर उनलाई पनि हामी सबैको चित्त बुझाउँदा बुझाउँदै भोक मरेको जस्तो गर्ने रहिछन् । भित्रभित्रै रुँदै बाहिर झुटो हाँसो देखाउने रहिछिन् । कहिले काँही कसैले नदेखेको बेला उनी आफ्ना हातका ठेला, फुटेका गोडा निन्याउरो मुख लाएर सुम्सुम्याएको देख्थेँ । सायद त्यतिबेला आमालाई आफ्नै हातखुट्टा आफ्नो होइन झैं लागेको हुनुपर्छ ।

उही पुराना च्यात्तिएको लुगा–फाटेको चप्पल ! सोच्थें, मेरी आमा छुच्ची (लोभी) छिन् । बुहारी भएपछि त म पनि फाटेको चप्पलमै रमाउन लागेको छु । नयाँ लुगा होइन, नाङ्गो शरीर ढाक्नु नै ठूलो कुरा जस्तो मानेको छु । आमाको जस्ता हातमा ठेला पर्न थालेका छन्, खुट्टा फुट्न लागेका छन् ।

मलाइ लाग्थ्यो आमाहरुको शरीर फलाम जस्तै हुन्छ, न कहिले थकाइ लाग्ने न भोक । आमाहरुलाई भगवानले बनाएका होलान् जस्तो लाग्थ्यो । खासमा त आमाहरुको शरीर पनि हाम्रो जस्तै हुदो रहेछ । उनले पुज्ने भगवानले होइन, आमालाई घरले पो त्यस्तो बनाएको रहेछ । आमाहरुसँग दुःखलाई आफूभित्र लुकाउने क्षमता हुदोरहेछ ।

आफ्नो दुःखलाई बिर्सेर अरुका लागि हाँसिदिने कला हुदो रहेछ । सासू, ससुरा, नन्द, आमाजु, सबैलाई खुसी राख्दा आफ्नो खुसी त्याग्नु पर्दो रहेछ । सबैको सपना हेर्दा आफ्नो सपनालाई आफ्नै खुट्टाले कुल्चेर अरुले नदेखिने गरी लुकाउनु पर्दो रहेछ । जन्मदिने बाआमाको याद आएपनि केही नभएजस्तो गरेर बस्नु पर्दो रहेछ ।

म त सोच्थें, मेरी आमा निर्दयी छिन् । उनले कहिले पनि आफूलाई जन्माएका आमाबालाई सम्झिनन् । आफुसँगै हुर्केका साथीसंगीलाई बाटोघाटो भेटे पनि विरानो जस्तो गरेर हिडिन् । कहिले मावल जान खोजिनन्, तर बल्ल बुझ्दै छु, आमा पिंजडाको थुनिएको चरी भएकी रहिछन् ।

खाना खाइन्जेल यति के सम्झेको थिएँ, सासूआमा बाहिरबाट कराउन लागिन्– ‘भात खान पनि कतिबेर लाएकी ? बाख्रा भोकाइसके, दिनभर खाएर मात्र बस्दि हो कि कसो ?’

सायद सबै बुहारीहरु यस्तै हुदा हुन् उनीहरु कसैलाई भोक नलाग्दो हो । उनीहरु कहिले नथाक्दा हुन् । न माइती जान मन लाग्नु, न साथीसंगीको याद आउनु । सबै बुहारी यस्तै हुनुपर्छ । छातिमाथि ढुंगा मुसुमुसु हाँस्नु पर्छ । तब पो नेपाली बुहारी ! नेपाल वाच

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech